मान्छेहरुको चेतनास्तरमा अझै सुधार आएको छैन, जनता नोट र मासुमा बिक्छन् : हिमेश पन्त

काठमाडाैं । कमेडियन हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । उक्त क्षेत्रमा मतगणनाको प्रारम्भिक चरणदेखि हिमेश तेस्रो स्थानमा छन् ।
सो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बनाइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार उनी पाण्डेभन्दा ९ हजार भन्दा बढी मतले पछाडि छन् । पाण्डेले १३ हजार ६०८ मत ल्याउँदा हिमेशले ४ हजार ४४३ मत ल्याएका छन् । दोस्रोमा रहेका भूमिप्रसाद त्रिपाठीले १२ हजार ६२६ मत पाएका छन् । अहिलेसम्मको मतपरिणाम हेर्दा हिमेशले जित्ने सम्भावना निकै नै न्यून छ ।
अहिले कति ठाउँमा मतगणना जारी भइरहेको छ र कति ठाउँमा हारजीतसहितको मतपरिणाम आउँने क्रम जारी छ । यसैबीचमा हिमेशले सामाजिक सञ्जालमा एक स्टाटस सार्वजनिक गरेका छन् । धाधिङ क्षेत्र नं १ मा हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भएतापनि पहाड,गाउ र लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार नभएको उनले टिप्पणी गरेका छन् । साथै उनले त्यहाँका जनता नोट र भोटमा बिगेको भनेर आक्रोस पोखेका छन् । उनले लेखेका छन्, ‘हामी प्रचार-प्रसारमा हिड्दै गर्दा ‘जस्ले दिन्छ नोट, उसैलाई भोट।’ भनेको पनि धेरै नै सुन्न पाइयो। कतिले त ‘भोट चाहिए रक्सी खुवाउनुस्।’ सम्म भन्न भ्याए।’
उनले सामाजिक सञ्जालमार्फत धादिङ कुनै पनि हालतमा काठमाडौजस्तो हुँदै हैनभनेर पनि लेखेका छन् । साथै उनले अहिले आफूले ल्याएको भोट मासुभातको बदलामा र पैसाले किनेको भोट नभएको लेखेका छन् ।
उनले लेखेका छन् ‘विना-संगठन, विना गठबन्धन, विना पैसा, विना अनुभव‘ मुख्यमन्त्री राजेन्द्र पाण्डेसॅग भिड्ने दम कुनै युवामा थियो ?‘। सिन्डिकेट तोडिएको छ, यो एउटा सुरुवात हो। जग हाल्ने कामको थालनी भएको छ। हाम्रो सम्मानित मत आउदै गर्दा जनता झुक्याएर सत्तामा पुग्नेहरुको मनभित्र ढ्याङ्रो बजेको छ। यहि नै हाम्रो ठुलो उपलब्धी हो।’
प्रतिक्रिया