NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पहिलोपटक चुनाव लड्दै गरेका विनोद चौधरी नवलपरासीमा कति शक्तिशाली ?

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी आफ्नो चुनावी क्षेत्रमा बलिया देखिएका छन् । पार्टीले समानुपातिकमा बस्न आग्रह गरे पनि चौधरीले यसपटक प्रत्यक्ष निर्वाचन नै भिड्ने अडान लिएका थिए । यसैले उनी नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ मा कांग्रेसबाट उम्मेदवार हुन् ।

चौधरीविरुद्ध जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठी प्रतिस्पर्धामा छन् । उनलाई एमालेले पनि समर्थन गरेको छ । राप्रपाका भोजराज ढकाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

अघिल्लोपटकको चुनावी परिणाम कस्तो छ ?

२०७४ सालमा यो क्षेत्रबाट २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट एमालेको सहयोमा हृदयेश त्रिपाठीले चुनाव जितेका थिए । हृदयेशको प्रभाव, एमाले र माओवादीको साथ हुँदा पनि त्रिपाठीले कांग्रेसका देवकरणप्रसाद कलवारलाई जम्मा ५००१ मतले मात्रै पराजित गरेका थिए । मुख्य तीनवटा दलविरुद्ध एक्लै चुनाव लड्दा पनि कांग्रेस उम्मेदवारले प्रतिस्पर्धी मत प्राप्त गरेका थिए ।

के छ यसपटकको स्थानीय तहको मतको अवस्था ?

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ भरका वडाध्यक्षतर्फ कांग्रेसले सबैभन्दा बढी मत ल्याएको थियो । कांग्रेसले ३०३४२, एमालेले २६७७९, राप्रपाले ६६८७, माओवादीले ५३४७, जसपाले ३५५९, नेकपा एसले ११४१ र लोसपाले एक सय पाएका थिए । यो मतमा सत्ता गठबन्धनको ३६९३० मत देखिन्छ । जबकी एमाले १०१५१ मतले पछाडि रहेको छ ।

कांग्रेसका चर्चित र प्रभावशाली उम्मेदवार चौधरी एमालेभन्दा १० हजार बढी मतान्तरले अघि रहनुले उनको जितको आधार देखाएको थियो । देशभर कांग्रेस, माओवादी र नेकपा एस र लोसपाविरुद्ध एमाले र राप्रपाको मुख्य प्रतिस्पर्धा देखिन्छ । तर एमालेले चौधरीविरुद्ध आफ्नै उम्मेदवार अघि सार्न चाहेन ।

उसले त्रिपाठीलाई नै सहयोग गर्यो । त्रिपाठीको पुरानो पार्टीका धेरै नेता कार्यकर्ता यतिखेर लोसपामा सक्रिय छन् । लोसपाको तालमेल पनि सत्ता गठबन्धनका कांग्रेस, माओवादीसँगै रहेकोले पनि चौधरीलाई यसपटक नवलपरासीमा चुनाव जित्न सहज भएको देखिन्छ । १० हजार बढी मतको अग्रता भएको र कांग्रेस, माओवादी, नेकपा एस र लोसपाको साथ र सहयोगले चौधरीलाई निक्कै फाइदा पुग्ने देखिएको छ ।

चुनावी प्रचारमा अहोरात्र खट्दै चौधरी

सत्ता गठबन्धनको गतिलो साथ र कांग्रेसको पनि उत्तिकै प्रभाव क्षेत्र भए पनि प्रभावशाली उम्मेदवार चौधरीले चुनावी अभियानलाई निक्कै महत्व दिएका छन् । निर्वाचन क्षेत्रका वडा र चोकहरू सबैमा पुग्ने, बस्ती र फाँटसम्मै पुगेर चौधरीले नागरिकका समस्यालाई बुझ्ने प्रयास गर्दै आएको बताएका छन् ।

नवलपरासीको मुहार फेर्ने आफ्नो एकमात्र उद्देश्य रहेको चौधरीले चुनावी अभियानका क्रममा बताउँदै आएका छन् ।

‘परिवर्तनको लागि मेरो प्रयत्न । समस्या त सबैले देख्छन् , औंला ठडाउन पनि सजिलो छ , खोट लगाउन पनि सजिलो छ । तर अब हरेक क्षेत्रका समस्याको हरसम्भव समाधान खोजेर नवलपरासीको मुहार फेर्ने दायित्व मेरो हो’ चौधरीले भनेका छन्, ‘चिन्ता होइन चिन्तन गरेर यो क्षेत्रलाई विकासको बाटोमा डोर्‍याउने छु । समुन्नत नवलपरासीको लागि म अहोरात्र खटिने वाचा गर्द्छु ।’

पार्टीले समानुपातिकमा बस्न आग्रह गरे पनि नेपालका एकमात्र डलर अर्बपति चौधरी आफैंले प्रत्यक्ष निर्वाचनमा लड्ने घोषणा गरेका थिए । समानुपातिकबाट सांसद पद सुरक्षित हुने भए पनि उनले जनतासँग जोडिने मानसिकताले नै प्रत्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।
चौधरीले विभिन्न जातिको भाषा, संस्कृति, कला, भेषभुषाको संरक्षण र संम्वद्र्धनमा आफू प्रयत्नशील रहने बताउँदै आएका छन् ।
चौधरीले आफूले थारु संस्कृतिको संरक्षणमा विशेष चासो दिएर काम गर्ने पनि बताउँदै आएका छन् ।

चौधरीले शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधारको विकासलाई यसपटक मुख्य एजेण्डा बनाएर चुनावमा होमिएका छन् ।

चौधरी प्रत्येक टोल र बस्तीमा घुम्दै चुनावी प्रचारमा व्यस्त छन् । उनले सबै वडा र चोकमा पुगेर नवलपरासीको विकास र समृद्धिको लागि काम गर्ने प्रष्ट्याउँदै आएका छन् । जातीय विविधता भएकोले चौधरी सबै समुदायको सम्वेदनशीलता र समस्या बुझ्दै चुनावी अभियानमा जुटेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारको विकास गर्दै उन्नत नवलपरासीको चाहना आफूले गरेको चौधरीको भनाई छ ।

चर्चामा चौधरी, चुपचाप हृदयेश

समानुपातिकमा बस्न अस्वीकार गरेका चौधरी यतिखेर चर्चित उम्मेदवार बनेका छन् । पहिलोपटक चुनाव लड्दै गरेका चौधरी यतिखेर चुनावी प्रचारमा व्यस्त छन् । सबै समुदाय र भूगोलमा पुगिरहेका चौधरीको शैलीले पनि धेरैलाई छोएको छ । नेपालको एकमात्र डलर अर्बपति चौधरीको चुनावी प्रचारको शैली सामान्य देखिन्छ । ग्रामीण बस्तीमा जाने, खाने गर्दै उनले आफूलाई अर्बपति र उद्योगपति होइन सामान्य नागरिक झै प्रस्तुत गरिरहेका छन् ।

आफू अब उद्योगपति र अर्बपति भन्दा सामान्य राजनीतिककर्मीको रुपमा प्रस्तुत हुन चाहेका बताइरहेका छन् ।

तर उनका प्रतिस्पर्धी हृदयेशको पनि जति चर्चा हुनुपर्ने हो त्यति भइरहेको छैन । आफ्ना प्रतिद्वन्द्वी चौधरीको उम्मेदवारीबारे त्रिपाठीले असामान्य प्रतिक्रिया दिंदै आएका छन् । प्रतिस्पर्धीलाई सम्मान भन्दा व्यापारिक पृष्ठभूमिका व्यक्तिले राजनीतिलाई सुधार्न नसक्ने भन्दै आफूलाई भोट दिएर जिताउन आग्रह गरिरहेका छन् । तर कांग्रेसको बलियो प्रभाव रहेको क्षेत्रमा चुनावी माहोल चौधरीले तताइरहेका छन् ।