NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

डा. गोविन्द केसीले मागे गगन थापालाई भोट

काठमाडौं । मेडिकल शिक्षा सुधार अभियान चलाउँदै आएका डा. गोविन्द केसीले कांग्रेस महामन्त्री गगन थापालाई मतदान गरेर जिताउन मतदातासमक्ष आग्रह गरेका छन् । थापा देशकै नेतृत्व गर्न सक्षम युवा भएकाले उनलाई मत दिएर जिताउनुपर्ने उनको भनाइ छ ।

‘गगन यस्ता नेता हुन जसले देशको नेतृत्व सफलतापूर्वक गर्न सक्छन्,’ केसीले भने, ‘त्यसैले म थापाजस्ता इमानदार र ऊर्जावान् नेतालाई मतदान गर्न आह्वान गर्छु ।’

थापा काठमाडौं–४ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार छन् ।

केसीले शिक्षा, स्वास्थ्य र सुशासनका लागि एक दशकदेखि अभियान चलाउँदै आएका छन् । उनको यो अभियानमा साथ दिने सीमित युवा नेतामध्ये थापा एक हुन् । केसीले अन्य युवा वृद्ध नेताको मतियार बन्दा गगनबाट सधैं साथ मिलेको भन्दै प्रशंसा पनि गरेका छन् ।

‘विभिन्न पार्टीका युवा नेताहरूले निहीत स्वार्थका लागि वृद्ध नेताको मतियार बनेर यो अभियान तुहाउन प्रयास गरे,’ उनले भने,‘तर गगन पहिलेदेखि अहिलेसम्म साथमै हुनुहुन्छ ।’

त्यसैगरी, केसीले गगनजस्तै ऊर्जावान् र अन्य इमान्दार नेतालाई मत दिएर विजयी गराउन पनि आम नागरिकलाई आह्वान गरेका छन् ।

‘आफनो विवेकमा रहेर अडिग भएर बस्न सक्ने युवा नेताको सानो सूची छ, त्यसमा गगन अग्रपंक्तिमा छन्,’ उनले भने, ‘गगन र उहाँजस्तो ऊर्जावान र नैतिकवान नेताहरूलाई यो चुनावमा शुभकामना दिन्छु ।’