NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

वेथितिको ‘एमस्वीच’ बन्द गर्ने दाबी गरेका रविमाथि नै उठ्यो प्रश्नै प्रश्न

काठमाडौं । टेलिभिजनको पर्दा अगाडि बसेर देशमा मौलाएको वेथितिबारे सरकार, राजनीतिक दल, कर्मचरी प्रशासनमाथि ठूल्ठूला स्वरमा प्रश्न गरिराख्ने चर्चित पूर्वसञ्चारकर्मी रवि लामिछाने आज आफै उत्तर दिने ठाउँमा पुगेका छन् ।

उनले जसमाथि औंला ठडाएर सुशासनको राग अलाप्ने गर्थे आज उनीमाथि नै चौतर्फी प्रश्न उठ्न थालेको छ । सञ्चारकर्म छाडेर गत असारमा राजनीतिमा फाल हालेका रवि ५ महिनामै देशको उपप्रधान तथा गृहमन्त्री बन्न सफल भए ।

११ पुसमा प्रचण्ड सरकारमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने सम्वेदनशील मन्त्रालय सम्हाल्न पुगेपछि उनको अग्निपरिक्षा सुरु भएको छ । उनी मन्त्री भएको १७ दिनमात्र भएकाले रविको कार्यक्षमतामाथि प्रश्न उठाएर उनी सफल/असफल भएको समीक्षा गर्नु अलि हतार हुनेछ । कम्तिमा पनि मधुमास समय तीन महिना उनलाई काम गर्न शंकाको लाभ दिन सकिन्छ । तर वर्तमान राज्य प्रणाली, विगतका उनको विवादास्पद छवि, सरकारको बनोट हेर्दा उनी सफल हुनेमा शंकै-शंका देखिन्छ ।

गत असार ७ गते नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा कार्यक्रममा उनले पत्रकारिता गर्नु आफ्नो रहर भएको तर राजनीति गर्नु बाध्यता भएको तर्क पेश गरेका थिए ।

‘म रहले पत्रकारितामा आएको हुँ । परिस्थितिले राजनीतिज्ञ बनायो । यसमा मेरो इच्छा, आकांक्षा, विद्रोह केही पनि होइन’, पार्टी घोषणा गर्दै उनले भनेका थिए, ‘देशको मार्ग परिवर्तन गर्ने खाका मसँग छ । विज्ञ समूहसहित चुनावअघि मैले कल्पना गरेको देश यस्तो हुन्छ भनेर देखाएर मात्र भोट माग्न आउनेछु, झुक्याएर होइन ।’

आफू राजनीतमा आएको केही समय अन्य नेताजस्तै फोहोरी देखिने र विस्तारै वेथिति अन्त्य गरी मेनस्वीच बन्द गर्ने दाबी त्यतिबेला उनले गरेका थिए ।

‘राजनीतिमा धेरै हिलो छ । धुलो टकटक्याउनु छ । नागरिक रोएको मैले जति कसैले देखेको छैन । केही समय धुलो टकटकाउन केही समय म र दलका नेताहरू उस्तै देखिने छन् । तर नझुक्निुहोला । प्रश्न सोध्ने सजिलो काम छोडेर जवाफ दिने कठिन ठाउँमा आउँदैछु । म त्यो तपाईंको विश्वास टुट्न दिने छैन’, त्यतिबेला रविले भनेका थिए ।

कार्यक्रममा उत्साहपूर्ण उपस्थितिबाट हौसिदै रविले आफूले झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन भएको तर सत्ता बस्नेले धाँधली गर्नसक्नेतर्फ सचेत रहेको बताएका थिए । परम्परागत प्रमुख दल कांग्रेस, एमाले र माओवादीप्रति संकेत गर्दे उनले ती दलका मुख्य नेतालाई हराउन आफू सक्षम रहेको दाबी गरे ।

‘म झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न म डराएको होइन । सरकारमा को छ र तीनले कस्तो चुनाव गराएको छ भन्ने इतिहाससँग म सचेत छु । यसपालि एमस्वीच बन्द गर्न एउटा तारको जिम्मा म लिन्छु । एक जनालाई संसद छिर्न म रोक्छु’, उनले भनेका थिए, ‘त्यसैगरी देशैभरीबाट संसदमा छिर्न तपाईहरू रोक्नोस् । वेथितिको यो एमस्वीचलाई अफ गरिदिउँ सदाका लागि ।’

रविले दाबी गरेजस्तै झापा–५ बाट केपी ओली, डडेलधुराबाट शेरबहादुर देउवा र चितवन–३ बाट प्रचण्डलाई संसद छिर्नबाट रोक्न त सकेनन, बरू ओलीको जगमा बनेको प्रचण्ड सरकारमा आफै सहभागी भए । यद्यपि देशभरबाट २० जाना परम्परागत पार्टीका नेताहरूलाई संसद प्रवेश गर्नबाट रोक्न भने सफल देखिए । गैरराजनीतिक व्यक्तिले राजनीतिमा आएको निकै छोटो समयमा वर्षैं जरा गाडेर बसेका राजनीति पार्टीका जग हल्लाउन सक्नु उनको विजय नै मान्न सकिन्छ । तर उनले भनेजस्तै गरी वेथितिको अन्त्य गरी एमस्वीच बन्द गर्न सक्छन् /सक्दैनन त्यसका लागि केही समय कुर्नै पर्ने हुन्छ ।

रविको राजनीति छलाङ : जेजे मागे त्यहित्यहि पाए

निर्वाचनपछि देउवा नेतृत्वको वाम–लोकतान्त्रिक गठबन्धन नभत्किएको भए सायद रविले केन्द्रीय राजनीतिमा यति ठूलो महत्व पाउने थिएनन् । तत्कालीन सत्ता गठबन्धनले देशभर १३६ जितेको थियो । आफूले समर्थन गरेका दुई स्वतन्त्रसमेत गरी प्रतिनिधिसभामा आवश्यक बहुमत गठबन्धनसँग थियो ।

गठबन्धन बाहिर रहेका सीके राउतको पार्टी र नागरिक उन्मुक्ति पार्टी, लोसपासमेत सत्ता साझोदार बन्न लालायीत भएकाले सरकारको पक्षमा १५२ सिट पुग्ने थियो । चुनावमा एमालेसँग एलाइन्स गरेका जसपा पनि देउवा–प्रचण्डसँग निरन्तर सम्वादमा रहेकाले सरकारको पक्षमा १६४ सिट पुग्ने लगभग निश्चित थियो । यस्तो अवस्थामा रविको पार्टीबिना नै सुविधानजनक बहुमत तत्कालीन सत्ता पक्षसँग थियो । तर देउवाको अदुरदर्शी निर्णयक्षमताका कारण ओलीले गठबन्धन भत्काउन सफल भए ।

प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरी आफू सत्ताको किङ मेकरको भूमिका बसे । अप्रत्यासित रुपमा बदलिएको सत्ता समीकरणका कारण रविको सानदार इन्ट्री भयो । सत्तामा उनले जेजे भने त्यहित्यहि पाए ।

प्रचण्ड नेतृत्व सरकारमा उनले रोजेकै उपप्रधान तथा गृहमन्त्री पाए । एक राज्यमन्त्रीसहित थप दुई प्रभावशाली शिक्षा र श्रम मन्त्रालय हात पारे । उपसभामुख जस्तो गरिमामय पद रास्वपालाई दिलाउन उनी सफल भए । राजनीतिमा रविको भाग्यदय चिठ्ठा पर्यो । सादय जो कोहिले पाउने विरलै अवसर रविले पाए ।

पत्रकारिता जगतबाट राजनीतिमा हामफालेको थोरै समयमा निर्वाचनमा १० लाख बढी मत पाउनु चानचुनै विषय होइन । प्रतिनिधिसभामा २० सिट जित्न सफल भए । विशेष गरी सहरी क्षेत्रमा लोकप्रिय मत रविको दल राष्ट्रिय स्वतन्त्र पार्टीले पायो ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले चितवन–२ बाट रवि आफैले वहालवाला मन्त्री उमेश श्रेष्ठ र एमालेका प्रभावशाली नेता कृष्णभक्त पोखरेल भारी मतले पराजित गरे ।

यसैगरी रास्वपाका उम्मेदवारले ललितपुर–३ र काठमाडौं–८ बाट बाहालवाला मन्त्रीहरू पम्फा भुसाल र जीवनराम श्रेष्ठलाई पराजित गरे । यसैगरी काठमाडौं–२ बाट पूर्वसभामुख ओनसरी घर्ती र काठमाडौं–६ मा पूर्वमन्त्री भीमसेनदास प्रधानलाई पराजित गरे । काठमाडौं–७ बाट सत्ता गठबन्धन र एमालेका बलिया उम्मेदवारलाई पाजित भए । चितवन–१ मा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पराजित गरे ।

रविको उदयलाई परम्परागत पार्टीप्रति जनताको वितृष्णा ब्यालेटमार्फत अभिव्यक्ति भएको निष्कर्ष राजनीतिक विश्लेषकले निकालेका छन् । रविलाई भगवान मान्ने उनका समर्थकहरूले रास्वपाको उदयसँगै देशले आमुल परिवर्तनको खाका कोर्ने विश्वास लिएका छन् । टेलिभिजनमा रहँदा बाध्यताले विदेशीएका व्यक्तिहरूको समस्या र भुईँ मान्छेको आवाजलाई प्रस्तुत गरी चर्चामा आएका रविले अब ती समस्यालाई कसरी समाधान वा सम्बोधन गर्छन् भन्नेमा सबैले ध्यानपूर्वक हेरिरहेका छन् ।

प्रश्नैप्रश्नको घेरामा रवि

टेलिभिजनमा रहँदा सँधै सुशासन र जनजिविकाको पक्षमा चर्का कुरा गर्ने मन्त्री रविमाथि मन्त्री भएपनि विगतका तीनै प्रस्तुतिले लपेटिरहेको देखिन्छ । विगतमा सरकारले केही काम गर्न नसकेको, दलका नेताहरू मन्त्री बन्न लुछाचुँडी गरेको, देशको ढुकुटी लुट्न दलैपिच्छे उपप्रधानमन्त्री बनाएको, भ्रष्टाचार र वेथितिले मुलुकलाई ध्वस्त बनाएको, युवा शक्तिलाई विदेश जान बाध्य बनाएको जस्ता विषय उठान गरेर उनले निकै चर्चा कमाएका थिए । मन्त्री, कर्मचारीदेखि सरोकार निकायका पदाधिकारीलाई टेलिभिजनको पर्दामा ल्याएर र्याखर्याख्ति पारेका उनी मन्त्री भएको एक महिनै नपुगी निरिह भएको आरोप लाग्न थालेको छ ।

रविका विपक्षमा रहेकाहरू विगतमा उनले बोलेका तीनै अभिव्यक्तिलाई सामाजिक सञ्जालमा राख्न थालेका छन् । चर्को सुशासनको कुरा गर्ने उनी आफै नागरिकता विवादमा अदालतमा मुद्दा विचाराधिन रहेकै अवस्थामा गृहमन्त्री भएको, मेनपावर मालिकलाई श्रममन्त्री बनाएको छ । हत्या आरोप लागेका सांसदलाई पक्राउ गर्न नसकेको जस्ता गम्भीर आरोप संसददेखि सडकसम्म उनीमाथि लागेको छ । यी यस्तै प्रश्नै प्रश्नको घेराभित्र उभिएका मन्त्री रविलाई काम गर्न सत्ता साझेदार दलबाट नै असहयोग हुने संकेत देखिएको छ । त्यसैले मन्त्री रविले तत्काल पाँच विषयमा उठेका आरोपको जवाफ व्यवहारबाट नै गरेर देखाउलान् वा राजनीति स्टन्टका लागि गफ मात्र देलानन् भन्ने विषय उनका अगाडि अनुत्तरित भएका बसेका छन् ।

विवाद–

मन्त्री रविमाथि जालसाँझी गरेर निर्वाचन आयोगमा दल दर्ता गरेको र प्रनिधिसभा सदस्य भएको आरोपमा उनीमाथिको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अमेरिकी राहदानी त्याग नगरी नेपाली राहदानी लिएको, पुरानै नागरिकताबाट दल दर्ता तथा निर्वाचनमा भाग लिएको आरोप लगाउँदै उनको सांसद पद खारेज गर्नुपर्ने मागदाबीसहित कानुन व्यवसायीले उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । यद्यपि दुवैपक्षका कानुन व्यवसायीको बहसपछि अदालतले अन्तरिम आदेश भने दिएको छैन । अदालतको अन्तिम आदेश नआएसम्म उनलाई सांसद र मन्त्रीको हैसियतमा काम गर्न बाधा पुर्याएको छैन ।

अमेरिकी नागरिकता र अमेरिकी पासपोर्ट छाडेको घोषणा गरेपनि २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट उनको नाममा जारी भएको नागरिकताको दुरुपयोग गर्न आरोप छ । सन् २०१४ मा रविले अमेरिकी राहदानी लिएका थिए । तर उनको नाममा सन् २०१५ मा नेपाली राहदानी पनि जारी भएको परराष्ट्रमन्त्रालयको रेकर्डले देखाउँछ ।

उनले गृह मन्त्रालयको रेकर्डमा दर्ता खारेज भइसकेको नागरिकता प्रयोग गरेर नागरिकता सम्बन्धी ऐन, निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचन आयोग सम्बन्धी ऐन उलङ्घन गरेको पुष्टि भइसकेको छ ।

लामिछानेले अध्यागमन विभागमा बुझाएको निवेदन अनुसार सन् २०१८ मे १७ सम्म अमेरिकी राहदानी निस्क्रिय भएको देखिँदैन । सर्वत्र आलोचना भएपछि उनले सम्पूर्ण प्रक्रिया पुरा गरी काठमाडौँस्थित अमेरिकी दूतावासमा रु २ लाख ५८ हजार दस्तुरसमेत तिरेर अमेरिकी पासपोर्ट र नागरिकता बुझाइसकेको त्यतिबेला जानकारी गराएका थिए ।

तर उनको दाबीलाई चुनौती दिँदै नेपालको अध्यागमन र श्रम ऐन उलङ्घन गरेको नेपाली नागरिकताका लागि पुनः प्राप्तीका लागि सम्बन्धित निकायमा जानकारी नदिएको उजुरी निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यलय, गृहमन्त्रालयमा परेको थियो । त्यसमा कुनै सुनुवाइ नभएपछि अधिवक्ता रविराज बासुला र युवराज पौडेलले मंसीर २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ११ पुसमा उनी गृहमन्त्री भएपछि उनीमाथिको अनुसन्धान कार्य प्रभावित भएको छ । मुद्दालाई प्रभावित पार्ने हिसाबले नै उनले गृहमन्त्री दाबी गरेको आरोप छ ।

यसैगरी उनको योग्यता र क्षमतामाथि पनि प्रश्न उठेको छ । लामोसमय टेलिभिजनको प्रस्तोता रहेका व्यक्ति विषय विज्ञता नभएको सम्वेदनशील मन्त्रालयको जिम्मेवारी लिएकोमा प्रश्न उठाएका हुन् । विषयगत मन्त्रालयको मन्त्री बन्नका लागि कुनै नियम, कानुन र कार्यविधि बनेको छैन । विषय विज्ञलाई मन्त्री बनाउने दाबी गर्दै आएका उनले सञ्चारमन्त्री नबनेर किन गृहमा आँखा लगाए भन्ने प्रश्न अनुत्तरित भएर बसेको छ । उपप्रधानमन्त्री राख्न विरोध गर्ने व्यक्ति आफै अनुबन्धित हुनुले स्वार्थकेन्द्रीत रहेको देखिन्छ । यस विषयमा अदालतले अन्तिम किनारा नलगाएसम्म उनीमाथिको आशंका कायमै रहनेछ ।

विवाद–

अरुमाथि सुशासनको प्रश्न तेस्र्याउने उनले मेनपावरका मालिकलाई श्रममन्त्री बनाएको आरोप छ । दोस्रोपटक भएको मन्त्रिपरिषद विस्तारमा रास्वपाबाट श्रम तथा रोजगारमन्त्रीमा डोलराज अर्याल नियुक्त भए । तर उनी नियुक्त भएकै दिन विवादमा तानिए । रेमिट्यान्स कम्पनी सञ्चालक अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद हुन् । उनी श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसका इन्टरनेसनल मार्केटिङ डाइरेक्टर रहेको खुलेपछि मन्त्री अर्याल विवादमा तानिएका हुन् । विवादमा तानिएपछि मन्त्री अर्याल आफू स–साना व्यवसायमा धेरै ठाउँमा हात हाले पनि मेनपावर मालिक नभएको स्पष्टिकरण दिएका छन् । आफ्ना मन्त्री विवादमा तानिदाँसमेत रविले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । नयाँ भनिएकै दलबाट स्वार्थ बाझिने मन्त्रालयमा भटाभट मन्त्री नियुक्त भएपछि सञ्चार जगत, राजनीतिक वृत्त र सरोकारवाला निकायले मन्त्री रविको चर्को आलोचना गर्न थालेका छन् ।

विवाद–

एमाले सांसदसमेत रहेका लक्ष्मी कोइरी महतो उच्च अदालत जनकपुरले २०७७ मा महतोलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । २०७७ देखि फरार रहेका महतो २०७९ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेवाट टिकट पाए । भूमिगत रहेकै अवस्थामा उनले माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गरे ।

प्रहरी हेडक्वाटरले महतोलाई संसदीय गतिविधिमा संग्लन नगराउन पत्राचार गरे पनि उनी निरन्तर संसदमा देखा परेपछि सांसदहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

शनिबार उपसभामुखको निर्वाचनमा संसदमा बोल्दै कांग्रेस सांसद रामहरी खतिवडाले हत्या आरोपी गृहमन्त्रीसँगै कुम जेडेर बसेपनि पक्राउ नगरेको भन्दै आपत्ति जनाए ।

सांसदहरूले महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निरन्तर ध्यानाकर्षण गराएपछि मन्त्री रवि निकै दबाबमा रहेका छन् ।

संसदमा उठाएको प्रश्नको जवाफ दिँदै उनले आफू नियम कानुनभन्दा दायाँबायाँ नजाने यस विषयमा आफू बोलेरभन्दा काम गरेर देखाउने प्रतिवद्धता जनाए । तर मन्त्री भएको १७ दिन वितिसक्दासमेत आरोपी सांसद पक्राउ नपरेपछि गृहन्त्रालयले विज्ञप्ति नै जारी गरी तत्काल पक्राउ गर्न निर्देशन दियो ।

विवाद–

गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेको गृहले विज्ञप्ति जारी गरेपछि विपक्षी सांसदले रविको क्षमतामाथि प्रश्न उठाएका छन् । संवेदनशील विषयमा गृहमन्त्रीले विज्ञप्ति जारी गरेर सुरक्षा संयन्त्रलाई पङ्गु बनाएको आरोप लगाए । कोइरीलाई ओलीको सरक्षण रहेकाले उनलाई पक्राउ गर्न प्रहरी हच्किएको विपक्षीहरूको आरोप छ । बाहिर विरोधलाई मत्थर गर्न विज्ञप्ति जारी गरेपनि कोइरीलाई पक्राउ गर्न ओलीको असहयोग भएकाले रवि अप्ठ्रोमा परेको विपक्षीको बुझाइ छ ।

अग्निपरिक्षामा रवि

कुनै बेला माओवादी जनयुद्धका सुप्रिमो कमाण्डर अर्थात् वर्तमान प्रधानमन्त्री प्रचण्डलाई २०६४ सम्म भगवान मान्ने धेरै थिए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनको पार्टी माओवादीले कांग्रेस–एमालेको गढ भनिएका क्षेत्र भत्काएर ३७–३३ सिटमा खुम्चिाएका थिए । २३८ सिटसहित संसदमा शानदार उपस्थिति जनाएका थिए । शान्तिपूर्ण संसदीय राजनीतिमा आएको १६ वर्षमै प्रचण्ड अलोकप्रिय भए । प्रचण्डलाई तीनै देवत्वकरण गर्नेहरूले नै अहिले चौतर्फी दानबीकरण गर्न थालेका छन् । यसैगरी मधेशको मसिहा ठानेका उपेन्द्र यादवको पार्टी अहिले तहसनसह भएको छ । २०७४ को निर्वाचनमा सहरी क्षेत्रमा जबर्जस्त उदाएको विवेकशील साझाले योपटक एउटा खाता पनि खोल्न सकेन । संसदीय राजनीतिको माहिर खेलाडी ओली र जुनसुकैबेला जस्तोसुकै निर्णय लिन सक्ने प्रचण्डको चतुर्याई रविले बुझ्न नसके भोलि उनको हालत पनि त्यसै नहोला भन्न सकिँदैन । यो अग्निपरिक्षामा पास भएर उनले भनेको जस्तै वेथितिको एमस्वीच बन्द गर्लान् वा त्यही फोहोरी राजनीतिमा डुब्लान् उनको अग्निपरिक्षा सुरु भएको छ । विगतका यी घटनाक्रमबाट रविले पाठ सिकेका छन्/ छैनन् त्यसमै उनी र उनको पार्टीको भविष्य निर्धारण गर्नेछ ।