NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

बहुविवाहको मुद्दा खेपेका मेहताको उम्मेदवारी खारेज

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज भएको छ । उनी सुनसरी क्षेत्र नं ४ को (२) का प्रदेश सभा उम्मेदवार थिए ।

मेहताले बहुविवाहको कसुरमा कैद सजाय पाइ सजाय भुक्तान गरेको तीन वर्ष पनि नपुगेकाले निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो ।

उनले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिम प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) मा भएको कानूनी व्यवस्था बमोजिम आफू अयोग्य नभएको भनी स्वघोषणा गरेका थिए।

उनको आफ्नै स्वघोषणाको प्रतिकुल हुने गरीे प्रदेश सभा सदस्यको उम्मेदवारी मनोनयन गरेको समेतका आधारमा उनको उम्मेदवारी बदर गरिएको आयोगले जनाएको छ ।

उनको निर्वाचन क्षेत्रमा मतपत्र छपाइ भएर पुगिसकेको छ । निर्वाचनका लागि अब तीन दिन मात्रै बाँकी भएको हुँदा समयअभावका कारण अर्को मतपत्र डिजाइन गरी पुर्याउन नसकिने आयोगले जनाएको छ । त्यसैले उनको चुनाव चिह्न साइकलमा कुनै मत नहाल्न आयोगले जानकारी दिएको छ । उक्त चिन्हमा मत परेमा मत स्वतः बदर हुनेछ ।