NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

ट्रान्स फ्याट नियन्त्रण गर्न ‘रिप्लेस’ रणनीति, के-के कार्य पर्छन् ?

काठमाडाैं । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ट्रान्स फ्याट (अति खराब चिल्लो-अखची) को सबैभन्दा धेरै प्रयोग गर्ने १० देशमध्ये नेपाल पनि पर्छ । ट्रान्स फ्याट धेरै भएको खानाबाट मोटोपन, कोलोस्ट्रोल बढ्ने, उच्च रक्तचाप, मधुमेहजस्ता समस्या देखिन्छन् ।

जुन समस्याले हृदयघात, क्यान्सर, मस्तिष्कघातजस्ता नसर्ने रोग निम्त्याउँछ । नेपालमा नसर्ने रोगबाट मर्नेको संख्या पछिल्लो समय ह्वातै बढ्न थालेको छ । सन् २०१० को तथ्यांकअनुसार नेपालमा नसर्ने रोगबाट मर्नेहरूको संख्या ५१ प्रतिशत थियो भने सन् २०१६ मा यो बढेर ६६ प्रतिशत पुगेको छ । तथ्यांकअनुसार ३० प्रतिशत मुटु रोगबाट, ९ प्रतिशत क्यान्सरबाट, ३ प्रतिशत मधुमेहबाट, १० प्रतिशत दम खोकीबाट र १३ प्रतिशत अन्य रोगबाट मरेका छन् ।

नेपालमा खानामा ट्रान्स फ्याट नियन्त्रण गर्ने नीति, कार्यक्रम र कानुन बनाउन नेपाल हार्ट फाउण्डेसनले विगत २ वर्षदेखि विभिन्न कार्यक्रममार्फत सम्बन्धित निकायलाई सचेत गराउने कार्य गर्दै आएको छ ।

सरकारले ट्रान्स फ्याटलाई नियन्त्रण गर्नको लागि विश्व स्वास्थ्य संगठनद्वारा प्रतिपादित रिप्लेस (REPLACE) रणनीति अंगीकार गर्ने नीति अघि सारेको छ । यी प्रावधानहमार्फत नेपालमा ट्रान्स फ्याट नियन्त्रणतर्फ कदम चाल्ने कार्यको ढोका खुल्ने विश्वास नेपाल हृदयरोग विवरण प्रतिष्ठानले विश्वास लिएको जनाएको छ ।

रिप्लेस रणनीतीअन्तर्गत पर्ने यी ६ कार्य :

१.RE (Review) औद्योगिक ट्रान्स फ्याटको स्रोत र यसको नियन्त्रणबारे खोजनीधि, अध्ययन र अनुसन्धान गर्ने

२.P (Promote) खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटलाई स्वस्थकर चिल्लोले विस्थापित गर्ने कार्यलाई प्रोत्साहन गर्ने

३. L (Legislate) ट्रान्स फ्याट नियन्त्रणको लागि कानुनी प्रावधन बनाउने

४. A(Assess) खाद्य पदार्थमा निहित ट्रान्स फ्याट र यसको मानिसले गर्ने उपभोगबारे मूल्यांकन र निगरानी गर्ने

५.C (Create) ट्रान्स फ्याटबाट स्वास्थ्यलाई पर्ने हानी नोक्सानीबारे जनचेतना अभिवृद्धि गर्ने

६.E (Enforce) ट्रान्स फ्याट नियन्त्रणका नीति, कार्यक्रम र कानुनी प्रावधानको कार्यान्वयनमा जोड दिने