खाडीको विमान नचढ्दै ‘बिक्री’ भइसक्छन् चेली

काठमाडौं । दुबई घुम्न जाने भन्दै १२ नेपाली महिला बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । हिमालय एयरलाइन्सले आवश्यक कागजपत्र अध्ययन नगरी तुरुन्तै उनीहरूलाई बोर्डिङ पास उपलब्ध गरायो । शंका लागेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा स्यानेटरी प्याडभित्र उनीहरूसँग कुवेतको भिसा भेटियो ।
कुन देश जान लागेको भन्दा उनीहरूले राम्रोसँग जवाफ दिन सकेनन् । ग्रामीण क्षेत्रका ती महिलालाई दुबई घुम्न लैजाने भन्दै कुवेतमा लगेर ‘बिक्री’ गर्न लागिएको थियो । सामान्य सोधपुछमै त्यो कुरा खुलेपछि प्रहरीले उनीहरूलाई रोक लगाई अनुसन्धान गरिरहेको छ । सीधै कुवेत जाँदा शंका हुने भएकाले उनीहरूलाई दुबई ट्रान्जिट बनाई भोलिपल्टै कुवेत लैजान लागिएको थियो ।
मानव बेचबिखनमा संलग्न समूहले यसरी सोझा महिलालाई विदेशमा आकर्षक जागिरको प्रलोभनमा मध्यपूर्वका विभिन्न देशमा लगेर बेचबिखन गर्ने प्रवृत्ति बढेको छ । यसरी त्यहाँ पुगेका धेरैजना समस्यामा परेको र पछिल्लो चार महिनामा ११ जनालाई उद्धार गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका निर्देशक एसएसपी अनुरागकुमार द्विवेदीले बताए । ‘हिजो हामीले विमानस्थलबाट फर्काइएका महिलासँग सोधपुछ गर्दा उनीहरूलाई कहाँ जानेसम्मको जानकारी थिएन,’ एसएसपी द्विवेदी भन्छन्, ‘यसरी सयौँ नेपाली चेलीबेटीलाई मध्यपूर्वका विभिन्न देशमा बेचिएपछि हामीले विमानस्थलमा विशेष टोली खटाएर रोक्न थालेका छौँ ।’
प्रहरीका अनुसार भिजिट भिसामा संयुक्त अरब इमिरेट्स, कुवेत, सिरिया, लिबिया, इराक, ओमानजस्ता देशमा पुगेका नेपाली महिला शारीरिक शोषणको सिकार हुने गरेका छन् । प्रहरीले कुवेतबाट सात, दुबईबाट दुई तथा इराक र लिबियाबाट एक–एकजनालाई उद्धार गरेको छ । थप केही उद्धारको प्रतीक्षामा छन् ।
ब्युरोले गरेको अनुसन्धानअनुसार जनावरजस्तै मूल्य नै तोकेर नेपाली महिलाको ती देशमा घरेलु कामदारका लागि बिक्री हुने गरेको छ । ‘उताको एजेन्टले महिला पठाउन भनेर सुरुमै नेपालमा पैसा पठाइदिन्छन्, यताबाट महिला खोजेर उनीहरूको फोटो र भिडियो पठाई मोलतोल हुँदो रहेछ,’ एसएसपी द्विवेदी भन्छन्, ‘यहाँबाट महिला प्लेन चढ्नुभन्दा अघि नै उनको विदेशमा बिक्री भइसकेको हुन्छ ।’
एजेन्टहरूले एक महिलाकै लागि लाखौँ लिने र उनीहरूलाई खरिद गरेको शैलीमा शोषण गर्दै आएको उद्धार गरिएका महिलाले बताउने गरेका छन् । लिबियाबाट फर्किएकी एक महिलाले आफ्नो अनुहार नै जलाएर यातना दिएको बताएकी छिन् । आफू राम्री भएको र आफ्नो श्रीमान्सँग नजिकिन सक्ने भएकाले सुन्दरता बिगारिदिन त्यहाँको घरधनी महिलाले त्यसरी यातना दिएको उनले बताएकी छिन् ।
इराकबाट फर्किएकी एक महिलाले आफूमाथि पनि चरम शोषण भएकाले हारगुहार गरेर स्वदेश फर्किएको बताएकी छिन् । उनीहरू दुवैजना अध्यागमनको सेटिङमा त्यहाँ पुगेका थिए । फर्कन खोज्दा आफूहरूले लाखौँ रुपैयाँ तिरेर किनेकाले त्यो पैसा दिए मात्र जान दिने भन्दै उनीहरूले बन्धकसमेत बनाउने गरेका छन् ।
पछिल्लो तीन महिनामा यसरी फर्जी कागजपत्र प्रयोग गरी घुम्ने बहानामा खाडी देशहरूमा काम खोज्न जान लागेका ६ सय ४० जनालाई प्रहरीले विमानस्थलबाट फिर्ता गरेको छ । फिर्ता गरिएकामाथि सोधपुछ गर्दा धेरैले आफू जान लागेको ठाउँको नामसमेत बताउन नसकेको ब्युरोका एसपी दानबहादुर मल्ल बताउँछन् । शैक्षिक प्रमाणपत्र तथा बैंक स्टेटमेन्टलगायत कागजपत्र नक्कली बनाई गिरोहले उनीहरूलाई पठाउन लागेको थियो । तर, पीडितहरूले सहयोग नगर्दा प्रहरीले गिरोहका नाइकेलाई भने पक्राउ गर्न सकेको छैन । पीडितहरूले उजुरी नदिने प्रवृत्तिले समस्या भएको एसएसपी द्विवेदी बताउँछन् । मानव बेचबिखनसम्बन्धी मुद्दामा पीडितले उजुरी नदिएसम्म अनुसन्धान गर्न नमिल्ने प्रावधान छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया