NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

चुरेकाछमा जंगली हात्तीको त्रास

महोत्तरी । महोत्तरी, धनुषा र सिन्धुलीको साँध चुरे पहाड वारिपारि जंगली हात्तीको त्रास बढेको छ ।

वारिका महोत्तरी जिल्लाको बर्दिबास, धनुषाको मिथिला र पारिका सिन्धुली जिल्लाका कमलामाई र दुधौली नगरपालिका क्षेत्रका चुरेकाछका बस्तीमा जंगली हात्तीको त्रास छाएको हो ।

शनिबार बिहान झिसमिसेमा सिन्धुलीतर्फको रानीबास बस्तीमा जंगली हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएपछि चुरेकाछका बस्तीमा त्रास छाएको छ । चुरेपारिको जोडिएकै बस्तीमा हात्तीको उपद्रो बढेपछि महोत्तरीका पर्साहीधाप, रजबास, कालापानी, धनुषाका तुलसी, विसम्भर, बाहुनमारा र लोहटासहितका बस्तीमा सर्वसाधारण कामविशेषले हिँडडुल गर्न पनि छाडेका छन् ।

‘ऊ त्यहीँ पारि मान्छे मा-यो, कसरी सुत्न सकिन्छ ? ’ बर्दिबास–३ रजबासका सामाजिक कार्यकर्ता रामबहादुर थापाले भने, ‘जंगली हात्तीको त्रासले मान्छे घरबाट निस्कन छाडेका छन् ।’ हात्तीको आक्रमणमा मान्छे मरेपछि हिजो शनिबार दिनभरि बर्दिबास–कटारी रुटमा कुनै सवारी साधन चलेनन् ।

बर्सेनि चुरेकाछका बस्तीमा जंगली हात्तीको उपद्रव हुँदै आएको छ । खेतबारीको बालीनाली माडेर नोक्सान गर्ने, पराल राखेका माच लडाउने, केराका थाम उखेल्ने र काठेघर लडाउनेसम्मका हात्तीको उपद्रव खेप्दै आइएको काछवासी बताउँछन् । कहिले एउटै र धेरैजसो तीनवटाको संख्यामा पछिल्लो एक दशकयता बर्सेनिजसो जंगली हात्तीको उपद्रो चुरे क्षेत्रमा हुँदै आएको छ ।

यसपालि पछिल्लो तीन–चार दिनयता एउटै हात्ती बस्ती पस्ने गरेको सर्वसाधारणले बताएका छन् । दिउँसभरि घना जंगलभित्र लुक्ने हात्ती मध्यरातपछि बस्ती पस्ने गरेको पाइएको छ । शनिबार पनि बिहान कुखुरा बास्ने बेलातिर हात्तीले रानीबासमा मान्छे मारेको हो ।

सर्वसाधारण त्रासमा भएका बेला डिभिजन वन कार्यालय सिन्धुलीले अहिले बस्ती पस्ने गरेको हात्तीलाई शनिबार लट्टिने औषधि प्रयोग गरिएको जनाएको छ । बस्ती पसेको हात्तीले मिथिला नगरपालिकाको ढल्केवर माथिल्लो बस्तीमा तीन जनालाई पछारेर मारेको थियो ।