NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

कोरोना भाइरस महामारीको अर्को संकेत : के भन्छन् विज्ञ ?

काठमाडौं । कोरोना भाइरसको त्रास हटन नपाउँदै यसको सबभेरिएन्ट फैलिने त्रास बढेको छ । अहिले छिमेकी मुलुक चीन र भारतमा कोरोनाको नयाँ सबभेरियन्ट बि एफ.७ देखिएसँगै अन्य मुलकमा पनि थप सतर्कता अपनाइन थालिएको छ ।

पछिल्लो समय चीनमा कोरोना संक्रमितको दर बढ्दो क्रममा हुँदा भारतले पनि थप सर्तकता अपनाएको छ । नेपालमा भने अहिले कोरोना संक्रमण मत्थर छ । पछिल्लो केही महिनायता संक्रमण दर घट्दै गइरहेको समयमा दुई छिमेकी मुलुकमा कोरोना दर बढेसँगै नेपालमा पनि यसको जोखिमबारे चर्चा हुन थालेको हो ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसलाई लिएर चिन्तित नहुन आग्रह गरेको छ । मन्त्रालयले नेपालमा हालसम्म बि एफ.७ नदेखिएको तर सतर्क रहन भनेको छ ।

मन्त्रालयका प्रवक्ता सञ्जय कुमार ठाकुर संक्रमितको संख्यामा वृद्धि नभएको बताउँछन् । उनले दैनिक एक हजार जनामा परीक्षण गर्दा एक दुई जनामा मात्र संक्रमण देखिएको बताए । तर खुला सिमानाका कारण नेपालमा यसको जोखिम भने रहेको मन्त्रालयको निचोड छ ।

खुला सिमानाको यही जोखिमकै कारण स्वास्थ्य, अर्थ तथा गृह मन्त्रालयले पनि बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गरी स्वास्थ्य सर्तकता अपनाउन विज्ञप्तिमार्फत सुसूचित गराउँदै आइरहेका छ । डिसिसिएमसी काठमाडौंले पनि कोरोना नियन्त्रणका लागि छलफल सुरु गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम कायम रहेको भन्दै सबैलाई बुस्टर खोप लगाउनसमेत आग्रह गर्दै आइरहेको छ । मन्त्रालयले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नाकामा कडाई सुरु गरेको छ । भारततर्फका १४ नाका, चीनतर्फका दुई र दुई अन्तराष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई थप सक्रिय बनाएको प्रवक्ता ठाकुर बताउँछन् ।

के भन्छन् विज्ञ ?

सरूवा रोग विशेषज्ञ डा.शेर बहादुर पुन नेपालमा पनि नयाँ सबभेरियन्ट आउने सक्ने संकेत भएको बताउँछन् । भारतमा देखिएरहेकाले यो नेपालमा नआउला भन्न नसकिने उनको तर्क छ । ‘विशेष गरेर भारतमा पनि देखिरहेको छ, भारतमा देखिएकाले नेपालमा देखिने सम्भावना बढेर जान्छ,’ उनले भने, ‘नेपालमा आगामी दिनमा नदेखिएला भन्न सकिन्न ।’

डा.पुन ओमिक्रोनको उपप्रजाति बि एफ.७ को विकसित रूप यसअघि अन्य मुलुकमा देखा परिसकेपछि चीनमा भने भर्खर देखिएको बताउँछन् । उनका अनुसार ओमिक्रोनबाट ‘म्युटेट’ भएको यो सब भेरियन्ट युरोपेली मुलुकमा दुई÷चार महिना पहिला पनि देखा परिसकेको हो । तर, त्यहाँ चीनकोजस्तो अवस्था भएन ।

जसकारण यो सब भेरियन्ट कति घातक छ भन्ने कुरा अहिले नै आँकलन गर्न नसकिने उनको भनाइ छ । ‘हाम्रो लागि भारत राम्रो नजिर हो । यदि भारतमा कोरोना जटिल हुँदै गएमा नेपालमा पनि हुन्छ सक्छ,’ उनले भने ।

कोरोना भाइरसविरूको खोप नलगाउनेहरू भने उच्च जोखिममा रहेको उनले बताए । ‘ओमिक्रोनलाई डेल्टा र त्यो भन्दा अगाडिको भेरियन्ट भन्दा कम जोखिम भएको र मृत्यु गराउने क्षमता पनि कम रहेको मानिन्थ्यो,’ उनले भने, ‘तर त्यो भएता पनि नेपालमा मृत्यु हुनेमा खोप नलगाएका जेष्ठ नागरिक, दीर्घ रोगी तथा पूर्ण खोप नलगाएका नै थिए ।’