व्यावसायिक गोलभेँडा खेतीमा बढ्दो आकर्षण
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा व्यावसायिक गोलभेँडा खेतीमा कृषक आकर्षित भएका छन् । जग्गा भाडामा लिएर आधुनिक प्रविधिमार्फत खेती गर्ने कृषकहरु जिल्लामा बढेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताए ।
उनका अनुसार गत वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा एक हजार सात सय १९ मेट्रिक टन गोलभेँडा उत्पादन भएको थियो । जिल्लामा यस वर्ष ९५ हेक्टर क्षेत्रफलमा व्यावसायिक गोलभेँडा खेती भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङ्कमा उल्लेख गरिएको छ । ‘पछिल्लो समय व्यावसायिक रूपमै सामूहिक गोलभेँडा खेतीतर्फ कृषकहरु आकर्षित भएका छन्,’ सूचना अधिकारी पौडेलले भने, ‘जग्गा भाडामा लिएर आधुनिक प्रविधिमार्फत कृषकले अहिले व्यावसायिक रूपमा सामूहिक गोलभेँडा खेती सुरु गरेका छन् ।’
देवचुली नगरपालिका–१७ मा चार वर्षदेखि १० बिघा जमिन भाडामा लिएर गोलभेँडा खेती सुरु गरेका कृषक गोविन्द बस्याल यसबाट राम्रो आम्दानी हुने बताउछन् । कृषिमा थोरै श्रम गरेर आम्दानी राम्रो हुने भएकाले यसतर्फ आफूहरु लागि परेको उनको भनाइ छ ।
‘स्वदेशमा अवसर नभएको भन्दै युवाहरु विदेश पलायन हुने क्रम बढ्दै जाँदा खेतीयोग्य जमिन बाँझो रहन थालेपछि त्यसको सदुपयोग पनि हुने र युवाहरुलाई स्वदेशमै रोजगारीको सम्भावना छ भन्ने सन्देश प्रवाह गर्न आफैँले टमाटर खेती गरेको हो,’ उनले भने ।
यहाँ उत्पादन भएको गोलभेँडा स्थानीय बजारसँगै बुटवल, नारायणघाट, पोखरा र काठमाडैंमा खपत हुने गरेको छ । ‘हामीले उत्पादन गरेको गोलभेँडा दैनिकरूपमा पोखरा र काठमाडौंका बजारमा पठाउने गरेका छाँ,’ उनले भने, ‘व्यापारी आफैँले हामीलाई सम्पर्क गर्ने हुँदा सहज तरिकाबाट जिल्लाबाहिर निर्यात हुने गरेको छ ।’
गत वर्षको भदौदेखि गोलभेँडा खेती सुरु गरेका गैँडाकोटका कृषक हरि थापाले यो वर्ष मुनाफा हुने बताए । ‘पहिलो वर्ष चालू खर्च मात्र उठाउने लक्ष्य लिएकामा यो वर्ष लगानीसँगै मुनाफा पनि गर्ने लक्ष्य रहेको छ,’ उनले भने ।
जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाका कृषकहरु गोलभेँडा खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताए । ‘आधुनिक प्रविधिमार्फत व्यावसायिक रूपमा खेती गर्दा सफल भइन्छ भन्ने उदाहरण यहाँका कृषकहरुले प्रस्तुत गर्न सफल हुनुभएको छ,’ उनले भने ।
यहाँका युवाहरुले ग्रामीण कृषि उत्पादक समूह निर्माण गरी विभिन्न निकायहरुको सहयोगमा गत भदौबाट सामूहिक रूपमा व्यावसायिक खेती सुरु गरेको प्रमुख लामिछानेले बताए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया