काठमाडौं–५ का स्वतन्त्र उम्मेदवार गुरुङको चुनावी नारा : ‘पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार’

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार श्री गुरुङ ‘पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार’ नारा बोकेर चुनावी मैदानमा उत्रिएका छन् ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गुरुङले देश विकासका समस्यालाई संसद्सम्म पुर्याउन र नीतिगत रुपमा ती समस्याको सम्बोधन गर्न आफूले उम्मेदवारी दिएको स्पष्ट पारेका हुन् ।
‘क्यामेरा चिन्ह’ लिएर चुनावी मैदानमा होमिएका गुरुङले भने,‘देश विकास भएन, भ्रष्ट भयो, गरिब भयो, अविकसित भयो भन्ने गुनासो धेरै सुन्निने गरेको छ, यी सबै विषयलाई संसदमा पुर्याएर छलफल गराएर नीतिगत रुपमा सम्बोधन गर्न मेरो उम्मेदवारी हो ।’ उनले आजसम्मका सांसदहरुले देशको हितको लागि राम्रोसँग काम गर्न नसकेको टिप्पणी समेत गरे ।
पर्यटन व्यवसायी समेत रहेका गुरुङले आफूहरुले सञ्चालन गरेको ‘आत्मनिर्भर नेपाल अभियान’को उद्देश्य पनि देशलाई आत्मनिर्भर बनाउने रहेको स्पष्ट पारे । प्राकृतिक सुन्दरताले भरिपूर्ण देश नेपाललाई दत्तचित्त भएर दुइतीन वटा मात्रै नीति बनाउन सके पनि देश आत्मनिर्भर बन्ने उनको भनाइ थियो । उनले भने, ‘निजी क्षेत्रलाई, विदेशी लगानीकर्तालाई सेफ्टी सेक्युरिटी दिएर व्यवसाय गर्ने उचित स्थानको व्यवस्था हुनुपर्छ ।’
उनले नेपालमा पर्यटनको विकास गर्न २०३५ को पर्यटन नीतिलाई संशोधन गर्नुपर्ने धारणा राखे । उनले भने,‘२०३५ को पर्यटन नीतिलाई संशोधन गरेर सम्पूर्ण निजी क्षेत्र, नयाँ पर्यटन प्रोडक्टहरु, अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई समेट्ने किसिमको नीति निर्माण गर्नुपर्ने अवस्था छ ।’
उनले पर्यटन, प्रविधि, व्यापार र ऊर्जालाई मुख्य रुपमा प्राथमिकता दिने लक्ष्य रहेको सुनाए । त्यसमा पनि पर्यटन क्षेत्रले सबैभन्दा छिटो रोजगारी सृजनागर्ने भएकोले पहिलो प्राथमिकता पर्यटन क्षेत्रलाई हुने उनले स्पष्ट पारे ।
गुरुङको अनुसार पर्यटन क्षेत्रको २०१९ को डाटा अनुसार नेपालमा १२ लाख पर्यटक आउँदा १५ लाख नेपालीले प्रत्यक्ष र अप्रत्यक्ष गरि रोजगारी पाएका थिए ।
उनले चुनावमा भोट माग्न जनताको घरदैलोमा पुग्दा मतदाताहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए ।
काठमाडाैं ५ मा कांग्रेसबाट प्रदीप पाैडेल र एमालेबाट ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया