पर्सामा सात हजार करदाता थपिए

वीरगञ्ज । चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा पर्सामा सात हजार नौ सय ४१ करदाता थपिएका छन् ।
आन्तरिक राजस्व कार्यालय वीरगञ्जका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा प्यानतर्फ पाँच हजार पाँच सय ९२, आयकरतर्फ एक हजार छ सय ७४, मूल्य अभिवृद्धि करतर्फ पाँच सय २२ तथा अन्तःशुल्कतर्फ एक सय ३३ करदाता थपिएका छन् । योसँगै पर्सामा करदाताको संख्या एक लाख २४ हजार तीन सय पाँच पुगेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत सञ्जय सरदार क्षेत्रीले जानकारी दिए ।
पर्सामा प्यानतर्फ सबैभन्दा बढी ७९ हजार २३, आयकरतर्फ ४० हजार चार सय १०, मूल्य अभिवृद्धि करतर्फ १० हजार एक सय ३६ तथा अन्तःशुल्कतर्फ एक हजार नौ सय ५१ करदाता रहेका छन् । यसैबीच बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालु आव २०७९÷८० को छ महिनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व संकलनमा कमी आएको छ ।
सो कार्यालयका अनुसार चालु आव २०७९/८० को छ महिनाको अवधिमा चार अर्ब ७३ करोड १६ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ६६ दशमलव ६१ प्रतिशत अर्थात तीन अर्ब १५ करोड १६ लाखमात्र संकलन भएको छ । चालु आवको छ महिनामा अन्तःशुल्कतर्फ एक अर्ब ३१ करोड ९५ लाख २९ हजार, आयकरतर्फ एक अर्ब चार करोड ८८ लाख ६९ हजार, मूल्य अभिवृद्धिकर तर्फ ७३ करोड ६७ लाख ६६ हजार, ब्याजकरतर्फ दुई करोड ४० लाख २३ हजार र घरबहाल करतर्फ दुई करोड २४ लाख ९९ हजार राजस्व संकलन भएको सूचना अधिकारी क्षेत्रीले बताए ।
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगरेको तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबद्धलगायतका कारणले राजस्व संकलन घटेको क्षेत्रीको भनाइ छ । आव २०७८/७९ मा सो कार्यालयले नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ९२ दशमलव ३० प्रतिशत अर्थात् आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार संकलन गरेको थियो ।
ताजा अपडेट
-
क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल
-
देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
बागमती प्रदेश सभा बैठक बस्दै
-
भोजपुर हत्या घटना: शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
प्रतिक्रिया