NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मन्त्रालय भागबण्डामा सत्ता गठबन्धन दलहरूबीच कुरा मिल्यो, सोमबार नै टुंग्याउने यस्ताे छ तयारी

काठमाडौं । मन्त्रालय भागबण्डाको विषय सोमबार नै टुंग्याउने गरी सत्ता साझेदार मुख्य दल एमाले र माओवादी केन्द्र सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बिहान भएको लन्चसहितको भेटवार्ता मन्त्रालयको भागबण्डा लगभग टुंगिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन् ।

ओली निवास बालकोटमा बसेको पाँच घण्टा लामो बैठकमा मन्त्रिपरिषद विस्तारको साथै राष्ट्रपति, उपराष्ट्रपति र सभामुख लगायत विषयमा छलफल भएको थियो ।

मन्त्रालयको भागबण्डामा प्रचण्ड र ओलीबीच सहमति भएपनि अन्य विषयमा भोलि बस्ने सरकार समर्थित १० दलको बैठकले टुंग्याउने प्रचण्डले जानकारी दिए ।

‘मन्त्रालयको भागबण्डा हामी सोमबार नै टुंग्याउँछौं’, बैठकपछि सञ्चारकर्मीसँग प्रधानमन्त्रीले भने, ‘बाँकी विषय सरकारलाई समर्थन गरेका दलको बैठकले टुंगो लगाउँछ ।’ बालकोटमा भएको दुई शीर्ष नेताहरूको बैठकले ओली नेतृत्वको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । साँझ बस्ने संयन्त्रको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाउने अर्थमन्त्रीसमेत रहेका एमालेका उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

‘कांग्रेससँगको छलफल बेग्लै कुरा हो । सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबण्डा मिलाउँछ । जे जस्ता कार्यसूची छन्, त्यसमा गृहकार्य भएको छ । छिट्टै हामी आवश्यक निर्णय गर्छौं ।’ यसअघि ११ पुसमा प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी, रास्वपा र जपालाई समेटेर आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

तर सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयमा भागबण्डामा सहमति नहुँदा २२ दिनसम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । सरकारमा सहभागी एमालेका पौडेलले अर्थ, माओवादीका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार, रास्वपाका रवि लामिछानेले गृहको जिम्मेवारी पाएपनि बाँकी चार मन्त्रीले जिम्मेवारी पाउन सकेका छैनन् ।

यसअघि प्रधानमन्त्रि निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमालेले ९, माओवादीले ५, रास्वपाले ४, राप्रपाले ३, जसपाले २, जपा र नाउपाले एक/एक मन्त्रालय पाउने लगभग सहमति भएको थियो । तर राप्रपा र जपाले चारवटा मन्त्रालय आफूले पाउनु पर्ने दाबी गरेकाले समस्या देखिएको छ ।