NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

प्रतिनिसभाको समीकरण पूरा : कुन दलले कति सिट पाए ?

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ समीकरण पूरा भएको छ । प्रतिनिधिसभामा एक सय ६५ र प्रदेशसभामा ३३० निर्वाचन क्षेत्रको अन्तिम सोमबार अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । सोमबार बिहान दोलखाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै प्रत्यक्षतर्फको समिकरण पूरा भएको हो ।

समानुपातिकतर्फ बाजुरा र दोलखाको अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । अर्यालका अनुसार समानुपातिकमा करिब डेढ लाख मत गणना हुन बाँकी छ । खसेको कुल मतमध्ये करिब ४.५ प्रतिशत मत बदर भएको उनले बताए । अन्तिम मतपरिणाम आएलगत्तै दलहरूले पाउने सिट संख्या निर्धारण गरी मंसिर २६ भित्र प्रतिवेदन राष्ट्रिपतिलाई बुझाउने आयोगको तयारी छ ।

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस ५७ सिटसहित पहिलो दल भएको छ । एमालेले ४४ सिट जितेर दोस्रो स्थानमा छ । माओवादी केन्द्र १८ सिटसहित तेस्रो स्थानमा छ भने चौंथोमा एमालेको विद्रोही शक्ति एकीकृत समाजवादीले १० सिट जितेको छ ।
यसैगरी रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपाले समान सात/सात सिट जितेका छन् । लोसपाले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चाले एक, नेमकिपाले एक, जनमत पार्टीले एक र स्वतन्त्रले पाँच सिट जितेका छन् ।

समानुपातिकतर्फ एमालेले सबैभन्दा लोकप्रिय मत ल्याएर पहिलो दल भएको छ । योपटक सातवटा पार्टीले राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ । अघिल्लो निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएको लोसपा योपटक तीन प्रतिशत थ्रेसहोल्ड मत पाउन असफल भएको छ । एमालेबाट चोइटेको दल नेकपा एसले राष्ट्रिय दलको मान्यता नपाउने लगभग निश्चित देखिएको छ । योपटक राप्रपासहित दुई नयाँ दल रास्वपा र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

आयोगको पछिल्लो मतपरिणाम अनुसार एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा एमालेले २७ लाख ८८ हजार ३५६ मत पाएको छ । कांग्रेसले २६ लाख ६० हजार २६० मत पाएको छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत पाएको छ । चौंथो स्थानमा रहेको रास्वपाले ११ लाख २४ हजार ५४३ मत पाएको छ । पाँच लाख ८६ हजार ६३८ मतसहित राप्रपा पाँचौं दल बन्न सफल भयो । छैटौं स्थानमा रहेको जसपाले चार लाख २० हजार ९४६ मत पाएको छ । सातौं स्थानमा रहेको जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत पाएको छ । मतको हिसाबले आठौं स्थानमा रहेको नेकपा एसले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । राष्ट्रिय दलको मान्यता पाउन उसलाई करिब २१ हजार मत अपुग हुने देखिन्छ । समानुपातिकमा ४७ राजनीतिक दलले भाग लिएको यो निर्वाचनमा ४० दलले पाएको मत खेर गएको छ ।

समानुपातिक तर्फको निर्वाचनको लागि सबैभन्दा पहिला राजनीतिक दलले पाएको मतको अन्तिम परिणाम आउनुपर्छ । अन्तिम परिणाम आएपछि कुल खसेको मतबाट समानुपातिकतर्फ आएको सदर मत निकालिन्छ ।

यसरी प्राप्त सदर मतलाई निर्वाचनमा सहभागी दलले पाएको मतलाई ‘डिमेरिट सिस्टम’मा राखिन्छ । प्राप्त सदर मतको ३ प्रतिशतको अंकलाई थ्रेसहोल्ड बनाइन्छ । अहिले प्रतिनिधि सभाको निर्वाचनमा ४७ वटा दलहरूले भाग लिएका छन् । तीमध्ये ३ प्रतिशत थ्रेसहोल्ड अंक प्राप्त गर्ने दल र प्राप्त नगर्ने दलहरू विभाजन गरिन्छ । यसरी विभाजन हुँदा तीन प्रतिशत मत प्राप्त नगर्ने दलहरू अंक बाँडफाँट प्रकृयाबाट बाहिरिन्छन् । तीन प्रतिशत मत प्राप्त नगर्ने दलहरूको मत कुल सदर मतबाट घटाइन्छ । कुल खसेको मतको जम्मा बदर मतसमेत घटाइन्छन् । बदर मत र थ्रेसहोल्ड सीमा नकटेको मत घटाएर बाँकी रहेको जम्मा मतलाई समानुपातिकको जम्मा सिट संख्याले भाग लगाएर मत विभाजन गरिन्छ ।

यस्तो सिट निकाल्ने प्रक्रिया
समानुपातिकतर्फ प्रतिनिधि सभामा समावेशी सहभागीता हुने गरी विभिन्न क्लस्टरमा विभाजन गरी ११० सिट निर्धारण गरिएको छ । अहिलेसम्मा सात राजनीतिक दलले तीन प्रतिशत थ्रेसहोल्ड पार गरेका छन् । समानुपातिक तर्फको विजयी सिट निकाल्न ‘सेन्ट लग’ विधि प्रयोग गरिन्छ यसको लागि १ देखि बढेको ११० वटा बिजोर भाजक निकालिन्छ । यी सबै बिजोर भाजकले समानुपातिक तर्फको निर्वाचन प्रक्रियामा योग्य (थ्रेस होल्ड काटेका) दलले पाएको मतलाई भाज्य मान्दै भागफल निस्कँदै जान्छ । यसरी निस्केको भागफलको ठूलो अंक निर्वाचित सिट हो । १ देखि ११० वटा बिजोर भाजकले दलले पाएको सबै मतपरिणामलाई भाग गर्दै लगिन्छ । प्रत्येक बिजोर अंकले भाग गर्दा त्यो महलमा प्राप्त भागफलमध्ये जुन दलको भागफल बढी हुन्छ त्यो निर्वाचित सिट हुन आउँछ । यही हिसाबले पहिलो ठूलो भागफल दोस्रो ठूलो भागफल गर्दै क्रमसः ११० वटा ठूलो भागफल निस्कँदै जान्छ । जुन दलले जति मत प्राप्त गरेका छन्, त्यहि अनुसार सिट संख्या निर्धारण हुन्छ ।

यस्तो छ दलले पाउने अनुमानित सिट संख्या
एक करोड ७९ लाख ८८ हजार ५७० मतदातामध्ये आयोगका अनुसार एक करोड ९ लाख ७३ हजार २७ अर्थात् ६१ प्रतशत मत खसेको छ । तीमध्ये चार लाख ९३ हजार ७८५ मत बदर भएको छ । एक करोड चार लाख ७९ हजार २४२ मत सदर भएको छ । यहाँ तीन प्रतिशत थ्रेसहोल्ड सीमा पार गरेको दलले जम्मा ९१ लाख ३७ हाजार ३७६ मत प्राप्त गरेका छन् । थ्रेसहोल्ड कटाएको जम्मा मतलाई ११० सिट संख्याले भाग गर्दा एक सांसद बराबर करिब ८३ हजार ६७ मत ल्याउनु पर्नेछ । यसरी दलहरूले पाएको जम्मा मतसंख्यालाई प्रति सांसदले पाउने मतसंख्याले भाग गर्दा दलले पाउने जम्मा निर्वाचित सांसद निर्धारण हुनेछ ।

सबैभन्दा ठूलो दल रहेको एमालेले २७ लाख ८८ हजार ३५६ मत पाएको छ । एमालेको कुल मतसंख्यालाई प्रति सांसदले पाउने मतसंख्याले भाग गर्दा उसले करिब ३४ सांसद पाउने देखिन्छ । यसैगरी कांग्रेसले करिब ३२ सिट पाउने देखिन्छ । तेस्रो स्थानमा रहेका माओवादीले १४ सांसद निर्वाचित हुनेछन् । योपटक अप्रत्यातिस नतिजा निकालेको रवि नेतृत्वको रास्वपाले १४ सांसद पाउने देखिन्छ । राप्रपाले सात, जसपाले पाँच र जनमत पार्टीले ४ सांसद पाउने देखिन्छ ।

प्रत्यक्ष र समानुपातिकसमेत सिट संख्या जोड्दा कांग्रेसको ८९, एमालेको ७८, माओवादी ३२, रास्वपाको २१, राप्रपाको १४, जसपाको १२ र जनमत पार्टीले ५ सांसद पाउने देखिन्छ ।