NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

फेसबुक विज्ञापनमार्फत चुनाव प्रचार गर्ने उम्मेदवार को–को छन् ?

काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभामा घन्टाघर चिह्नका स्वतन्त्र उम्मेदवार इन्जिनियर सुशान्त श्रेष्ठले पछिल्लो ३० दिनमा सबैभन्दा धेरै पाँच सय ७० डलर खर्च गरेका छन् । उनले आफ्नो पेजबाट चुनावी अभियानसँग सम्बन्धित २४ वटा विज्ञापन प्रवर्द्धन गरेका छन् ।

शंख चिह्न लिएका नेपालका लागि नेपाली पार्टीका भोजपुर प्रतिनिधिसभा उम्मेदवार डा. सुरेश बस्नेतले चार सय ९८ डलर खर्च गरेका छन् । २२ वटा विज्ञापनमा उनले फेसबुकबाट प्रवर्द्धन गरेका छन् ।

जसपाबाट काठमाडौं क्षेत्र नम्बर ७ का उम्मेदवार निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले चार सय ९४ डलर खर्च गरेका छन् । ३९ वटा विज्ञापन प्रवर्द्धन गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता एवं पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार सोमप्रसाद पाण्डेयले पछिल्लो ३० दिनमा चार सय ८३ डलर खर्च गरेका छन् । यो अवधिमा उनले १० वटा विज्ञापन गरेका छन् । पाल्पा २ कै एमाले उम्मेदवार ठाकुरप्रसाद गैरेले ६ वटा विज्ञापनमा सय डलर खर्चिएका छन् ।

धनुषा ३ का लागि सिफारिस भएर टिकट नपाएका कांग्रेस नेता सिए परमेश्वर महासेठले पछिल्लो ३० दिनमा तीन सय १२ डलर खर्च गरेका छन् । विमलेन्द्र निधिनिकट उनले यसबीचमा २३ वटा विज्ञापन गरेका छन् ।

घन्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं ७ का उम्मेदवार गणेश पराजुलीले पछिल्लो ३० दिनमा एउटा मात्रै विज्ञापनमा तीन सय डलर खर्च गरेका छन् । रासपकै काठमाडौं ६ का उम्मेदवार शिशिर खनालले नौवटा विज्ञापनमा दुई सय २२ डलर खर्च गरेका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पछिल्लो ३० दिनमा आटवटा विज्ञापनका लागि एक सय ८७ डलर खर्चिएका छन् । जसपा संघीय परिषद् अध्यक्ष अशोक राईले सय डलर खर्चेर एक मात्र विज्ञापन गरेका छन् ।

काठमाडौं ५ का स्वतन्त्र उम्मेदवार शैलेन्द्र बस्नेतले नौवटा विज्ञापनका लागि एक सय ८७ डलर खर्च गरेका छन् । क्रस खुकुरी चिह्न पाएका काठमाडौं २ का उम्मेदवार अनुप बोहराले सातवटा विज्ञापनमा एक सय ७२ डलर खर्च गरेका छन् । झापा २ का स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेले आठवटा विज्ञापनका लागि एक सय ५१ डलर खर्च गरेका छन् ।

जसपाबाट बाँके २ का उम्मेदवार निवर्तमान भौतिक योजना तथा यातायातमन्त्री इस्तियाक राईले १८ वटा विज्ञापनका लागि पछिल्लो ३० दिनमा एक सय १९ डलर खर्च गरेका छन् ।

काठमाडौं ७ की नेपाल समाजवादी पार्टीकी उम्मेदवार मानुषी यमी भट्टराईले पछिल्लो ३० दिनमा सातवटा विज्ञापन प्रवर्द्धनका लागि सय डलर खर्च गरेकी छिन् । मानुषी जिताऔँ अभियानबाट छुट्टै सय डलर खर्चिएको छ । एमाले छाडेर काठमाडौं ७ मै स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरले पनि सय डलर खर्चेर फेसबुकमा चुनावी प्रचार गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेलसँग दाङ २ मा भिडिरहेकी माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले ६ वटा विज्ञापनमा सय डलर नै खर्च गरेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं ८ का उम्मेदवार विराजभक्त श्रेष्ठले ३५ वटा विज्ञापनका लागि सय डलर खर्च गरेका छन् । जसपाबाट महोत्तरी ३ (क) का उम्मेदवार दीपेन्द्र झाले १३ विज्ञापनका लागि सय डलर खर्च गरेका छन् । ललितपुर २ का लौरो चिह्नका उम्मेदवार डा. सुदिन शाक्यले चारवटा विज्ञापनका लागि सय डलर खर्चिएका छन् ।

गोकुल बाँस्कोटालाई टक्कर दिँदै काभ्रे २ मा वाम गठबन्धनका साझा उम्मेदवार शिवप्रसाद हुमागाईंले फेसबुकबाट चुनावी प्रचारमा ६ वटा विज्ञापनका लागि सय डलर तिरेका छन् ।

एमालेबाट धनुषा ३ (ख)का उम्मेदवार दीपेन्द्र ठाकुरले १० वटा विज्ञापनमा सय डलर खर्चिएका छन् ।

झापा २ का कल चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार कुमार भट्टराईले चार विज्ञापनमा सय डलर खर्चिएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै डिजिटल विज्ञापनमा प्रवेश गरेका छन् । उनले हालसम्म दुईवटा मात्रै विज्ञापन गरेका छन् । सय डलर तिरेका छन् ।

माओवादीबाट ललितपुर ३ की उम्मेदवार एवं ऊर्जामन्त्री पम्फा भुसालले तीनवटा विज्ञापनमा सय डलर खर्चिएकी छिन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय डलर तिरेर तीनवटा पेड विज्ञापन फेसबुकमार्फत गरेका छन् ।

सुनसरी ३ मा विजय गच्छदारसँग प्रतिस्पर्धा गरिरहेकी एमालेकी भगवती चौधरीले पनि तीन विज्ञापनमा सय डलर खर्चिएकी छिन् ।

धनकुटा १(क)बाट उम्मेदवार बनेका रकम चेम्जोङले एक मात्रै विज्ञापन गरेका छन् । खर्च सय डलर देखिएको छ ।

कांग्रेसबाट पर्सा २ का उम्मेदवार अजयकुमार चौरसिया पनि सामाजिक सञ्जालमा सक्रिय रूपमा प्रचार गरिरहेका छन् । उनले फेसबुकमा ६ वटा चुनाव प्रचार सामग्री प्रवर्द्धनका लागि सय डलर खर्च गरेका छन् । उनको प्रचारमा सहयोगी धीरजकुमार गुप्ताले छुट्टै सय डलर खर्चेका छन् ।

मोरङ क्षेत्र नम्बर ६(ख) का एमाले उम्मेदवार परशुराम बस्नेत (विराटनगरका युवा)ले पाँचवटा विज्ञापनमा दुई सय डलर खर्चिएका छन् ।

कपिलवस्तु १ का माओवादी उम्मेदवार एवं पूर्वकृषिमन्त्री चक्रपाणि खनालले पाँचवटा विज्ञापन फेसबुकमा बुस्ट गर्दै सय डलर खर्चिएका छन् ।

दाङ ३ का कांग्रेस उम्मेदवार दीपक गिरीले दुईवटा, झापा १ बाट उम्मेदवार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा (प्रचार सचिवालय)ले पाँचवटा विज्ञापनका लागि सय–सय डलर तिरेका छन् । कांग्रेस रुपन्देही ५ का उम्मेदवार भरत शाह र कांग्रेस चितवन २ का उमेश श्रेष्ठ, कांग्रेस कपिलवस्तु २ सुरेन्द्रराज आचार्यले पनि समान सय डलर तिरेका छन् ।

कांग्रेस कैलाली ५ (ख)बाट उम्मेदवारी दिएकी प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाका स्वकीय सचिव एवं भतिज प्रकाश देउवाले पनि फेसबुकलाई सय डलरकै भुक्तानी गरेका छन् ।

काठमाडौं १ का उम्मेदवार राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, रासप उम्मेदवार पुकार बम, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले फेसबुकलाई सय–सय डलर तिरेका छन् ।

एमाले पाँचथर उम्मेदवार एवं पूर्वमन्त्री वसन्त नेम्वाङ, मकवानपुर २ का एमाले उम्मेदवार महेश बर्ताैला, एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा ५ मा प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार युग पाठक, काठमाडौं ५ का कांग्रेस उम्मेदवार प्रदीप पौडेलले पनि प्रचारमा सय–सय डलर तिरेका छन् ।

गोरखा २ की स्वतन्त्र उम्मेदवार डा. माधवी भट्ट, पर्सा १ का राप्रपा उम्मेदवार किरणमान डंगोल, कास्की २ (ख) का राप्रपा उम्मेदवार अरुण गिरी, काठमाडौं १ (ख) कांग्रेस उम्मेदवार सुरजचन्द्र लामिछाने, झापा ३ का स्वतन्त्र उम्मेदवार योगेन्द्र खनाल, महात्तरी २(ख) की स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साह, नुवाकोट १ का एमाले उम्मेदवार बद्री मैनाली, चितवन १(ख) स्वतन्त्र उम्मेदवार राममणि न्यौपानेले सय–सय डलर तिरेर फेसबुकमार्फत प्रचार गरिरहेका छन् ।

जसपा सुनसरी ४(क) उम्मेदवार परशुराम बस्नेत, नुवाकोट २ का रासप उम्मेदवार सुमनविक्रम पाण्डे, भक्तपुर २ का स्वतन्त्र साजन विश्वकर्मा, एमाले कैलाली १ (ख) द्वारिकाप्रसाद न्यौपाने, नेपाल विवेकशील पार्टी अध्यक्ष कर्मा तामाङ, मोरङ ६(ख) का स्वतन्त्र गोपाल रेग्मी, काठमाडौं ४ का स्वतन्त्र अर्जुनकुमार प्रसाईं र सिभेन्द्र केसी, रासप ललितपुर ३ की डा. तोसिमा कार्की (समर्थक पेजसहित), कांग्रेस मोरङ ४ (ख) भीम पराजुली (सचिवालय पेजसहित), हाम्रो नेपाली पार्टी रुपन्देही ३ प्रख्यात बन्जाडे, रौतहट ४ का स्वतन्त्र अजयकुमार साह, महोत्तरी १ का स्वतन्त्र पोषण थापा, कांग्रेस पाल्पा १ (ख) शंकर खनाल, गुल्मी १(ख) कांग्रेस धनेन्द्र कार्की, राप्रपा काठमाडौं २ कुन्तीदेवी पोखरेल, राप्रपा ललितपुर ३ (क) विनोद खड्का, कांग्रेस बिपी लमजुङका डा. लक्ष्मीकान्त पौडेल, हाम्रो नेपाली पार्टी सुनसरी ३ का गणेश कटवाल, एमाले दाङ २(क) बलिभद्र रानाले सय–सय डलर तिरेर फेसबुकमा चुनावी क्याम्पेन चलाएका छन् ।

एमाले झापा २(ख) चिन्तक पाठक, लौरो पर्सा १ (ख) ओमप्रकाश सर्राफ, विवेकशील साझा ललितपुर ३(क) समुन्द्र केसी, जसपा काठमाडौं ६(क) गणेश शाक्य, धनुषा ३ स्वतन्त्र उमेश साह, पाल्पा १ स्वतन्त्र विपिन कँडेल, एमाले रामेछापका कैलाश ढुंगेल, रासप गोरखा २ का कवीन्द्र बुर्लाकोटी, लौरो आनन्दराज जोशी काठमाडौं ९(ख) र रासप उपाध्यक्ष डिपी अर्यालले आफ्नो पार्टी र उम्मेदवारको प्रचारमा सय–सय डलर खर्च गरेका छन् ।

क्रसबोर्डर डिसइन्फर्मेसनका अनुसन्धानकर्ता तथा नेपाल पोलिसी इन्स्टिच्युटका कार्यकारी निर्देशक किरण चापागाईं सामाजिक सञ्जालमा पैसा तिरेर प्रचार गर्ने अभ्यास बढ्दो रहेको बताउँछन् । निर्वाचन आयोगको नीति निर्माणमा संलग्न चापागाईं दल र उम्मेदवारको चुनाव खर्चको पारदर्शिता भयो भने निर्वाचनको समग्र निष्ठा प्रवर्द्धन गर्न फाइदा पुग्ने विश्वास गर्छन् । ‘यो प्रकारको पारदर्शिता भयो भने विज्ञापनको माध्यमबाट निर्वाचनमा हुन सक्ने वैदेशिक हस्तक्षेप र प्रभावित पार्ने दुष्प्रचार रोक्न र नियमन गर्न प्रभावकारी हुन्छ,’ उनले भने ।