NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

ओलीले नेपाललाई अघि सारे के गर्ने ? कांग्रेस-माओवादी सशंकित

काठमाडौं । राष्ट्रपति निर्वाचन नजिकिँदा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँग औपचारिक छलफल अघि बढाएका छन् ।

आइतबार राति बालुवाटारमा भएको छलफलमा कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गर्न माओवादीसँग औपचारिक रूपमै प्रस्ताव राखेको छ । दाहालले ‘सावधानीपूर्वक’ समर्थन गरेका छन् ।

प्रधानमन्त्री दाहाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा बालुवाटार पुगेका थिए । उनीहरूबीच पुरानै गठबन्धन ब्युँताउने विषयमा प्रारम्भिक छलफल भएको नेताहरूले बताएका छन् ।

ओलीले एमालेबाटै उम्मेदवार अघि सारे प्रधानमन्त्री दाहालले पार्टीबाटै औपचारिक निर्णय गरेर कांग्रेस उम्मेदवारलाई सघाउने वचन दिएका छन् । तर, गठबन्धन जोगाउन ओली आफैंले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि सार्न सक्ने संकेत आफूले पाएको दाहालले कांग्रेस नेताहरूलाई सुनाएका छन् । ‘माओवादीले माधव नेपाललाई अघि सार्दैन तर ओलीले त्यस्तो गरिदिए भने के गर्ने भन्ने चासो प्रचण्डजीको छ,’ कांग्रेसका एक नेताले भने, ‘त्यस्तो अवस्थामा माओवादीले कांग्रेसलाई समर्थन गर्न नसक्ने र कांग्रेसले पनि माधवजीलाई समर्थन गर्नुपर्ने अवस्था आउला कि भन्ने एउटा शंका छ ।’

बालुवाटारमा जानुअघि देउवाले साँझ ६ बजे धुम्बाराहीस्थित आफ्नै निवासमा पौडेल र सिटौलासहितको पदाधिकारी बैठक राखेका थिए, जहाँ राष्ट्रपतिका उम्मेदवार तय गर्ने विषयमा छलफल भएको थियो । यो बैठकमा पनि एकीकृत समाजवादी अध्यक्ष नेपालको प्रसंग उठेको थियो । एक नेताका अनुसार दाहालले कांग्रेस नेताहरूलाई ओलीले नेपालको नाम लिन सक्ने संकेत फोनबाटै दिएका थिए ।

माओवादीले सोमबार पदाधिकारी बैठक बोलाएको छ, जहाँ ओली र कांग्रेससँग भएको छलफलको विषय राख्ने जानकारी दाहालले कांग्रेसलाई दिएका छन् । ‘सोमबारकै बैठकमा औपचारिक निर्णय त नहोला तर मनोनयन गर्ने दिनसम्म माओवादीको औपचारिक निर्णय आउँछ भन्ने विश्वास प्रधानमन्त्रीजीले दिलाउनुभएको छ,’ कांग्रेसका अर्का एक नेताले भने ।

अहिलेको योजनाअनुसार राष्ट्रपति निर्वाचनबाटै सहकार्य गर्ने विषयमा छलफल भएको वरिष्ठ नेता पौडेलले बताए । ‘राष्ट्रपतिमा हामीलाई सघाउनुस् भनेर प्रस्ताव राख्यौं, प्रधानमन्त्रीले सहयोग गर्न तयार छु तर पहिले पार्टी पदाधिकारीको बैठकमा कुरा राख्छु भन्नुभएको छ,’ उनले भने ।

दाहालले एमालेको उम्मेदवारलाई भने कुनै पनि हालतमा समर्थन नगर्ने विश्वास कांग्रेसका नेताहरूलाई दिलाएका छन् । माओवादीले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिनासाथ एमाले सत्ताबाट बाहिरिने आकलन प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरूको छ ।

ओलीले आफ्नै पार्टीबाट उम्मेदवार खडा गरेर माओवादीले कांग्रेसलाई समर्थन दिएको अवस्थामा १३ गतेपछि नै गठबन्धनबाट एमाले बाहिरिन सक्ने बुझाइ प्रधानमन्त्रीको छ । एमाले गठबन्धनबाट बाहिरिए प्रधानमन्त्री दाहालले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यस्तो बेला कांग्रेसले काँध थाप्ने मात्रै होइन, दाहाललाई कति वर्ष प्रधानमन्त्री दिने र कांग्रेसले कति वर्ष लिने भन्नेसम्मको सहमति गर्ने दुई दलको योजना छ । यस विषयमा माओवादीको पदाधिकारी बैठकपछि छलफल हुने भएको छ ।

कांग्रेस वरिष्ठ नेता पौडेलका अनुसार बालुवाटार बैठकमा राष्ट्रपतिका विषयमा नै बढी छलफल भएको थियो । ‘सरकारको नेतृत्वको विषयलाई लिएर प्रधानमन्त्री दाहालले कुनै सर्त राख्नुभएको छैन, हामीले पनि पुस १० को घटनालाई बिर्सेर अघि बढ्न चाहेको विश्वास दिलायौं,’ उनले भने ।

पौडेलसहितका केही नेताहरूको जोड तत्काल राष्ट्रपति उम्मेदवार तय गर्नुपर्नेमा छ, खड्का र सिटौलालगायतका नेताहरू भने ओलीको रणनीति प्रस्ट भएपछि राष्ट्रपतिका सम्बन्धमा निर्णय लिनुपर्ने पक्षमा छन् । प्रधानमन्त्री दाहालले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार टुंगो लगाए अघि बढ्न सहज हुने बताएका छन् ।

राष्ट्रपति निर्वाचनमा माओवादीको मतभार निर्णायक हुने भएकाले कांग्रेसले माओवादीको संस्थागत धारणा बनेपछि मात्रै उम्मेदवार तय गर्ने भएको छ । राष्ट्रपतिको उम्मेदवारका लागि स्वयं सभापति देउवाको समेत चर्चा हुने गरेको छ । आफू राष्ट्रपति नहुने बताए पनि पार्टीभित्रकै एउटा समूह र प्रधानमन्त्रीले समेत देउवालाई अघि सार्दा बढी सहज हुने धारणा राख्दै आएका छन् । तर, देउवाले आफू नभएर पौडेलको नाम लिने गरेका छन् । सिटौलाले पनि प्रधानमन्त्री दाहालसँगको सम्बन्धका आधारमा आफूलाई अघि सार्दै आएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।