NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एक मौका दिनुस् २०४५ सालपछिका प्रधानमन्त्री र मन्त्री सबैको सम्पत्ति छानबिन गर्छौ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक मौका पाए २०४५ सालपछिका सबै नेताको सम्पत्ति छानबिन गर्ने बताएका छन् ।

काठमाडौंको वसन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले मुलुकमा भ्रष्टाचारको पारो अत्यन्त बढेको भन्दै २०४५ सालपछिका सबै नेतालाई छानबिनको दायरामा ल्याउन पनि राप्रपालाई जिताउन आग्रह गरे ।

‘अहिलेको व्यवस्था र नेतालाई नबदलेसम्म देश बन्ने छाँट देखिएको छैन । तीन दशकदेखि देश केही सीमित नेताको मुठ्ठिमा छ’ लिङ्देनले भने, ‘प्रधानमन्त्रीदेखि भ्रष्टाचार गर्ने मन्त्रीसहितका धेरैलाई कारबाहीको दायरामा ल्याउने व्यवस्थाको लागि हामी लागेका छौं । किनकी भ्रष्टाचार वडादेखि सिंहदरबारसम्म मौलाइसकेको छ । हामीलाई एक मौका दिनुस् ।’

आयोग गठन गरेर भ्रष्टाचारीमाथि कारबाही गर्ने उनले बताए ।

‘नागरिक आयोग गठन गरेर हामी ०४५ साल पछिका नेता र उनीहरूको सम्पत्ति छानबिन गर्छौ । बालेनले जसरी काठमाडौंका अवैध संरचना हटाए राप्रपा पनि भ्रष्टाचारीमाथि डोजर चलाउन इच्छुक छ ।’ उनले भने ।

पछिल्ला ५ वर्ष आफू एक्लो भए पनि अब ४ मंसिरको चुनावबाट राप्रपाको पंक्तिमा ठूलो झुण्ड तयार गर्ने दाबी उनले गरे ।
देशमा अब राप्रपाको विकल्प अरु दलहरू नभएको उनको भनाई छ ।