NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

फेक विज्ञप्ति बनाएर नुवाकोटमा रविका उम्मेदवारविरुद्ध अनर्गल प्रचार

काठमाडौं । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले एमाले उम्मेदवारलाई समर्थन गरेको भनेर सार्वजनिक गरिएको विज्ञप्ति फेक रहेको पुष्टि भएको छ । सो क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. प्रद्युम्न प्रधानले एमाले उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइएको व्यहोराको विज्ञप्ति शनिबार साँझ सार्वजनिक भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महतले आफ्नो उम्मेदवारी कायम रहँदारहँदै षड्यन्त्रमूलक ढंगले नक्कली हस्ताक्षर गरेर उम्मेदवारी फिर्ता लिएको व्यहोराको नक्कली विज्ञप्ति जारी गरिएको बताए ।

‘सामाजिक सञ्जालमा मेरो नक्कली हस्ताक्षर गरेर उम्मेदवारी फिर्ता लिएको व्यहोराको विज्ञप्ति प्रचारमा ल्याइएको छ,’ डा. महतले भने, ‘मेरो उम्मेदवारी कायम छ । मैले कसैलाई समर्थन गरेको छैन । यो मेरो पक्षमा देखिएको व्यापक जनमतबाट हतोत्साहित भएर गरिएको कुकर्म हो ।’

महतले आफूविरुद्ध भ्रम छरिएकाले कानूनी उपचारका लागि निर्वाचन आयोगमा उजुरी दिएको जानकारी दिए ।

गत कात्तिक २८ गतेको मिति राखेर जारी विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीका महतले आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवार बद्री मैनालीलाई समर्थन गरेको उल्लेख छ । साथै एमालेका सूर्यबाहक उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउन पनि अनुरोध गरिएको छ ।

डा. महतका अनुसार, उनको नामको फेक विज्ञप्ति सबैभन्दा पहिले बिन्दा ढुंगानाको फेसबुकबाट सार्वजनिक भएको थियो । ढुंगाना नुवाकोटको एमाले नेत्री हुन् ।

मतदानको मिति नजिकिँदै जाँदा सामाजिक सञ्जालमा फेक समाचार र सूचनाको बाढी लागेको छ । शनिबार बिहान मात्रै एमालेलाई फाइदा हुने गरी सत्तागठबन्धनविरुद्ध यसैगरी फेक सामग्री प्रचारमा ल्याइएको थियो । निर्वाचन आयोगका अनुसार, सामाजिक सञ्जाल प्रयोग गरेर एक पक्षले अर्कोविरुद्ध भ्रम छरेको व्यहोराको उजुरी परेका छन् ।