NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

राति ९ बजेबाटै मतगणना सुरु हुन्छ, २२ गतेभित्र अन्तिम परिणाम बुझाइसक्छौं : थपलिया

काठमाडौं । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपेटिका संकलन कार्यलगत्तै मतगणना सुरु गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं, तराईलगायत सुगम स्थानका जिल्लाहरूमा आज राति ९ बजेबाट मतगणना सुरु हुने जानकारी दिए ।

‘मतदान सम्पन्न भएपछि ७ बजेसम्म मतपेटिका संकलन गरी आजै राति ९ बजेबाट मतगणना सुरु हुनेछ,’ भक्तपुरबाट मतदान गरेपछि थपलियाले भने ।

हिमालीलगायत दुर्गम जिल्लाको मतगणना भने सोमबार बिहान ५ बजेबाट मात्र सुरु हुने भएको छ । ती स्थानको मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले भोलिबाट मतगणना सुरु गर्ने योजना बनाइएको थपलियाले बताए ।

प्रत्यक्षतर्फको नतिजा मंसिर ८ गतेभित्र सार्वजनिक भइसक्ने उनले जानकारी दिए । सम्पूर्ण निर्वाचन परिणाम मंसिर २२ भित्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने आयोगको तयारी छ । निर्वाचनको अन्तिम परिणाम आयोगले औपचारिक रूपमा राष्ट्रपतिलाई बुझाउनुपर्ने संवैधानिक प्रावधान छ ।

आज बिहान ७ बजेबाट सुरु निर्वाचनमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता छन् । यी मतदाताले आफ्नो मतमार्फत पाँच वर्षका लागि प्रदेश तथा प्रतिनिधिसभाका सांसद चयन गर्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष