NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

टर्की र सिरिया भूकम्पको एक हप्तापछि दुई जनाको उद्धार

एजेन्सी । टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् ।

भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उद्धार कार्य जारी रहेको छ भने भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या अझै हजारौं रहेको हुनसक्ने अनुमान गरिएको छ ।

गत सोमबारको विनाशकारी भूकम्पपछि भत्किएका भवनको भग्नावशेषमा करिब सात दिनसम्म फसेका एक बालक र ६२ वर्षीया महिलालाई चमत्कारिक रूपमा उद्धार गरिएको हो ।

सात वर्षीय मुस्तफालाई दक्षिणपूर्वी टर्कीको हताय प्रान्तबाट उद्धार गरिएको छ भने नाफिज यिल्माजलाई नुर्डागीबाट उद्धार गरिएको छ । दुवै जना १६३ घण्टासम्म भग्नावशेषमा फसेका थिए ।

टर्कीको विपद् व्यवस्थापन निकायका अनुसार टर्कीका ३२ हजारभन्दा बढी व्यक्ति खोजी तथा उद्धारकार्यमा जुटेका छन् भने आठ हजार २९४ जना अन्तर्राष्ट्रिय उद्धारकर्ताले पनि उद्धार गरिरहेका छन् ।

बेलायती खोजी टोलीका एक सदस्यले आइतबार ट्वीटरमार्फत् पोस्ट गरेको भिडियोमा एक उद्धारकर्ताले भग्नावशेषबाट बनेको सुरुङबाट तल झरेर हातायमा भग्नाबशेषमा रहेका टर्कीका एक व्यक्तिलाई उद्धार गरिएको देखिन्छ । खोज टोलीहरू समय वित्दै जाँदा हराइरहेका थप व्यक्तिहरूको उद्धारमा खटिरहेका छन् ।

विशेषज्ञहरूले भग्नावशेषमा जीवित व्यक्तिहरू फेला पार्ने आशा प्रत्येक दिन धुमिल बन्दै गएको बताएका छन् । उद्धार टोलीहरूले सेन्सर र उन्नत खोजी उपकरणहरूको अभावमा काम गरिरहेको र यसले उद्धारमा ढिलाई भएको बताएका छन् ।

उद्धारकर्ताहरूले सावधानीपूर्वक बेल्चा तथा अन्य हाते उपकरण भग्नावशेषलाई खन्न र अवरोध हटाउन बाध्य भएको बताएका छन् । उत्तरपश्चिम सिरियाको जाबलेहका नागरिक सुरक्षा प्रमुख अला मौबाराकले भने, ‘यदि हामीसँग आधुनिक उपकरण भएको भए हामी सयौंको ज्यान बचाउनसक्थ्यौं ।’