महिला टि–ट्वान्टी विश्वकपबारे जान्नुपर्ने केही तथ्य

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप शुक्रबारदेखि सुरु हुँदैछ। दक्षिण अफ्रिकाको आयोजनामा आइसिसी महिला टी–२० विश्वकपको आठौं संस्करण हुन लागेको हो ।
दक्षिण अफ्रिकाका तीनवटा मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । खेलहरू केप टाउनको न्युल्यान्ड्स मैदान, पार्लको बोल्यान्ड पार्क र पोर्ट एलिजाबेथ (एबेरेहा)को सेन्ट जर्ज पार्कमा हुनेछन्।
प्रतियोगिताअन्तर्गत पहिलो खेल दक्षिण अफ्रिका र श्रीलंकाबीच केप टाउनमा हुँदैछ । दोस्रो खेल वेस्ट इन्डिज र इंग्ल्याण्डबीच हुने तय छ ।
१७ दिनसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक दक्षिण अफ्रिकाबाहेक डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया, भारत, इंग्ल्याण्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड, आयरल्याण्ड, श्रीलंका, बंगलादेश र पाकिस्तानका टोली सहभागी हुनेछन् ।
प्रतियोगिताअन्तर्गत कुल २३ खेल हुनेछन् ।
महिला टी–२० क्रिकेट विश्वकपको पहिलो संस्करण इङ्ल्याण्डमा सन् २००९ मा आयोजना गरिएको थियो । सन् २०१२ सम्म यसमा आठ टोली सहभागी रहेकोमा सन् २०१४ मा बढेर १० पुगेको थियो ।
महिला टी–२० विश्वकपका सात संस्करण सन् २००९, २०१०, २०१२, २०१४, २०१६, २०१८ र २०२० मा सम्पन्न भएका थिए ।
कोरोना महामारीका कारण सन् २०२२ मा भने प्रतियोगिता आयोजना हुन सकेन । महिला टी–२० विश्वकपका १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह–१ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशका टोली परेका छन् । भारत समूह–२ मा छ, जहाँ इंग्ल्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान र आयरल्याण्ड छन् ।
टिम वरीयतामा अस्ट्रेलिया पहिलो स्थानमा छ भने इंग्ल्याण्ड दोस्रोमा । न्युजिल्याण्डको महिला टोली तेस्रो र भारतीय टोली चौथो स्थानमा छ ।
दक्षिण अफ्रिका पाँचौं, वेस्ट इन्डिज छैटौं र पाकिस्तान सातौं स्थानमा छ । श्रीलंका आठौं, बंगलादेश नवौं र आयरल्यान्ड दशौं स्थानमा छ ।
महिला टी–ट्वान्टी क्रिकेटमा अस्ट्रेलिया पाँच पटक च्याम्पियन बनेको छ । उसले सन् २०१०, २०१२, २०१४, २०१८ र २०२० मा उपाधि कब्जा गरेको हो । इंग्ल्याण्ड सन् २००९ र वेस्ट इन्डिज २०१६ मा च्याम्पियन बनेका थिए ।
प्रतिक्रिया