ड्रागनफ्रुट व्यवसाय : सम्भावनासँगै चुनौती
काठमाडाैं । पछिल्लो समय ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको छ । खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनुका साथै बजार मूल्यमा पनि समस्या नभएपछि ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो । बजारमा ड्रागनफ्रुट प्रतिकिलो छ सय ५० देखि आठ सय ५० सम्ममा किन्न पाइन्छ । नेपालमा पहिलो पटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट भित्र्याएर खेती गरेका थिए ।
आइतबार सुनसरीको इटहरीमा भएको ‘ड्रागनफ्रुट प्रोड्युसर्स एशोसिएशन नेपाल’ प्रदेश नं १ को भेलामा किसानहरुले सम्भावनासँगै चुनौती पनि बढ्दै गएको बताएका छन् । फलको बजारिकरणमा समस्या हुन थालेपछि विकल्पका रुपमा जुस, जाम र वाइन जस्ता सामग्री उत्पादन गरेर बिक्रीवितरण गर्ने गरेको मोरङ पथरी शनिश्चरेका किसान प्रेम लिम्बू बताउछन् ।
ड्रागनफ्रुट खेतीका लागि विशेषज्ञ नभएको, माटो परीक्षण विधि नभएको र रोग लागेमा औषधि समेत नपाइने भएकाले खेती गर्न समस्या भएको झापा गौरिगञ्जका उपेन्द्र थापाको भनाइ छ ।
जमिन र बिरुवामा जति धेरै विषादी प्रयोग गर्यो त्यति नै रोग लाग्ने सुनसरीका किसान कृपासुर घलले बताए । अहिले ड्रागनफ्रुटका बिरुवामा चार किसिमका रोगहरु (फङगल) देखा पर्न थालेका छन् । ‘माटो र बिरुवाको सुरक्षाका लागि गाईको गहुँत, गोबर र कुखुराको सुली प्रयोग गर्दा रोग लाग्दैन,’ उनले भने ।
कार्यक्रममा ‘ड्रागनफ्रुट प्रोड्युसर्स एशोसिएशन नेपाल’का केन्द्रीय उपाध्यक्ष भेषराज शाक्यले ड्रागनफ्रुट स्वास्थ्यका लागि फलदायक र लाभकारक हुने भएकाले खेतीमा धेरै सम्भावना भए पनि चुनौती थपिँदै गएको बताए ।
नेपालमा ड्रागनफ्रुट खेतीका विशेषज्ञ नभएको र सरकारसँग पनि माटो परीक्षणविधि नरहेका कारण किसान समस्यामा रहेको केन्द्रीय सदस्य वासु ढकालले बताए । नेपालमा ड्रागनफ्रुटमा बीमा नीति नभएका कारण सुरक्षाको प्रत्याभूति नरहेको ढकालको भनाइ छ ।
कार्यक्रममा दिननाथ भट्टराईले ड्रागनफ्रुट खेतीको चुनौती र खेती गर्ने विधिबारे सहजीकरण गरेका थिए भने बाबुराम निरौलाले माटो सुधारका विधिबारे जानकारी गराएका थिए ।
भेलाले जयबहादुर तामाङको अध्यक्षतामा ११ कार्यसमिति समेत गठन गरेको छ । एशोसिएशनको उपाध्यक्षमा सञ्जीव राई, सचिवमा एक्सन राई, कोषध्यक्षमा बाबुराम निरौला, सदस्यमा टेकनाथ पौडेल, कमला गुरुङ, रुद्रबहादुर कार्की, भुपेन्द्र थापा, सुरेस सिवाकोटी, मनिस राई र उसा तामाङ छन् । भेलामा प्रदेश नं १ का ५० जना भन्दाबढी किसानको सहभागिता थियो ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया