NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

यसपाली आयोगले मतदाता परिचयपत्र नबाँड्ने, नहुनेले कसरी हाल्ने मत ?

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता परिचयपत्र नबाँड्ने भएको छ । यसअघि आयोगले निर्वाचनको दुई/तीन दिनअघि परिचयपत्र बाँड्ने गरेको थियो । यसपटक भने थपिएका मतदाताका लागि आयोगले पत्र नबाँड्ने निर्णय गरेको हो।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार जुनसुकै परिचयपत्रबाट मत हाल्न सकिने व्यवस्था लागू भएको हुँदा यो वर्ष नयाँ मतपत्र नबाँड्ने निर्णय भएको हो ।

‘यो वर्ष नयाँ मतदाता पनि धेरै थपिएका छैनन् । देशभरबाट पाँच लाख नयाँ मतदाता थपिएका हुन्,’ उनले भने, ‘नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायतका परिचयपत्रबाट पनि भोट हाल्न पाइने भएकाले यो वर्ष नयाँ मतपत्र बाँडिएन ।’

परिचयपत्र नभएपनि मतदाताहरूले परिचय खुल्ने कुनै पनि पत्र जस्तै नागरिकता, राहदानी आदिको सहारामा मत हाल्न पाउँछन् । तर, त्यसका लागि अन्तिम मतदाता नामवलीमा भने नाम हुनुपर्छ ।

आयोगले भनेको छ, ‘….अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाण्पत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन आधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।’

मतदातालाई परिचयपत्र वितरण भएको भए पनि परिचयपत्र हराएको वा नासिएको अवस्थामा माथि उल्लिखित परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था छ।