NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

धादिङबाट जित पक्का भएका शालिकराम नै वागमतीमा भावी मुख्यमन्त्री !

काठमाडौं । माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य तथा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेललाई आसन्न निर्वाचनपछि वाग्मती प्रदेशको सम्भावित मुख्यमन्त्रीको रूपमा हेरिएको छ । अघिल्लो निर्वाचनमा उनी धादिङ क्षेत्र नं. १ को प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए । मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट सोही क्षेत्रमा प्रदेशसभा सदस्य बनेका उनी मुख्यमन्त्री बन्ने प्रबल सम्भावना रहेको छ । योपटक उनले प्रतिनिधिसभा सदस्य बन्ने इच्छा देखाएका थिए । तर भागबण्डामा धादिङ १ मा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दाबी नछाडेपछि उनी पुनः प्रदेशसभा सदस्यमा दोहोरिएका हुन् ।

जम्मकट्टेललाई एमाले बुद्धिजिवी परिषद्का महासचिवसमेत रहेका गजेन्द्र थपलियाले टक्कर दिएका छन् । पेशाले इन्जिनियर रहेका थपलियाले ओली नेतृत्वको सरकारमा विकास विज्ञको रुपमा काम गरेका थिए । थपलिया नयाँ अनुहार हुन् । यस क्षेत्रबाट कट्टेलसहित ८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

२०७४ को निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन हुँदा धादिङको क्षेत्र नं. १ मा एमाले धादिङका अध्यक्षसमेत रहेका भूमि त्रिपाठी विजयी भएका थिए । प्रदेशसभातर्फ १ मा राजेन्द्र पाण्डे र २ मा जम्कट्टेल विजयी भएका थिए ।

माओवादी प्रभावित क्षेत्र रहेको यो प्रदेशसभा निर्वाचन क्षेत्रमा पाण्डे र जमकट्टेलको गृहपालिका पनि हो । माओवादी केन्द्रले जिल्लामा स्थानीय तहको अध्यक्ष जितेका ३ पालिकामध्ये २ वटा गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिका यसै प्रदेशसभा अन्तर्गत पर्दछ । माओवादीले जितेको ३२ वडामध्ये १३ वडा यसै क्षेत्रमा पर्छ । यसपटक कांग्रेस र एकीकृत समाजवादीले साथ दिएकाले उनले जित्ने सम्भावना बलियो देखिन्छ ।

यस्तो छ २०७४ को नतिजा

अघिल्लो निर्वाचनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भएको थियो । त्यतिबेला तत्कालीन वाम गठबन्धनबाट उम्मेदवार रहेका जम्कट्टेलले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कांग्रेसका प्रभातकिरण सुवेदीलाई १२ हजार ९७५ को मतान्तरले पराजित गरेका थिए । जमकट्टेललाई एमालेले साथ दिएको थियो भने सुवेदीलाई राप्रपाको समर्थन रहेको थियोे । उनी २३ हजार ३ सय ८२ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी सुवेदीले १० हजार ४ सय ७ मत प्राप्त गरेका थिए ।

स्थानीय निर्वाचन २०७९ को मतभार

स्थानीय निर्वाचन २०७९ मा वडा अध्यक्षहरूले प्राप्त मतका आधारमा यो क्षेत्रमा एमाले पहिलो दल बनेको छ । यहाँ एमालेको १४ हजार ६ सय ४२, माओवादी केन्द्रको १३ हजार ७ सय ५६, कांग्रेसको १० हजार ६ सय ६८, नेकपा एसको २ हजार ३ सय ३८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सय ९ मत रहेको छ ।

गठबन्धनको जम्मा मत २६ हजार ७६२ रहेको छ । एमालेसँग गठबन्धनको मतान्तर १२ हजार १२० रहेको छ । अर्थात गठबन्धन भारी मतान्तरले अगाडि देखिन्छ । प्रतिनिधिसभा अन्तर्गत ६ वटा स्थानीय तहमध्ये गजुरी, बोनिघाट रोराङ र सिद्धलेक गाउँपालिका यसै क्षेत्रमा पर्छ । स्थानीय तह निर्वाचनमा सिद्धलेकबाहेक दुइवटै पालिका प्रमुख माओवादी केन्द्रले जितेको थियो । सिद्धलेकमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

मुख्यमन्त्रीको मुख्य दाबेदार जम्मकट्टेल

सत्ता गठबन्धनभित्र पहिले जितेको क्षेत्र सोही दललाई नै दिने सहमति कायम भए अनुसार यो क्षेत्र माओवादीले लिएको हो । आफ्नै गृहक्षेत्र भएपनि पाण्डे प्रतिनिधिसभा सदस्य उम्मेदवार भएकाले जम्कट्टेल मुख्यमन्त्रीका मुख्य दाबेदार रहेका छन् । जसअनुसार जम्कट्टेल निर्विकल्प सत्ता गठबन्धनको साझा उम्मेदवार भएपछि उनी आगामी निर्वाचनपछि वागमती प्रदेशको मुख्यमन्त्री बन्ने लाइनमा देखिन्छन् । एकल दलीय मतका आधारमा पनि बलियो देखिएकाले उनले आगामी निर्वाचन सजिलै जित्ने देखिन्छ ।

जम्मकट्टेललाई कांग्रेसका इन्द्र बानियाँको चुनौती

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनको बहुमत आएमा गठबन्धनकै सरकार बनाउने शीर्ष नेताहरूबीच सहमति भएको छ । यस्तो अवस्थामा जम्मकट्टेलले निर्वाचन जितेपनि कांग्रेसका नेता तथा मकवानपुर २ (२) का प्रदेशसभा सदस्य इन्द्र बानियाँ चुनौतीका रुपमा देखा पर्नेछन् । मुख्यमन्त्रीका मुख्य दाबेदार रहेका बानियाँ अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित सदस्य हुन् । प्रधानमन्त्री देउवाका विश्वासपात्र रहेका बानियाँ कांग्रेसका प्रभावशाली नेता हुन् । २०७४ को निर्वाचनमा एमाले एक्लैको बहुमत आएको थियो ।

११० सदस्य प्रदेशसभा रहेको वाग्मतीमा सरकार बनाउन ५६ सदस्य आवश्यक पर्छ । आगामी निर्वाचनमा गठबन्धनले बहुमत ल्याएमा मुख्यमन्त्रीको प्रमुख दाबेदार यी दुई नेता देखिएका छन् । यी दुवै जना विजयी भएमा मुख्यमन्त्री बन्ने विषय पोचिलो हुने देखिन्छ । पौडेल नेतृत्वको सरकार ढलेपछि वागमतीमा बानियाँले मुख्यमन्त्री बन्न चाहेका थिए । एमालेबाट अष्टलक्ष्मी र पाण्डेले दाबी गरेका थिए । तर ओलीले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाए । शाक्य मुख्यमन्त्री बनेपछि एमाले विभाजन हुन पुग्यो ।

शाक्यले विश्वासको मत पाउन सकिनन् । एमालेबाट विद्रोह गरी बनेको नेकपा एसका उपाध्यक्ष पाण्डे मुख्यमन्त्री बन्न सफल भए । बाँकी कार्यकाल आलोपालो मुुख्यमन्त्री बनाउने गठबन्धन दलहरूबीच सहमति भएपछि बानियाँ मुख्यमन्त्रीको रेसबाट पछि हटेका थिए । सहमति अनुसार बानियाँले मुख्यमन्त्री दाबी गरेपनि पाण्डेले सत्ता हस्तान्तरण गर्न मानेनन् । वाग्मतीमा सरकार परिवर्तन गर्दा सबै प्रदेशमा सरकार ढल्ने स्थिति आएपछि बानियाँ पुनः पछि हटेका थिए । त्यसैले आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्ने स्थिति आए र यी दुवैले निर्वाचन जितेमा वाग्मतीमा आलोपालो सरकार बन्ने सम्भावना बलियो छ ।

किनकी बानियाँ पनि मुख्यमन्त्री बन्नैका लागि प्रतिनिधिसभामा नगई प्रदेशसभामा बसेका थिए । मकवानपुरका दुई प्रतिनिधिसभामध्ये १ मा महालक्ष्मी उपाध्यक्ष डिना कांग्रेसबाट र विरोध खतिवडा २ नम्बर क्षेत्रमा नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका छन् । मुख्यमन्त्री बन्ने देउवासँगको शर्तमा बानियाँले डिनालाई प्रतिनिधिसभाको टिकट छोडेको बताइन्छ ।

यस्तो छ जमकट्टेलको विकास निर्माण योजना

स्थानीय उत्पादकत्व वृद्धि गरी कृषकहरूको व्यवसायीकरणका लागि मन्त्री जम्मकट्टेलले १३२ रोपनी जग्गामा कृषक तालिम केन्द्र सञ्चालन गर्ने तयारी गरेको बताएका छन् । यसको अवधारणा डिग्री पढ्ने मान्छे आफैं किसान हुन नआउने, जसले किसानी गर्छन् उसलाई कृषि र पशुपालनबारेमा थाहा नहुने अवस्थाको अन्त्य गर्न यो नयाँ अवधारणा ल्याइएको उनले जिकिर गरेका छन् ।

‘कृषि केन्द्र स्थापना भएपछि गाउँघरमा बाआमा दाजुभाइ र दिदीबहिनी जो किसान हुनुहुन्छ, उहाँहरूलाई पढाउने र सिकाउने गरिन्छ’, उनले भने, ‘१३२ रोपनी जग्गामा कार्यालय स्थापना गराएर सञ्चालनमा ल्याउने तयारीमा छ । यसका लागि पाठ्यक्रम बन्ने तयारीमा छ ।’

यसैगरी बेनिघाट रोराङ–८ मा रहेको एशियाकै ठूलो गुफा मानिएको नवगुफासम्म जान बाटो खोली पिच गर्ने प्रकृयामा रहेको छ र त्यसको लागि ९९ करोड बजेट निकासा भएको बताएका छन् ।

त्यस्तै बोनिघाट रोराङ–१० मा चितवन जाने घुम्ति खोला र दोभान खोला बाटोलाई बजेटको व्यवस्था गरिएको छ । छेवाङ जाने पुलको शिलान्यास भएको छ । १ नम्बर जाने बाटोको डिपिआर सम्पन्न भइ टेन्डरमा लैजाने प्रक्रियामा रहेको उनको भनाइ छ ।

यसैगरी स्थानीय उत्पादनलाई मध्यनजर गरी विशालटारमा कोल्डस्टोर निर्माण भइ सञ्चालनको प्रक्रियामा छ । कृषि कलेज स्थापना गर्न प्रक्रिया अगाडि बढेको छ । कालिकोटको कोटडाँडा विमानस्थल निर्माणको क्रममा १८ जना मजदुर मारिएका थिए । उनीहरूको सम्झानामा चेपाङ समुदायमा पार्क निर्माणका लागि ११ करोडको टेन्डर भएको छ ।

त्यस्तै गजुरीमा आफ्नै पहलमा आदमघाटबाट मनहरी जाने छोटो बाटो ३ वर्षमा सकिने गरी काम अगाडि बढेको उनले बताए । गजुरीको ७ र ८ वडामा जाने बाटो पिच गर्न ६२ करोडको बजेट विनियोजन भएको छ । यी कामलाई सम्पन्न गरी सञ्चालनमा आउन बाँकी छ ।

वैकल्पिक राजमार्गको होरिएको पोखरा जाने र गैडाकोट जाने त्रिशुली पारीको बाटोलाई सम्पन्न गर्ने मुख्य उदेश्य राखिएको बताएका छन् ।
‘वैकल्पिक राजमार्गको अवधारणा अनुसार नुवाकोट, धादिङ, गोरखा, तनहुँ हुँदै गैडाकोट जाने एउटा र गोरखा, कास्की हुँदै पोखरा निस्कने अर्को वैकल्पिक हुँदै राजमार्गको अवधारणा आएको छ । त्यसलाई सम्पन्न गर्ने मुख्य उदेश्य राखेको छ । करिब करिब डिपिआर बनाउने प्रकृयामा पुगेको छ’, उनले भने ।

यी बाहेक प्रदेश सरकारले अगाडि बढाएको रोजगारी सम्बन्धी काम गर्न करिब १ अर्ब बजेट छुट्याएको उनले जिकिर गरे । तालिमको लागि १५ करोड, सहुलियत ऋणका लागि २ अर्ब र घुम्ति कोष स्थापनाको लागि ५० करोड बजेट विनियोजन गरेको उनले बताए ।

को हुन् जम्मकट्टेल ?

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्मकट्टेल हाल माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् धादिङ जिल्ला इञ्चार्ज हुन् । २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर उनले विद्यार्थी राजनीति सुरु गरेका थिए । २०४८ बाट उनी मजदुर संगठनमा लागे । औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष भएका उनी २०५२ सालमा माओवादी युद्धमा होमिएका थिए । त्यसता माओवादीमा निरन्तर क्रियाशील रहेका उनी २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भए ।

बि.ए., बि.एल.सम्मको अध्ययन गरेका जम्मकट्टेलले मजदुर संगठनको नेतृत्वमा आएपछि राजनीतिक उचाइमा पुगेका थिए । २०६३ मा पुनस्र्थापित संसदको अन्तरिम विधायिका भएका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचमा धादिङ क्षेत्र नं. ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई हराएर थप चर्चामा आएका थिए ।

यद्यपि २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा भने उनी पाण्डेसँगै पराजित हुन पुगे । पछिल्लो डेढ वर्षयता धादिङमै केन्द्रित उनी आफ्नो उमेर भएकाले योपटक प्रतिनिधिसभा सदस्यमा पाण्डेलाई साथ दिएको बताउँछन् ।

‘पाण्डेजीको उमेर ढल्किसकेकाले योपटक उहाँलाई अवसर दिएको हो । मेरो त उमेर छ अर्कोपटक उठौंला’, उनले भने, ‘अन्तिमपटक प्रतिनिधिसभा सदस्य बन्न इच्छा गरेका हुनाले मैलै उहाँलाई बाटो छोडिदिएको हुँ ।’

निर्वाचन तथ्याङकले उनले जित्ने प्रवल सम्भावना देखिएपछि निर्वाचनपछिको यात्राबारे गठबन्धनको स्थिति र माओवादीको सिट संख्यामा भर पर्नेछ ।