NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

चरन अभावले मह उत्पादन घट्यो

म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रहरुमा चिउरी, पैयुँ जस्ता दुदिलो प्रजातिका रूखहरु नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै जादा मौरी चरन क्षेत्रको अभाव भएको छ । मौरीलाई चरन क्षेत्रको अभावले मह उत्पादनमा कमी आएको कृषकहरुले बताएका छन् ।

विगत वर्षहरुको तुलनामा यस वर्ष अत्यधिक रुपमा वर्षाले बाढी, पहिरो तथा भूक्षयले क्षति पु-याउनाका साथै कुकाठको नाममा सामुदायिक वनहरुले चिउरी, पैयुँ र दुदिलाका बोटहरु काटेकाले पुष्परसका बोटको अभावले मह उत्पादनमा कमी आएको उनीहरुको भनाइ छ ।

जिल्लाका बेनी नगरपालिकालगायत मङ्गला, धवलागिरि, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विम, मराङ, ताकम, ज्यामरुककोट, रत्नेचौर, सिम, राखु, पात्लेखेत, अर्मन, बाबियाचौरलगायत गाउँमा व्यावसायिक रुपमा मौरीपालन गरेका कृषकले विगतका वर्षको तुलनामा यस वर्ष पुष्परसमा कमी आएको र मह उत्पादन कमी भएको बताएका छन् ।

मालिका गाउँपालिका–२ का मौरीपालक कृषक टेकनाथ जैसीले तोरी, वुकी, पैयुँ, दुदिलोलगायत फूल तथा वनस्पतिमा यस वर्ष रसको मात्रा घटेको बताए । जैसीले विगतका वर्षहरुभन्दा यो वर्ष अत्यधिक वर्षा भएको र फूल फुल्ने समयमा बोटहरु ढालिएकाले यो वर्ष विगतको तुलनामा आधा मात्र मह उत्पादन भएको बताए । ‘मौरी चरेर आइसकेपछि पनि पोटिला नदेखिनु र मह उत्पादनका लागि उपयुक्त मानिएको महिनामा पनि कम मह उत्पादन हुनुका कारण पुष्परसमा कमी आउनु नै हो,’ जैसीले भने ।

मङ्गला गाउँपालिकाका कृषि प्राविधक जगत बानियाँले  अत्यधिक वर्षा र त्यसपछि सुक्खा हावा चलेका कारण पुष्परसमा कमी आएकाले यस्तो समस्या उत्पन्न भएको बताए । मौरीको गोलाको सङ्ख्या अत्यधिक रुपमा बढिरहेको छ । कृषकले भने चरन क्षेत्रमा ध्यान नदिएको र बढ्दो रासायनिक मलको प्रयोगका कारण परागसेचन प्रक्रियामा प्रभाव परेकाले फलफूलजन्य वनस्पतिमा रसको मात्रा कमी आउँदा मह उत्पादन कम भएको कृषि प्राविधिक बानियाँले बताए ।

कृषि ज्ञान केन्द्र म्याग्दीले मौरीपालक कृषकले मौरीको गोलासँगै चरन क्षेत्रको विस्तारमा ध्यान दिन कृषकलाई सल्लाह दिँदै घार वरिपरि बाँझो जग्गा नराख्न र विशेषगरी पुष्पजन्य बोटबिरुवा लगाउन अनुरोध गरेको छ ।

जिल्लामा मौरीपालक कृषकहरुको सङ्ख्या बढ्दै गइरहेको छ । जिल्लाका छ वटा स्थानीय तहका दुई सयभन्दा बढी कृषक व्यावसायिक मौरीपालनमा लागेका स्थानीय तहका कृषि शाखाहरुले जनाएका छन् ।