NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भोट माग्दै एमाले उपाध्यक्षको दैलोमा मानुषी टुप्लुक्क

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईपुत्री मानुषी यमी भट्टराई काठमाडौंको प्रतिनिधिसभा क्षेत्र नं. ७ बाट गठबन्धनको साझा उम्मेदवार बनेकी छन् ।

पहिलो परीक्षा उत्तीर्ण हुने ध्याउन्नमा रहेकी मानुषी अहिले घरदैलो अभियानमा व्यस्त छिन् । यही क्रममा उनी बुधबार भोट माग्दै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता अमृत बोहोराको निवास पुगिन् । त्यहाँ उनले शाक्य र बोहोरालाई भेटेर केहीबेर भलाकुसारी गरिन् र शुभकामना मागिन् ।

अग्रज र प्रेरणाकी स्रोत शाक्यको निवासमा पुगेर आफूले आशीर्वाद र शुभकामना लिएको मानुषीले उल्लेख गरेकी छन् ।

‘काठमाडौं– ७ (२) मा एमाले नेतृ आदरणीय अष्टलक्ष्मी शाक्यको घरमा उहाँसँग मत मागेर भलाकुसारी समेत गर्यौं । उहाँसँग आशिर्वाद र शुभकामना लिएका छौं ।
स्वस्थ प्रतिष्पर्धा हाम्रो राजनीतिक संस्कार हुनुपर्छ,’ उनले फेसबुकमा लेखेकी छन् ।

मानुषीसँगको भेटमा शाक्यले आफूहरूको बाटो पृथक भए पनि नमिली धर नभएको बताइन् । उनले भनिन्, ‘अब यथास्थितिमा अलग–अलग भएर गाली गलौजबाट नमिली सुखै छैन, हाम्रो देश बनाउने हो भने ।’

अष्टलक्ष्मी प्रेरणाको स्रोत भएको उल्लेख गर्दै मानुषीले सुशासन र समृद्धिको मार्गमा अग्रसर हुने प्रतिबद्धता जनाइन् ।