NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

मूल्य नपाउँदा दूधको उत्पादन घटाउँदै किसान

बलेवा । गोठमा उन्नत जातका दश वटा गाई छन् । बिहानबेलुका दानापानी र दिउँसोको समयमा पर्याप्त घाँस दिनसके माउ गाईले दिनमा दुई पटकको दरले चारदेखि छ लिटर दूध दिन्छन् ।

सहकारीमार्फत् दूध बिक्री हुने भएकाले बजारको समस्या त किसानलाई छैन् तर मूल्य वृद्धिको मारले थिचेको छ । दुईवर्ष पहिले ४० लिटरसम्म दूध बेचेका बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका विकास पौडेललाई आजभोलि गाईलाई दानापानी दिनै मन लाग्दैन् ।

दानापानीको भरमा घटबढ हुने दूध धेरै उत्पादन गर्दा पनि मूल्य उठ्दैन् । बजार मूल्य र किसानले पाउँने दूधको मूल्यमा आधाभन्दा फरक छ । विकासले सरदरमा एक लिटर दूधको ५३ देखि ५५ रुपैयाँ पार्छन । तर त्यही दूध बजारमा एक सय २० रुपैयाँमा बिक्री हुन्छ ।

दुईवर्ष पहिले दूधको मूल्य ५० रुपैयाँसम्म पर्थ्याे र पनि किसानको दुःख उठ्थ्यो । अहिले बजारमा महँङगिएको दाना चोकरको मूल्य जस्तै दूधको मूल्य नबढेका कारण किसान पशुपालनमा निरुत्साहित हुन थालेका हुन् । यो समस्या विकासको मात्रै होइन, कुश्मीशेराका अन्य किसानको पनि समस्या हो ।

जसको असर दुई वर्ष पहिले दैनिक चार सय लिटर दूध उत्पादन गर्ने जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा परेको छ । अहिले सहकारीले दिनमा दुई सय ५० लिटर दूध मात्रै उत्पादन हुन्छ । ‘बिक्री भएको दूधको पैसासमेत समयमा नआउने समस्या छ, दाना चोकर समयमा पु-याउनै कठिन हुने’, पौडेलले भने, ‘व्यावसायिक गाई पालेर पनि आम्दानी गर्न सकिन्छ तर महँगी र दूधको मूल्य वृद्धि समान हिसाबले हुनुपर्छ ।’

वैदेशिक रोजगारीबाट फर्किएर उत्साहका साथ गाईपालनमा सहभागी भएका विकाससँगै सोही गाउँका गुरुप्रसाद, बाबुराम शर्मालगायतका युवाले पछिल्लो समय व्यावसायिक रुपमा पालिएका गाईको सङ्ख्या घटाउने र अन्य व्यवसायको खोजी गर्न थालेका छन् ।

‘बिहान तीन लिटर दिएको गाईले बेलुका पनि त्यतिनै दिन्छ, दाना चोकर प्रशस्त दिए त्यही गाईको दूध पाँच लिटर आउँथ्यो’, पौडेलले भने, ‘दुई वर्ष पहिले एक हजार छ सय पर्ने दानाको बोरा अहिले दुई हजार दुई सय भएको छ ।’ महँगीको मार थेग्न नसकेका कारण आफूहरुले उत्पादन घटाउनु परेको उनीहररुको भनाइ छ ।

किसानले तीन वर्षको अन्तरमा बढेको दूधको मूल्यबाट आशा राखेका थिए तर दूधको मूल्य नबढ्दै बढेको दाना चोकरको मूल्यले किसानको आशा निराशामा परिणत भएको छ । ‘दूधको मूल्य बढाउने विषयमा अन्य उपायको पनि खोजी गर्नुपर्छ भन्ने लागेको, कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका, १२ का सचिव रुद्रनाथ शर्माले भने ,‘उपभोक्ता र उत्पादक किसानबीचको अन्तर घटाउँदा दूधको मूल्य किसानले पाउँछन् ।’ बिचौलिया र ढुवानीका खर्चका कारणले पनि किसानले दूधको उचित मूल्य पाउँदैनन् ।’

बगलुङको दक्षिण क्षेत्रमा उत्पादन भएको अधिकांश दूध जिल्ला बाहिर निर्यात हुने गरेको छ । छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मा बजार र पोखरा बजारमा यहाँको दूध बिक्री हुन्छ ।

टाढाटाढा ढुवानी गरेर दूध पु-याउँदा खर्च बढ्ने गरेको छ । हिउँदको समयमाभन्दा किसानले वर्षाको समयमा मूल्यमा थप मार व्यहोर्ने गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र बागलुङका अनुसार बागलुङ दूधमा आत्मनिर्भर जिल्ला हो ।

तर पछिल्लो समय बढ्दो बसाइँसराइ, व्यावसायिक किसानमा आएको वितृष्णा, बजार मूल्यमा हुने घटबढ र पशुधनमा हुने क्षतिका कारण उत्पादन घट्ने चिन्ता बढ्न थालेको छ ।