NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अब के गर्लान् माधव नेपाल ?

काठमाडौं । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरोधमा सँगै सडकमा आएका पुष्पकमल दाहाल र माधवकुमार नेपालको जोडी नयाँ सत्ता समीकरणपछि छुटेको छ । दाहाललाई प्रधानमन्त्री बनाउने गरी एमाले र माओवादीसहित ७ दलबीच आइतबार नयाँ सहमति भएको छ, जसमा नेपाल नेतृत्वको एकीकृत समाजवादी छैन ।

तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षको समयदेखि नै दाहाल र नेपाल एकअर्काका पूरकका रूपमा रहँदै आएका थिए । दाहालले एमाले अध्यक्ष ओली निवास बालकोट पुगेर नयाँ सत्ता समीकरणमा सहमति गर्दैगर्दा नेपाल भने तीनकुनेस्थित केन्द्रीय कार्यालयमा सचिवालय सदस्यमाझ पछिल्ला घटनाक्रमको समीक्षा गरिरहेका थिए । सचिवालय बैठकले तत्कालका लागि ‘पर्ख र हेर’ को रणनीति लिएको छ ।

सचिवालय बैठकले दाहाल नेतृत्वको सरकारमा नजाने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार अहिले पार्टीले ‘पर्ख र हेर’ को नीति लिनेछ । ‘बैठकमा आकस्मिक रूपमा विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल भयो र परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय भएको छ,’ खतिवडाले भने, ‘हाम्रो मोटिभचाहिँ अहिले यो सरकारमा सहभागी नहुने हो । यो सरकारमा बसेर काम हुँदैन ।’

अध्यक्ष नेपालको जोड शेरबहादुर देउवा नेतृत्वकै सत्तारूढ गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा थियो । नेपालले त्यही प्रस्ताव दाहालसँग पनि राखेका थिए । शनिबार कोटेश्वरमा भएको बैठकमा नेपालले दाहालसँग कार्यकालको दोस्रो चरणमा प्रधानमन्त्री लिएर भए पनि गठबन्धन कायम राख्नुपर्नेमा जोड दिएका थिए । देउवा र आफूबीच पहिले प्रधानमन्त्री लिने भनेर भएको सहमतिबारे जान्दाजान्दै पनि नेपालले राखेको धारणाप्रति दाहाल असन्तुष्ट थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।