NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

सीपमूलक तालिमले ल्याएको परिवर्तन

धरान । झापाको शिवसतासीधाम–८ झिलभिलेका देविप्रसाद लावती सन् १९९९ मा मलेसिया पुगेर तीन वर्ष श्रम गरे । घर रुग्ने उनले काम पाए । तर हातमा कुनै सीप नभएका लावती पैसा कमाउन नसकेपछि घर फर्के ।

फेरि सन् २००७ मा कतार गए । त्यहाँ सुरक्षा गाडको काम थियो, भनेबमोजिको तलब नपाएपछि एक वर्षमै घर फर्के । फेरि सन् २०१० मा संयुक्त अरब इमिरेट्स गए । त्यहाँ भने १० वर्ष वेल्डिङको काम गरे । दुई वर्षदेखि नेपालमा उनी त्यतिकै बसिरहेका थिए । गोठमा दुई/चार गाई भने उनले पाल्दै आएका थिए ।

लामो समय विदेश बसेर पनि केही गर्न नसकेका लावती कृषि पेसामा लागेका थिए । पेसाप्रतिको प्राविधिक ज्ञान अभावमा उनी भौतारिरहेका थिए । पशुपालनमा चाख  राख्ने लावतीले पशु स्वास्थ्यसम्बन्धी तालिम पाएपछि पशु पालन व्यवसाय दिगो हुने आशा गरेका छन् ।

लावती जस्तै झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्क क्षेत्रका अनिश राई पनि तीन वर्ष कुवेत बसेर एक वर्षअघि फर्किए । उनले विदेश बस्दा भान्सामा काम पाए । एक वर्षअघि नेपाल आएर उनी त्यतिकै भौतारी रहेको थियो । विर्तामोडमा ‘हाउस किपिङ’को तालिमका लागि अन्तर्वार्ताबाट पास भई उनी तालिममा सहभागी भए ।

तालिम प्राप्त भएपछि उनले अब होटल क्षेत्रमा स्वदेशमै केही गरेर बस्ने अठोट लिएका छन् । झापा कमल गाउँपालिका–४ की इन्दिरा कार्की (गुरुङ) तीन वर्ष कुवेतमा क्लिनरको काम गरेर फर्केका छन् । उनी दुई वर्षअघि नेपाल फर्केर त्यतिकै बसिरहेका थिए । घर नजिकै पशु स्वास्थ्य सहायकको तालिम पाएपछि उनी पनि प्रक्रिया पूरा गरेर तालिममा सहभागी भए ।

तालिम लिएपछि उनमा आफ्नै देशमा केही गर्ने मनोबल बढेको छ ।  लावती, राई र कार्कीजस्तै झापा, मोरङ र सुनसरीका विदेश बसेर फर्किएका तीन सय युवाले विभिन्न प्रकारका सीपमूलक तालिम लिने अवसर पाएका छन् । घर नजिकै निःशुल्क पाएको तालिमले उनीहरुलाई नेपालमै केही गर्ने आत्मबल बढेको उनीहरु बताउछन् ।

वैदेशिक रोजगारीमा गएर फर्किएकालाई स्वदेशमै टिकाउने उद्देश्यले ‘वेलकम होम’ परियोजनाले छोटो अवधिको सीपमूलक तालिम दिएपछि यहाँका युवाले सीपयुक्त हुने मौका पाएका छन् । युरोपेली संघको आर्थिक सहयोग, ब्रिटिस काउन्सिलद्वारा व्यवस्थित दक्षता–टिभिइटि व्यावहारिक साझेदारीअन्तर्गत अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा कार्यान्वयन गरिएको यो परियोजनाले प्रदेश नं १ का मोरङ, सुनसरी र झापामा तीन सय जनालाई तालिम प्रदान गरेको हो । यो परियोजना सञ्चालन गर्न नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले मुख्य भूमिका खेलेको छ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै रहेर केही गर्न प्रोत्साहन गर्न दातृ निकायसँग सहकार्य गरेर एक सय ८० घण्टाको तालिम सञ्चालन गरिएको छ ।

झापाको कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, शिवसतासी नगरपालिका, मेची नगरपालिका, विर्तामोड नगरपालिका, मोरङको केराबारी गाउँपालिका, लेटाङ नगरपालिका र सुन्दरहरैचा नगरपालिका तथा सुनसरीको इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र इनरुवा नगरपालिकामा तालिम आयोजना गरिएको थियो ।

विदेशबाट फर्किएका युवालाई तालिममा सहभागी गराउन पौरखी नेपाल र ओरेक नेपालले सहयोग गरेको थियो । छोटो अवधिका प्लम्बर, होम स्टे, साना होटल व्यवस्थापन, हाउस पेन्टर, बिल्डिङ इलेक्ट्रिसियन, हाउसकिपिङ, पशु स्वास्थ्य सहायक र बेमौसमी तरकारी खेतीलगायतका सीपमूलुक तालिम सञ्चालन गरिएको तालिमका व्यवस्थापक गिरीराज घिमिरेले बताए ।

परियोजनाअन्तर्गत विदेशबाट फर्किएकाका लागि रोजगारी सिर्जना, क्षमता अभिवृद्धि, विदेशमा प्राप्त गरेको ज्ञान–सीपलाई स्वदेशमै प्रयोग गर्ने अवस्था बनाउने लगायतका क्रियाकलाप गरिएको जनाइएको छ ।

श्रम बजारमा भोगेका समस्यालाई पहिल्याउने र समाधान गर्ने कार्ययोजनाका साथ यो तालिम आयोजना गरिएको थियो । नेपालमा विदेशबाट फर्किएर पुनः विदेश नै जानुपर्ने अवस्था रहेको छ । आवश्यक तालिम दिएर रोजगारीमा फर्काउने र समाजमा स्थापित गर्न यस्तो तालिम आयोजना गरिएको नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घका प्रदेश नं १ का अध्यक्ष कृष्ण शाहले बताए ।

विदेशबाट फर्किंदा घरपरिवार र सम्पत्ति दुवै नरहने कतिपयको टिठलाग्दो अवस्था रहेको अवस्था पाइएको तथा तालिमले आत्मनिर्भर हुन सहयोग गर्ने अन्तर्राष्ट्रिय श्रम संगठनकी परामर्शदाता सवाना भट्टले बताए । ‘अझ विदेश गएरका र फर्किएका महिला बढी समस्यामा छन्,’ उनले भने, ‘उनीहरुलाई सम्मानका साथ समाजमा स्थापित गर्ने काम यस तालिमले गर्ने छ ।’

उनीहरुलाई आवश्यक तालिम, परामर्श दिने र स्वदेशमै टिकाउने सोचका साथ परियोजना अघि बढाइएको आयोजकले जनाएको छ । त्यसबाहेक परियोजनाले वैदेशिक रोजगारबाट फर्किएकालाई रोजगारीमा आबद्ध गराई, उद्यमशीलताको प्रवद्र्धन गरी सामाजिकिकरण गर्ने जनाइएको छ । परियोजनाले मुख्यतः कृषि, पर्यटन र निर्माण क्षेत्रमा काम गर्ने वेलकम होमका नेपाल संयोजक ताराप्रसाद बखरियाले जानकारी दिए ।