NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

टर्की भूकम्प : चीनद्वारा ६० लाख अमेरिकी डलर सहयोग घोषणा

बेइजिङ । चीनले टर्कीका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । आपत्कालीन सहायताअन्तर्गत उक्त रकम टर्कीलाई उपलव्ध गराउने घोषणा भएको हो ।

साथै चीनको रेडक्रसले टर्की र सिरियालाई दुई लाख अमेरिकी डलरको आपत्कालीन सहायता प्रदान गर्ने जनाएको छ । टर्की र सिरियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति शोक प्रकट गर्दै बेइजिङले दुवै देशसँग सम्पर्कमा रहेको बताएको छ ।

यसअघि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले भूकम्प प्रभावित टकीर्ए र सिरियाका लागि एक करोड १५ लाख अमेरिकी डलर सहयोगको घोषणा गरेका थिए ।

उद्धार टोली टर्की जाँदै

भूकम्प प्रभावित टर्कीलाई सघाउन उद्धारकर्मी र राहत सामग्रीसहित भारतीय वायुसेनाका थप दुई विमान पठाउने भएको छ । उद्धार तथा राहतका कार्यमा सहयोग गर्न ६० पारा फिल्ड अस्पताल र कर्मचारीसहित आज साँझ र पछि टर्कीमा थप दुई वटा भारतीय वायुसेना विमान टर्की पठाइने रक्षा अधिकारीहरूले बताएका छन् ।

आगरास्थित आर्मी फिल्ड अस्पतालले ८९ सदस्यीय मेडिकल टोली पठाएको छ । यसैगरी भारतले पठाएको सहायताको पहिलो खेप टर्कीको अदाना पुगेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले भूकम्प पीडितहरूको खोजी, उद्धार र सहयोगका निम्ति ८५ सदस्यीय टोली टर्की पठाउने बताए । उनले फिलिपिन्सको टोलीमा स्वास्थ्यकर्मी र इन्जिनियर रहने आज पत्रकारहरूलाई जानकारी दिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनअनुसार उद्धारमा सहयोग गर्न एक सयभन्दा बढी रुसी उद्धारकर्ता टर्कीए पुगेका छन् । खोज र उद्धारमा उपयोग हुने एन्डोस्कोप, ध्वनिक उपकरण, जियोराडार र थर्मल इमेजरसहित रुसी टोली त्यहाँ पुगेको हो ।

त्यसैगरी संयुक्त राष्ट्रसङ्घका विभिन्न विशिष्टिकृत निकाय पनि राहत सामग्री लिएर टर्की पुगेका छन् । विश्व स्वास्थ्य सङ्गठन, विश्व खाद्य कार्यक्रमको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ ।