बजारमा तरुलको माग बढ्दो

नवलपरासी । नवलपरसी (बर्दघाट सुस्तापूर्व) बाट यस वर्षको माघेसङ्क्रान्तिमा तरुल जिल्ला बाहिर बढी बिक्री भएको जनाइएको छ । यस वर्ष जिल्लाबाट एक सय टन तरुल बिक्रीबाट डेढ करोड बढी आम्दानी भएको व्यवसायीले बताएका छन् ।
नवलपरसी हुप्सेकोट, बुलिङटार र बौदिकाली गाउँपालिकामा तरुल राम्रो उत्पादन हुने गर्दछ । त्यहाँ उत्पादित वन तरुल प्रतिकेजी रु सय, पञ्जे तरुल ८० र मुढे तरुल ५० का दरले पोखरा र काठमाडाँै निर्यात गरेर डेढ करोड आम्दानी भएको थोक बिक्रेता लालबहादुर सारुले बताए ।
पुसको अन्तिम साताबाट तरुलको व्यापार भएको सारुले बताए । ‘पहिला तरुलको माग यति धेरै थिएन, बजारीकरणको समस्याले तरुलको व्यापार नभए पनि विगत तीन वर्षदेखि मकरसङ्क्रान्तिका अवसरमा बजारमा तरुलको माग बढेको छ,’ उनले भने, ‘जिल्लामा व्यावसायिक रूपमा तरुलको खेती अझै हुनसकेको छैन,’ सारुले भने, ‘कन्दमूलअन्तर्गत पर्ने तरुलका लागि अझै पनि वनकै भर पर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल खानैपर्ने हिन्दू परम्पराअनुसार यसको व्यापार पनि निकै फस्टाएको हो ।’
जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन । जिल्लाको पहाडी क्षेत्रका जङ्गल र खेतबारीमा उत्पादित तरुल तथा सक्खरखण्डको माग प्रशस्त छ । कावासोतीसहित दलदले क्षेत्रमा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको व्यवसायी कृष्णबहादुर सारुले बताए। ‘नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँमा खपत हुने गरेको छ,’ सारुले भने, ‘जिल्लाको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिकरूपमा पोखरा र काठमाडौँ पठाउने क्रम हिजो आज पनि जारी छ ।’
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया