NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मालीबाट निगमको जहाज आउन अझै केही दिन लाग्ने

काठमाडौं । शान्ती मिसनमा गएका नेपाली सेना लिएर पश्चिम अफ्रिकी मुलुक माली गएको नेपाल एयरलाइन्सको न्यारोबडी जहाज काठमाडौं फर्किन अझै केही दिन लाग्ने भएको छ ।

निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमले शनिबार यहाँबाट ल्याण्डिङ गियरको टायर पठाएको छ । भोलिसम्म टायर पुग्ने र जहाज मर्मत भएर काठमाडौं आउन अझै दुई/तीन दिन लाग्न सक्ने उनले जानकारी दिए ।

गत बुधबार शान्ती सेना पु-याउन र लिन दोहा हुँदै माली पुगेको नेपाल वायुसेवा निगमको ए ३२० जहाज टायर पन्चर भएका कारण हाल त्यहींको एक विमानस्थलमा ग्राउण्डेड छ ।

निगमले उक्त उडानमा दुईजना वरिष्ठ विमान इन्जिनियर लगेको छ । फ्लाइटमा सहभागी सुनिल जयाना र केमराज आचार्य द्वय वरिष्ठ विमान इन्जिनियर हुन् । उनीहरूसँगै टेक्निकल अफिसर प्रदीप ऋषिदेव पनि छन् । तर, जहाजको प्राविधिक पाटो सम्हाल्ने यो टोली उडानमा सहभागी भएपनि टायर पन्चर भएमा के गर्ने भन्ने पूर्वतयारीसमेत नदेखिएको हो ।

जहाजको लागि आवश्यक सामान्य सामग्रीहरूसमेत नबोकी जाँदा यसको मूल्य त्यहाँँ पुगेका अन्य यात्रुले चुकाउन परिरहेको छ । उडान अघि नै आवश्यक पर्न सक्ने जगेडा टायरको व्यवस्थापन गर्नु सामान्य तयारीअन्तर्गतकाे काम हाे । तर, निगमकाे हकमा यस्ता पूर्वतयारी लागू नहुने निगमकै अधिकारीहरू बताउँछन् ।

अन्तर्राष्ट्रिय गन्तव्यमा उड्ने ठूला जहाजमा ‘एभिएसन वे किट’ राख्ने व्यवस्था हुन्छ । तर, निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा उड्ने जहाजमा यसको व्यवस्था छैन । जहाज आएको आठ वर्षसम्म पनि आवश्यक पर्ने यो सामान्य किटको प्रबन्ध नगर्नु व्यवस्थापकीय कमजोरीका रूपमा औंल्याउँछन् निगमका एक अधिकारी ।

उनका अनुसार यदि उक्त किट हुन्थ्यो भने टायर पड्किएका कारण यत्तिका दिन त्यहीं रोकिएर बस्नुपर्ने थिएन । उक्त किटमा जहाजमा आवश्यक स्पेयर पार्टसदेखि टुलकिटको सुविधा हुन्छ ।

‘यसअघि पनि यस्तै समस्याका कारण हङकङमा चार दिनसम्म जहाज ग्राउण्डेड हुने अवस्था आयो,’ उनले भने, ‘अहिले पनि त्यत्तिका प्राविधिक टोलि जाँदासमेत यस्तो सामान्य विषयको प्रबन्ध नगर्नू लापरवाही हो ।’

निगमका इन्जिनियरिङ शाखा प्रमुख विक्रम केसी कुनै पनि वायुसेवा कम्पनीले आफ्नो नीति नियममा समावेश गरेमात्रै उक्त किट राखिने व्यवस्था हुने बताउँछन् । उनका अनुसार निगमले उक्त किट राख्नेबारे आफ्नो नीति नियममा समावेश गरेको छैन । जसकारण त्यसको प्रबन्ध पनि नगरिएको उनले बताए ।

तर, यसअघिका विभागीय प्रमुखहरूले पटक–पटक उक्त किटको व्यवस्था गर्नका लागि व्यवस्थापनमा लिखित बुझाउँदा पनि निगमको ध्यान पुग्न सकेको छैन ।