NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

यी हुन् विदेशमा धेरै निर्यात हुने पाँच वस्तु

काठमाडौं । नेपालमा आयातको तुलनामा निर्यात निकै कम मात्रामा हुने गरेको छ । पछिल्लो समय सरकारले आयातमा गरिएको कडाईका कारण कुल व्यापारमा निर्यातको हिस्सा घटेको छ । साथै आयातको हिस्सामासमेत गिरावट आएको छ ।

विभागका अनुसार साउनदेखि मंसिरसम्ममा ६ खर्ब ६४ अर्ब ७४ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको हो । जुन गतवर्षको सोही अवधिको तुलनामा २०.७१ प्रतिशतले कम आयात भएको छ । गत आवको सोही अवधिमा ८ खर्ब ३८ अर्ब ४० करोड रूपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

तथ्याङ्कले आयात परिमाणको तुलनामा निर्यात न्यून भएको देखाएको छ । खर्बौं रुपैयाँको वस्तु आयात गर्ने नेपालले निर्यात भने अर्बौंमा गर्दै आएको छ । चालु आवको मंसिरसम्ममा वस्तु निर्यात भने ६७ अर्ब ३० करोडको मात्रै भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३४.६१ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा १ खर्ब २ अर्ब ९२ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

विदेशमा बढी निकासी हुने पाँच वस्तु

नेपालमा अर्बौं रुपैयाँ निर्यात हुने वस्तुहरू निकै कम छन् । नेपालबाट निर्यात हुने वस्तुहरूमा पनि प्रशोधित बस्तुहरूको निकासी बढी छन् । यसका साथै नेपालबाट निर्यात हुने वस्तुहरूको शीर्षस्थानमा परिवर्तन भइरहेको पाइन्छ । केही वर्षअघि नेपालबाट निर्यात हुने वस्तुमा अलैँची पहिलो स्थानमा पर्दै आएको थियो ।

त्यसभन्दा अघिका वर्षहरूमा कार्पेट, तयारी पोशाक सबैभन्दा धेरै निर्यात हुन्थ्यो । पछिल्ला २/४ वर्षको अन्तरालमा निर्यात हुने वस्तुहरू परिवर्तन भइरहेको पाइएको छ । पछिल्ला वर्षहरूमा नेपालबाट प्रशोधित पाम तेल बढी निर्यात हुन थालेका छन् ।

पाम तेल

पछिल्ला आर्थिक वर्षका तथ्यांक अनुसार नेपालबाट सबैभन्दा धेरै पाम तेल विदेशमा निर्यात भएको छ । चालु आर्थिक वर्ष ०७९/८० को मंसिरसम्मको तथ्यांक अनुसार नेपालबाट सबैभन्दा धेरै पाम तेल निर्यात भएको हो । भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट सो अवधिमा १० अर्ब ८७ करोडभन्दा बढी रुपैयाँको पाम तेल निर्यात भएको हो ।

आव ०७४/७५ मापाम तेल निर्यात भएको तथ्यांकमा देखिएको छैन । तर उक्त अवधिमा भारतले पाम तेलमा लगाएको प्रतिबन्धको काराण निर्यात भएको थिएन । आव ०७५/७६ मा नेपालबाट १० अर्ब ३३ करोडको पाम तेल विदेशमा निकासी भएको छ ।

आव ०७६/७७मा १८ अर्ब ३४ करोडको पाम तेल निर्यात भएको विभागको तथ्यांक छ । जुन अघिल्लो वर्षको तुलनामा ७७.५४ प्रतिशतले बढी हो । आव ०७७/७८ मा ९ लाख ८७ हजार र ०७८/७९ मा ४१ अर्ब ६ करोड रुपैयाँ पाम तेल निर्यात भएको छ ।

भटमास तेल

तथ्यांकअनुसार पाम तेलपछि विदेशमा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल रहेको छ । चालु आवको मंसिरसम्ममा मात्रै नेपालबाट कुल ७ अर्ब ७ करोड रुपैयाँ बराबरको भटमास तेल विदेशीएको छ ।

नेपालबाट हरेक आर्थिक वर्ष भटमासको तेल निर्यात बढ्दै गएको पाइएको छ । आव ०७४/७५ मा १६ करोडको कच्चा भटमास तेल निर्यात भएकोमा आव ०७५÷७६ मा बढेर २ अर्ब ५७ करोड रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको विभागको तथ्यांक छ ।

आव ०७६/७७ मा भटमास तेल निर्यातको तथ्यांक झन् फराकिलो भएको देखिन्छ । उक्तआर्थिक वर्षमा १२ अर्ब ७१ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ । त्यसैगरी आव ०७७/७८ मा ५३ अर्ब ६५ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ भने ०७८/७९ मा ४८ अर्ब १२ करोड रुपैयाँ बराबरको भटमास तेल निर्यात गरिएको विभागले जनाएको छ ।

र्यान (ऊनको धागो)

पछिल्लो तथ्यांकअनुसार नेपालबाट विदेश निर्यात हुने वस्तुमध्ये तेस्रो नम्बरमा ऊनको धागो देखिएको छ । चालु आवको ५ महिनाको अवधिमा नेपालबाट ४ अर्ब ९७ करोड रुपैयाँको ऊनको धागो निर्यात भएको छ ।

तथ्यांकअनुसार हरेक आर्थिक वर्षमा नेपालबाट धागो निर्यातमा तलमाथि भएको पाइन्छ । आर्थिक वर्ष ०७४/७५ मा नेपालमा ७८ अर्ब ४८ करोड रुपैयाँको धागो निर्यात भएको थियो । ०७५/७६ मा उक्त निर्यात घटेर ९ अर्ब ९६ करोडको मात्रै भयो । आव ०७६/७७माधागो निर्यात झन् घटेको छ । सो आर्थिक वर्षमा ७ अर्ब ५४ करोडको निर्यात भएको थियो ।

०७७/७८ माआएर निर्यात केही बढेको छ । जुन आर्थिक वर्षमा कुुल ८ अर्ब ८३ करोड निर्यात भएको छ । आव ०७८/७९ मा निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा ५ अर्बभन्दा बढीले बढेर १३ अर्ब ५ करोड रुपैयाँको निर्यात भयो ।

कार्पेट

नेपालबाट निर्यात हुने चौथो वस्तुमा कार्पेट रहेको तथ्याङ्कले देखाएको छ । चालु आवको मंसिरसम्ममा मात्रै नेपालबाट ४ अर्ब ९४ करोड रुपैयाँको कार्पेट विश्वका विभिन्न मूलुकमा निर्यात भएको छ ।

आव ०७४/७५ ७ अर्ब १४ करोड रुपैयाँको कार्पेट विदेश निर्यात भएको छ । त्यस्तै गरी आव ०७५/७६ मा बढेर ७ अर्ब ४५ करोड निर्यात भयो । ०७६/७७ माकार्पेट निर्यातमा केही कमी देखिएको छ । उक्त आर्थिक वर्षमा ६ अर्ब १७ करोड रुपैयाँको कार्पेट निकासी भएको तथ्यांकले देखाएको छ ।

यस्तै ०७७/७८ निर्यात बढेको छ । उक्त आर्थिक वर्षमा ७ अर्ब २४ करोडको कार्पेट निर्यात भएको विभागले जनाएको छ । आव ०७८/७९ आएर कार्पेट निर्यात ९ अर्ब ५८ करोड रुपैयाँको भएको पाइएको छ ।

आइरन/स्टील

नेपालबाट बढी निर्यात हुने वस्तुमा आइरन स्टील पनि पर्दछ । पछिल्ला आर्थिक वर्षमाभने यसको निर्यातमा कमी आएको पाइन्छ ।

भन्सार विभागकाअनुसार चालु आवको ५ महिनामा नेपालबाट ३ अर्ब ६१ करोडको आइरन तथा स्टील स्टील निर्यात भएको विभागको तथ्यांक छ । तथ्यांक हेर्दा आव ०७४/७५ मा २ अर्ब १४ करोड, ०७५/७६ मा ५ अर्ब ८८ करोड, ०७६/७७ मा १ अर्ब ८९ करोड, ०७७/७८ मा १ अर्ब ८५ करोड र ०७८/७९ मा ३ अर्ब २८ करोड रुपैयाँको निर्यात भएको छ ।