NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

मतदाता शिक्षाबारे टिकटक बनाउनेलाई आयोगले ५० हजार रूपैयाँ दिने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा आधारित टिकटक बनाउनेलाई ५० हजार रूपैयाँ दिने भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षा जस्ता विषयमा आधारित टिकटक बनाउनका लागि आयोगले आह्वान गरेको हो ।

यस विषयमा सम्बन्धित एक मिनेटसम्मको भिडियो बनाएर कात्तिक ५ देखि कात्तिक १५ गतेसम्म आयोगको इमेल ठेगाना [email protected] मा पठाउन सकिन्छ ।

त्यसबाट उत्कृष्ट भिडियोलाई ५० हजार रूपैयाँले पुरस्कृत गरिने आयोगले जनाएको छ ।

त्यस्तैगरी भिडियो बनाउन आयोगले निम्न शर्तहरू अघि सारेको छ,

१) भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनुपर्नेछ ।

२) भिडियो संवादमूलक, सन्देशमूलक हुनु पर्नेछ । आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइनेछ ।

३) भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण ाहुने खालका विषयवस्तुहरूमा आधारित हुनुपर्नेछ ।

४) निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारी लगायत निर्वाचन सम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडियो बनाउन सकिनेछ ।

५) कुनै एक व्यक्तिले एउटा विषयमा पाँचवटा सम्म भिडियो पठाउन सकिने छ । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको पाँचवटा सम्म भिडियो स्वीकार गरिनेछ ।

६) प्राप्त भिडियोहरूमा आयोगको अधिकार रहनेछ । भिडियो सन्देश आयोगले सामाजिक सञ्जाल लगायत डिजिटल माध्यबाट प्रचार प्रसार र प्रशारणको निम्ति उपयोग गर्नेछ ।

७) तोकिएका शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिने छैन ।

८) उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट
गरिनेछ ।

९) उत्कृष्ट भिडियोहरूमध्ये छनोट समितिको सिफारिसमा रु.५०,०००।– (पचास हजार) पुरस्कार र प्रशंसापत्र प्रदान गरिनेछ ।

१०) भिडियो २० सेकेण्ड देखि १ मिनेट सम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिनेछ ।

११) आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडियोहरूमा पनि टिकटिक निर्माण गर्न
सकिनेछ ।