NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

को हुन् कृष्णगोपाल श्रेष्ठ ?

काठमाडाैं । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक संघीय संसद्मा प्रवेश गर्दै छन् । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेलेका श्रेष्ठ यस पटक एमालेका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं ९ बाट विजयी भएका हुन् ।

उनी ११ हजार ९५६ मतसहित विजयी भएका छन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ६ हजार ९६१ मत प्राप्त गरेका छन् ।

यसअघि उनी विसं २०४८ मा काठमाडाैं निर्वाचन क्षेत्र नं ५, विसं २०५१ को मध्यावधिमा काठमाडाैं निर्वाचन क्षेत्र नं ७ तथा विसं २०७४ मा काठमाडौँ क्षेत्र नं ९ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

काठमाडाैं महानगरपालिका १४ बल्खु स्थायी ठेगाना रहेका श्रेष्ठको विसं २०१५ असोज १४ गते पिता हरिलाल श्रेष्ठ र माता हरिमाया श्रेष्ठका कोखबाट जन्म भएको हो ।

अर्थशास्त्रमा स्नाकोत्तर श्रेष्ठले विसं २०५९ देखि २०६० मा स्थानीय विकास राज्यमन्त्री तथा विसं २०७७ देखि २०७८ सम्म शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए । एमाले पार्टी कार्यालयको मुख्यसचिवका रुपमा समेत उनले जिम्मेवारी बहन गरिसकेका छन् ।

तत्कालीन नेकपा (माले) विद्यार्थी संगठनको क्याम्पस कमिटी अध्यक्षबाट राजनीतिमा प्रवेश गरेका श्रेष्ठ अनेरास्ववियूको त्रिवि कमिटी अध्यक्ष हुँदै विसं २०४७ मा अखिल नेपाल किसान संघको सचिव भए । विसं २०४९ मा राष्ट्रिय परिषद् सदस्य तथा विसं २०४९ देखि २०७५ सम्म पार्टी केन्द्रीय सदस्य रहनुभएका श्रेष्ठ हाल पोलिटब्यूरो सदस्य छन् । विद्यार्थी जीवनदेखिनै प्रगतिशील राजनीतिमा सक्रिय श्रेष्ठ पुष्पलाल स्मृति प्रतिष्ठान र मदन भण्डारी स्मृति प्रतिष्ठानसँग आबद्ध छन् । उनकी धर्मपत्नी बिना पनि राजनीतिमै छिन् ।

यसअघि उनी राज्यव्यवस्था तथा सुशासन समिति सदस्यकारुपमा थिए । विसं २०३४ देखि २०४७ सम्म पटक–पटक गरी दुई वर्ष भूमिगत र प्रहरी हिरासत जीवन बिताएका छन्  ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपालको जीत

ताजा अपडेट

नेपालवाच विशेष