जितपछि चित्रबहादुरले भने– गठबन्धन सफल भयो
काठमाडौं । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले गठबन्धन सफल हुँदै गएकाले निर्वाचनपछि समेत गठबन्धन कायम रहने बताएका छन् ।
बागलुङ निर्वाचन क्षेत्र नं १ मा २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी केसीले आज बागलुङ बजारमा निकालेको विजयी र्यालीपश्चात् आयोजित कोणसभामा बागलुङमा गठबन्धन सफल भएको बताए ।
उनले बागलुङ जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा गठबन्धनका साझा उम्मेदवार विजयी भएकाले गठबन्धन शतप्रतिशत सफल भएको बताउँदै प्रतिगमनका विरुद्धमा आफ्नो लडाइँ अगाडि बढेको बताए ।
“बागलुङमा प्रतिगमन परास्त भएको छ, गठबन्धन सफल भयो, राष्ट्रिय जनमोर्चाले मिल्दो एजेण्डामा मात्रै गठबन्धनमा सहभागी भएको छ, नमिल्दा एजेण्डा हाम्रो पार्टीका मात्रै हुन”, अध्यक्ष केसीले भने, “गठबन्धन चुनावपछि समेत कायम हुन्छ, जनमोर्चाले सरकारमा जाने नजाने विषयमा केही निर्णय गरेको छैन, बागलुङको समग्र विकासमा सक्दो भूमिका खेल्ने छु, मतदातालाई धन्यवाद ।”
सादगी र स्वच्छ छविका नेताको रुपमा परिचित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले चौथो पटकलाई संसद् यात्रा तय गरेका छन् । पन्ध्र वर्षपछि चुनावी मैदानमा उत्रिएका ८२ वर्षीय केसी चौथोपटक संसद् भवन छिर्दै छन् । विसं २०५४ र २०६४ मा बागलुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जितेका केसी २०७० सालमा समानुपातिकबाट संसद् छिरेका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया