NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कलाकार अरनिकोको घरलाई सङ्ग्रहालय बनाइने

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले राष्ट्रिय विभूति कलाकार अरनिकोको घरलाई सङ्ग्रहालय बनाउने प्रतिबद्धता गरेका छन् ।

नेपाल व्यावसायिक कलाकार सङ्घको २८औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको उपलक्ष्य पारेर ललितपुर महानगरपालिका–६ मा रहेको उनको घरलाई सङ्ग्रहालय बनाउने बताएका हुन् ।

तेह्रौँ शताब्दीका प्रसिद्ध कलाकार अरनिको नेपालबाट १७ वर्षको उमेरमा ९९ जना कलाकारको टोलीको नेतृत्व गरी चीनमा गएर त्यहाँ नेपाली कला र कौशलको प्रचारप्रसार गरेको भन्दै महर्जनले अरनिकोको जन्मस्थल ललितपुर जिल्ला भएको तथ्य औँल्याए । “उहाँ बसेको घर जेजस्तो अवस्थामा छ त्यसको संरक्षण र सम्वद्र्धन गरी त्यसलाई सङ्ग्रहालयका रुपमा विकास गर्न प्रतिबद्ध छु”, उनले भने ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकूलपतिद्वय किरण मानन्धर र कान्छाकुमार कर्माचार्यको विशिष्ट आतिथ्यमा महानगरपालिकाका प्रमुख महर्जनको हातबाट १६ जनाभन्दा बढी कलाकारलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

सो अवसरमा महर्जनले शताब्दी पुरुष, संस्कृतविद् एवं अरनिकोविद् सत्यमोहन जोशीको अनुशरण गर्दै महानगरले धेरै काम गरेको बताए । उनले सत्यमोहन जोशीले १९७१ सालमा अरनिकोबारेमा पुस्तक निकालेपछि मात्रै नेपालमा अरनिकोलाई राष्ट्रिय विभूतिको स्थान दिइएको उल्लेख गरेका थिए ।

साथै उनले डा के के पाण्डेको पुस्तकमा व्याख्या गरेअनुसार ललितपुर महानगरपालिका वडा नं ६ मा अरनिको घर छ भन्ने उल्लेख भएको भन्दैसो घर सङ्ग्रहालयका रुपमा राख्नका लागि महानगरपालिकाले सम्बन्धित वडाध्यक्षसँग सहकार्य गर्दै अगाडि बढिराखेको जानकारी गराएका थिए ।

सङ्घद्वारा आयोजित पुरस्कार वितरण तथा अग्रज कलाकार सम्मान कार्यक्रममा विभिन्न कलाकार÷साहित्यकारलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद वैद्य र कला व्यवसायी तथा कलाकार रामकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो भने विभिन्न विधाका पुरस्कार कलाकारलाई दिइएको थियो ।

२५ हजार राशिको सुरेन्द्र प्रधान दीर्घ कला–साधक पुरस्कार–२०७९ कृष्ण मानन्धर र २० हजार राशिको क्रोधकला शिरोमणि पुरस्कार–२०७९ जुलुमलाल चित्रकारलाई दिइएको थियो । १५ हजार राशिको मुल्मी ग्राफिक डिजाइन एवार्ड–२०७९ कृष्ण मानन्धरलाई दिइएको थियो भने १० हजार राशिका हेम गङ्गा युवा कला प्रतिभा पुरस्कार २०७९ नरेन्द्र मल्ल र कान्ति घिमिरे न्यौपानेलाई प्रदान गरिएको थियो ।

साथै १० हजार राशिका अमात्य कला पुरस्कार २०७९, निर्वाण कला सम्मान २०७९, क्यान सिग्देल आर्ट पुरस्कार २०७९, ज्ञानी शाह क्यान अमूर्त कला सम्मान २०७९ र ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कार २०७९ क्रमशः तीर्थ निरौला, सुरेश प्रतीक, विजयकुमार कार्की ढली, गोविन्दलाल सिंह डङ्गोल र गङ्गाधर सारुलाई प्रदान गरिएको थियो ।

पाँच हजार राशिका पुरस्कार क्यान आइडियल कला पुरस्कार २०७९, बालकृष्ण स्मृति कला पुरस्कार २०७९, नारायणदेवी स्मृति पुरस्कार २०७९, राजेश मानन्धर कार्टुन अवार्ड २०७९ र ऋचा मैनाली रिमाल स्मृति पुरस्कार २०७९ क्रमशः चन्द्रकुमार ताम्राकार, नारायण लामिछाने, मुकेश मल्ल, रवि मिश्र र सिरपा श्रेष्ठलाई प्रदान गरिएको थियो ।

३० हजार राशिको क्यान सत्यमोहन अरनिको राष्ट्रिय पुरस्कार २०७९ वासुदेव अधिकारीलाई प्रदान गरिएको थियो ।