चौथो ‘जेम एण्ड ज्वेलरी’ एक्स्पो शुक्रबारबाट

काठमाडाैं । नेपाल रत्न तथा आभूषण संघले चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । संघले होटल याक एण्ड यती दरबारमार्ग काठमाडौंमा एक्स्पो गर्ने भएको हो ।
उक्त एक्सपो पुस २९ देखि माघ १ गतेसम्म सञ्चालन हुने छ । एक्स्पोको अघिल्लो दिन अर्थात् मंसिर २८ गते बिहीबार ज्वेलरी फेशन शो आयोजना गरिने संघले जानकारी दिएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ नेपलिज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको र नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पुर्याउन एक्सपोको आयोजना गर्न लागेको जानकारी दिइन् ।
ज्वेलरी फेशन शोमा बलिउडकी चर्चित अभिनेत्री तथा मोडल मलाइका अरोराले नेपाली पोशाक र गरगहनाका साथ र्याम्पमा उत्रिने संघले जनाएको छ । होटल याक एण्ड यतीमा बिहीबार साँझ ६ बजे बलिउड अभिनेत्री अरोराले मोडलिङ गर्न लागेका हुन् । निःशुल्क रुपमा प्रवेश पाइने जेम एण्ड ज्वेलरी एक्स्पोको उद्घाटन भने शुक्रबार होटल याक एण्ड यतीमा १२:३० मा हुने तय भएको छ । एक्स्पो बिहान १० देखि साँझ ७ बजे सम्म चालु रहने छ ।
आयोजक समितिका द्वितीय उपाध्यक्ष तथा एक्स्पो संयोजनक शक्ति कुमार बेगानले भने, ‘ज्वेलरी फेशन शोमा विख्यात भारतीय सिने अभिनेतृ एवं सञ्चारकर्मी मलाइकाअरोरा नेपाली पोशाक र आभूषणमा र्याम्पमा प्रस्तुत हुँदा आरबी डाइमण्ड ज्वेलर्स प्रालि, गणपति ज्वेलर्स नेपाल प्रालि, सयपत्री (मेरिगोल्ड) ज्वेलर्स, क्विन्स ज्वेल्स् प्रालि, धनश्री ज्वेलर्स, डिसी डाइमण्ड प्रालि आदि विभिन्न प्रमुख ज्वेलर्स कम्पनीले फेशन शो गर्नेछन्।’
संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले चालु पुँजी कर्जा संशोधनले तात्विक असर नगरेको र कर्जा व्याजदर एकलविन्दुमा झारेमा मात्र गरगहनाको लागतमा कम पर्न गई मूल्य घट्न जाने बताए । १५ लाख जना यो व्यवसायसँग अप्रत्यक्ष रुपमा आश्रित रहेका र २५ हजार ओटा आउटलेट रहेको यो व्यवसायले वार्षिक १० अर्बको राजस्व बुझाउँदा पनि अनुत्पादक क्षेत्र भनेकोमा उनले गुनासो गरे ।
स्वदेशी बहुमूल्य धातु तथा रत्न, पत्थरको उत्खनन,प्रशोधन र उपयोग गरी आयातलाई यथाशक्य प्रतिस्थापन गर्ने, आयातित वस्तुलाई औद्योगिक कच्चा पदार्थको रुपमा मुलुक भरका आभूषण व्यवसायीहरूले सहज रूपमा आवश्यकतानुसार उपयोग गर्न सक्ने अवस्थाको सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा बढीभन्दा बढी मूल्य अभिवृद्धि गर्ने र नेपाली मौलिक बहुमूल्य आभूषणको निकासीलाई प्रवर्द्धन गरी वैदेशिक व्यापारमा यस क्षेत्रको योगदानलाई थप विस्तार गर्ने लक्ष्यका साथ आफ्ना गतिविधिलाई संघले केन्द्रित गरिरहेको संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले बताए ।
हीरा, जवाहरात आदि बहुमूल्य रत्न तथा पत्थरको बहुमूल्य आभूषण उत्पादन एवं कारोबार गर्ने नेपाल रत्न तथा आभूषण संघ ९नेग्जा० ले नेपाली पत्थरको प्रवर्द्धनका लागि पनि एक्स्पो सहायकसिद्ध हुने जनाएको छ ।
काइनाइट, ट्रुमिलिन जस्ता नेपाली पत्थरका साथ नेपाली शैलीका नेपालमा उत्पादित गरगहनाको माग विदेशमा बढाउन र विदेशमा छरेर रहेका नेपालीको ध्यानाकृष्ट गराउन एक्स्पो आयोजना गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
टाइटल स्पोन्सरको रूपमा रहेको न्युड (द नेपाल डिस्टिलरी) का सुदीक्षा अधिकारीले नेपाली उत्पादन विश्वमा चिनाउन लागिएकाले आफूहरूले सहभागिता जनाएको बताइन् । अर्का स्पोन्सर एइसीसीका शैलेश झाले नेपाली सीप र कलाकौशललाई विश्व बजारमा पुर्याउन एक्स्पोको आयोजना गरिएको बताए ।
लामो समय चालू रहेको लकडाउनले समग्र व्यापार व्यवसायमा नै गम्भीर प्रतिकूल असर पर्न गएको र उच्च मूल्यको वस्तुको कारोबार गर्ने व्यवसाय भएकोले आभूषण क्षेत्र झनै तहसनहसको अवस्थामा पुगेको संघले जनाएको छ ।
यस व्यवसायमा आवश्यक पर्ने कच्चा पदार्थको आयात प्रति राज्यको दृष्टिकोण स्पष्ट नहुँदा र आयातका लागि अख्तियारी प्राप्त निकायमा व्यावसायिक सोचभन्दा पनि कर्मचारीगत सोच हाबी भएकोले माग र आपूर्तिबीचको सन्तुलन मिल्न नसक्दा यो एउटा स्थायी समस्याका रूपमा देखा परेको संघले उल्लेख गरेको छ ।
महामारी नियन्त्रणमा आएपछि उद्योग, व्यापार, व्यवसाय आदिमा केही सञ्चार हुँदै आएको छ र आभूषण व्यवसायका साथै मुलुकको समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश पुगोस् भनेर पनि इभेन्टको आयोजना गर्न लागिएको कार्यक्रममा बताइएको थियो।
प्रतिक्रिया