NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

नजिकिँदै पुरानै गठबन्धन दल

काठमाडौं । भावी राष्ट्रपतिको विषयमा सत्तागठबन्धनका दलहरूबीच मतभेद बढिरहेका वेला तत्कालीन पाँचदलीय गठबन्धनका शीर्ष नेता भने नजिकिँदै गइरहेका छन् । औपचारिक–अनौपचारिक रूपमा उनीहरू नियमितजसो छलफलमा छन् ।

आइतबार साँझ मात्रै सभापति शेरबहादुर देउवासहितका कांग्रेस शीर्ष नेताहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिमा सघाउन औपचारिक आग्रह गरेका छन् । त्यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले पनि प्रधानमन्त्री प्रचण्डसँग छुट्टै छलफल गरेका थिए ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्रीसँग छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्ण सिटौलासहित बालुवाटार पुगेका थिए । करिब दुई घन्टाको छलफल सकारात्मक रहेको नेताहरूको भनाइ छ । कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई सघाउन माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेको छ । प्रचण्डले आफ्नो पार्टी र सत्तागठबन्धनका दलहरूबीच छलफल गरेर मात्रै निर्णय दिने जवाफ दिएका छन् ।

‘हामीले प्रधानमन्त्रीसँग राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्नका लागि औपचारिक प्रस्ताव राखेका छौँ । प्रधानमन्त्री प्रचण्डले सरकारमा रहेका दल र आफ्नो पार्टीमा छलफल गरेर निर्णय दिने जवाफ दिनुभएको छ,’ छलफलमा सहभागी कांग्रेस उपसभापति खड्काले भने ।

स्रोतका अनुसार छलफलमा कांग्रेस नेताहरूले राष्ट्रपति राष्ट्रिय सहमति चयन गर्न प्रधानमन्त्री प्रचण्डको प्रस्ताव र पहल स्वागतयोग्य रहेको बताएका थिए । सकभर राष्ट्रिय सहमति जुटाउने नभए विगतमा संविधान रक्षाका लागि एक ठाउँ उभिएका शक्तिहरू पुनः एक भएर अघि बढ्नुपर्ने उनीहरूको प्रस्ताव थियो । विगतमा भएका असमझदारी बिर्सेर नयाँ शिराबाट अघि बढ्न सकिने कांग्रेस नेताहरूको भनाइ थियो ।

राष्ट्रपतिको विषयमा छलफल गर्न माओवादीले सोमबार पदाधिकारी बैठक बोलाएको छ । महासचिव देव गुरुङले दिउँसो ४ बजे बैठक बस्ने बताए । ‘राष्ट्रपति निर्वाचनसहित समसामयिक विषयमा बैठकमा छलफल हुनेछ,’ उनले भने ।

आगामी १३ फागुनमा राष्ट्रपतिको उम्मेदवारी दर्ताको कार्यतालिका छ । २५ फागुनमा निर्वाचन हुँदै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार निर्वाचन अधिकृतको कार्यालय राखिँदै छ । यसअघि नै निर्वाचन आयोगले पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मुख्य निर्वाचन अधिकृत तोकिसकेको छ । दुई मतदान केन्द्र राख्ने निर्णय आयोगले गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।