NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बाँकेमा उद्योगधन्दा फस्टाउँदै

बाँके । काठमाडौँपछि सबैभन्दा बढी उडान भर्ने विमानस्थल नेपालगञ्ज हुनु, भारतसँग जोडिएको सिमाना हुनु, तीनवटा प्रदेशको केन्द्रबिन्दुमा पर्नुले यहाँ उद्योग स्थापनामा व्यवसायी आकर्षित हुन थालेका छन् ।

यहाँ २०३० मा भारतको सहयोगमा स्थापना भएको नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३६ वटा उद्योग सञ्चालनमा रहेका छन् । दुई सय ३३ रोपनीमा सञ्चालित नेपालगञ्ज औद्योगिक क्षेत्रमा भएका उद्योगले करिब एक हजार बढीलाई रोजगारी र वार्षिक २५ करोड राजस्वमा योगदान दिने गरेका छन् ।

त्यस्तै नौबस्ता औद्योगिक क्षेत्र सञ्चालनको तयारीमा रहेको छ । उद्योग सञ्चालनमा आएपछि करिब २० हजार जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । साविकको मध्य तथा सुदूरपश्चिम क्षेत्रको प्रवेशद्वारको रुपमा रहेका कारण बाँके जिल्लामा सरकारले व्यवसायीलाई विभिन्न सुविधा दिएर औद्योगिक क्षेत्र स्थापना गरे पनि धेरै व्यवसायीले आफ्नै जमिन खरिद गरेर उद्योग स्थापना गरिरहेका छन् ।

राजनीतिक स्थिरतासँगै देशभर लगानीको वातावरण बन्दै जाँदा त्यसको लाभ बाँकेले लिन थालेको छ । पछिल्लो समय यहाँ एकपछि अर्को नयाँ उद्योगधन्दा, होटल व्यवसाय खुल्नेक्रम बढेको छ । वर्षौंअघि नेपालगञ्जले आर्थिक विकासमा जुन पहिचान बनाएको थियो त्यो पहिचान विस्तारै फराकिलो हुन थालेको छ ।

देश संघीय शासन प्रणालीमा गएपश्चात् यतिबेला देशमा समृद्धिको चर्चा चलिरहेको छ । समृद्धिको मूल आधार भनेकै तीव्ररुपमा आर्थिक विकास हुनु भएकाले नेपालगञ्जको पर्यटन र औद्योगिक क्षेत्रको विकासमा जोड दिइएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ बताउछन् । यहाँ भारतबाट कच्चापदार्थ आयात गर्न सहज हुनुका साथै पश्चिमका विभिन्न जिल्लामा सामग्री निर्यात गर्न पायक पर्ने भएपछि व्यवसायीको आकर्षण बढेको नेपालगन्जका उद्योगी चम्पालाल बोथ्रा बताउछन् । उनले भने, सबै कुरा सहज भएकाले बाँकेमा उद्योग क्षेत्रमा ठुलो सम्भावना छ ।’

सञ्चालनको तयारीमा नौबस्ता औद्योगिक क्षेत्र

सरकारले २०७२ चैत १ गते घोषणा गरेको बाँकेको नौबस्ता औद्योगिक क्षेत्र सञ्चालनको तयारीमा रहेको छ । सरकारको प्रत्येक प्रदेशमा एक–एकवटा औद्योगिक क्षेत्र स्थापना गर्ने नीति अनुरुप बैजनाथ गाउँपालिका–३ नौबस्तामा औद्योगिक क्षेत्रको काम अघि बढेको र पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापन परियोजना कार्यालयका प्रमुख कृष्णबहादुर पुनले जानकारी दिए ।

‘अबको केही साताभित्रै संरचना निर्माणको काम सुरु हुन्छ,’ उनले भने, ‘त्यहाँ देखिएको विवाद समेत समाधान भइसकेकाले अहिले वातावरण सहज छ ।’ सरकारले करिब आठ अर्बको लागतमा निर्माण गर्न थालेको औद्योगिक क्षेत्रमा तीन सय ३८ बिघा क्षेत्रफल जग्गा छुट्याएको छ । जसमा एक सय ११ प्लटमा उद्योग निर्माण गरिनेछ । डिपिआर स्वीकृत भएसँगै परियोजनाले उद्योग सञ्चालनबारे उद्योगीसँग गतवर्ष पूर्वआशयपत्र माग गरेको थियो ।

त्यसका लागि इच्छुक देशका धेरै उद्योगीले विभिन्न उद्योग सञ्चालनका लागि आशयपत्र बुझाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड जनाएको छ । परियोजनाअन्तर्गत वातावरणीय प्रभाव, सरसफाइ, चार लेन सडक निर्माण, साइकल लेन, पैदल लेन, चौबिसै घण्टा पानीको आपूर्ति, फोहरपानी प्रसोधन, ४० मेघावाट जलविद्युत्को छुट्टै विद्युत् फिडर, दुई सय जना सशस्त्र प्रहरी बल बस्ने व्यवस्था, उद्योग संघ, बैंक, टेलिकम्युनिकेसन टावर, एकीकृत भन्सार चेकपोष्टलगायत विभिन्न पूर्वाधार निर्माण हुने परियोजना कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताए ।

अन्तर्राष्ट्रिय मापदण्डसहितको औद्योगिक क्षेत्र भएकोले औद्योगिक क्षेत्र निर्माण हुन थालेपछि पछिल्लो समय स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरू उद्योग सञ्चालनका लागि इच्छुक रहेका छन । सम्पूर्ण पूर्वाधारसहितको औद्योगिक क्षेत्रभित्र प्लाष्टिक, रबर, पेन्ट, डेरी, खाद्यान्न, स्टिल, टेक्सटाइल, इलेक्ट्रिक मेकानिकल, छाला, खानेपानी, काष्ठ उद्योगलगायत विभिन्न उद्योग स्थापना हुने बताइएको छ । नौबस्ता औद्योगिक क्षेत्र सञ्चालनमा आए मुलुकको अर्थतन्त्रका साथै हजारौँले रोजगारी पाउने परियोजना प्रमुख पुन बताउछन् । ‘बाँकेको समृद्धिको प्रमुख आधार यो आयोजना बन्न सक्छ,’ उनले भने ।

स्वतःस्फूर्त उद्योग खुल्दै

बाँकेको नेपालगञ्ज र नौबस्तामा सरकारी योजनाअनुसार औद्योगिक क्षेत्र स्थापना गरी उद्योग सञ्चालन भइरहेको छ । त्यहाँ उद्योग गर्न चाहने उद्योगीहरूले सहुलियत दरमा सरकारबाट जग्गा भाडामा लिएर उद्योग सञ्चालन गर्दछन् । औद्योगिक क्षेत्रमा विभिन्न संरचना सरकारले निर्माण गरिदिने भएका कारण व्यवसायीहरूलाई व्ययभार निकै कम पर्न जान्छ ।

जिल्लाको उत्तर पश्चिमी क्षेत्र नौबस्तामा उद्योग स्थापनाको प्रकृया सुरु भएको छ । पश्चिमका विभिन्न जिल्लाको केन्द्रविन्दुमा पर्ने भएपछि लगानीकर्ताहरू सरकारको मुख नताकेर यहाँ स्वतःस्फूर्त रूपमा उद्योगमा लगानी गर्न आकर्षित भएका छन् ।

जिल्लाको जानकी गाउँपालिका–६ स्थित गनापुरमा पर्दछ । यहाँ उद्योग स्थापना गर्ने सरकारको कुनै योजना र सहयोग नभएपनि आन्तरिक खपत र निर्यातमा महत्व राख्ने दोब्बर ठूला उद्योगहरू सञ्चालनमा छन् । जयमङ्गलम सिमेन्ट, जयबागेश्वरी सिमेन्ट उद्योग, जयअम्बे स्टिल प्रालि, बागेश्वरी स्टिल एण्ड आइरन उद्योग, सगरमाथा स्टिल उद्योग, बाहुबली हर्बल उद्योग, गङ्गा रोजिन एण्ड टर्पेन्टाइन, पानस फर्मास्युटिकल्स जस्ता करिब पाँच दर्जन बढी उद्योग यही वडामा रहेका छन ।

नेपालगञ्ज औद्योगिक क्षेत्रका प्रमुख पुनका अनुसार औद्योगिक क्षेत्रमा भन्दा छुट्टै उद्योग स्थापना गर्नेहरूले करिब ६० प्रतिशत बढी लगानी गर्नुपर्छ । यहाँ यतिधेरै सम्भावना भएका कारण व्यवसायी विभिन्न जोखिम मोलेर आफैँ उद्योगमा लगानी गरिरहेका छन् । (रासस)