NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

माघ १ गते दुर्घटना भएको जहाजको दुवै इन्जिन फेल भएको प्रारम्भिक निष्कर्ष

काठमाडौं । माघ १ मा पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको दुवै इन्जिन फेल भएको प्रारम्भिक निष्कर्षले बताएको छ । सरकारले गठन गरेको जाँचबुझ आयोगले आज विज्ञप्ती जारी गर्दै जहाज अवतरणको क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको जनाएको छ ।

यसको अर्थ दुवै इन्जिन फेल भएको एक पाइलटले जानकारी दिए । सामान्यतया प्रोपेलर अर्थात पङ्खा इन्जिनको सहायताले घुम्छ । इन्जिन फेल भएको अवस्थामा प्रोपेलर हावाको सहायताले घुम्न थाल्छ तर त्यो घुमाईले जहाजलाई ग्लाइड गरेर अघि बढ्न अवरोध सिर्जना गरिरहेको हुन्छ । त्यसैले जहाजको इन्जिन फेल भएपछि पाइलट स्वयमले पङ्खालाई फिदरिङ अवस्थामा लैजान्छन् । यसो गर्दा ब्लेड एंगल परिवर्तन भएर जहाजलाई ग्लाइड गर्न मद्द्त गर्छ ।

दुबै इन्जिन फेल हुनु भनेको एटिआर जस्तो अत्याधुनिक जहाजमा असाध्यै कम सम्भावना भएको उनले बताए । ‘यस्तो अवस्था सम्बन्धित वायुसेवाले मर्मत सम्भारमा पर्याप्त ध्यान नदिएको भन्न सकिन्छ,’ उनले भने, ‘वायुसेवाको व्यवस्थापकले समयमै मर्मत सम्भारको लागि आवश्यक बजेट नछुट्याई अत्याधिक नाफालाई मात्र जोड दिनुले यस्ता अप्रिय घटना घट्न पुग्छ ।’

जाँचबुझ आयोगले प्रोपेलर फेदरमा किन गयो भन्नेबारे प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अघि बढाइसकेको जानकारी गराएको छ ।

माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि जहाजको ककपिट भोइस रेकर्डर र फ्लाइट डाटा रेकर्डरको डाटा फ्रान्स पठाएको थियो । दुवैको डाटा विश्लेषण र अनुसन्धान गरेर आयोगका संयोजक, हवाई विज्ञ र सदस्य सचिवहरू नेपाल फर्किएका छन् । दुर्घटनापछि हुने अनुसन्धानको स्वतन्त्र विश्लेषणका लागि विमान निर्माता कम्पनीसमक्ष नै उक्त विवरण पठाइएको हो ।

जहाजको ब्ल्याक बक्स विमान दुर्घटना भएको भोलिपल्ट माघ २ गते बिहान भेटिएको थियो । ब्ल्याक बक्स विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन ९–एएनसी (एटीआर–७२–२१२)विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ मिटर पर सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।

सरकारले विमान दुर्घटनाबारे जाँच गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बाँस्तोला (अवकाशप्राप्त उपरथि) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा हुन् । आयोगको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पद बहालीसँगै दुर्घटनाबारे चासो व्यक्त गर्दै जाँच आयोगलाई छिटो र प्रभावकारी काम गर्न निर्देशन दिएका थिए । उनले मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन सबैखाले सुधार गर्ने विश्वास व्यक्त गरेका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष