घोषणापत्र पूरा हुँदैनन्, हामीले पूरा गर्ने भएर ‘ग्यारेन्टी’ भन्यौं – ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य पार्टीकोजस्तो मेटिएर जाने घोषणापत्र नभएको बताएका छन् ।
जसकारण पार्टीले चुनावी एजेण्डा समेटेर बनाएको पत्रलाई अन्य पार्टीलेजस्तो प्रतिवद्धतापत्र या घोषणापत्र नभएर ‘ग्यारेन्टी’ नाम दिइएको उनले बताए ।
उक्त ग्यारेन्टी भन्नका लागिमात्रै नभनेर पूरा गर्नकै लागि भएको उनको दाबी छ । ‘हाम्रो कमिटमेन्ट एक्सनका लागि हो, हाम्रो कमिटमेन्ट लक्ष्य पूरा गर्नका लागि हो,’ उनले भने, ‘यो जिम्मा जमानी नभएको एउटा कागजको खोस्टामात्रै होइन ।’
आज होटल याक एण्ड यतीमा एक कार्यक्रमको आयाजना गर्दै ओलीेले ‘फिंगर स्क्यान’ गरेर पाँच वर्षमा २० ग्यारेन्टी समावेश गरिएको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
सोही ग्यारेन्टीलाई घोषणापत्रमा थप व्याख्या गरिएको छ ।
यस्ता छन् एमालेका २० ग्यारेन्टी
१. समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने
२. राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने
३. ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने
४. स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने
५. आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने
६. सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने
७. ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने
८. ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने
९. सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क
१०. वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निशुल्क
११. ‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने
१२. सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने
१३. ‘व्यवस्थित सहर ः स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने
१४. सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने
१५. सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने
१६. सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने
१७. ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने
१८. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने
१९. ‘सभ्य समाज : मर्यादित नागरिक’ को नीति कार्यान्वयन गर्ने
२०. प्रतिव्यक्ति आय दोब्बर गर्ने
प्रतिक्रिया