NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

राजधानीमा कहाँ कहाँबाट पाउँदैछन् ७७ जिल्लाका नागरिकले राष्ट्रिय परिचयपत्र ?

काठमाडौं । देशभरका नागरिकलाई सरकारले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न उपत्यका भित्र केही स्थानहरु तोकेकाे छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार काठमाडौं र ललितपुरमा गरी विभिन्न पाँच स्थानमा परिचयपत्र विवरण दर्ता गर्ने स्थानबारे सुचना जारी गर्दै जानकारी दिएको हो ।

हाल देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, ४२ वटा इलाका प्रशासन कार्यालय, नारायणहिटी दरबार तथा विवरण दर्ता अभियान सञ्चालन भइरहेका स्थानहरूबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सकिन्छ । यसबाहेक उपत्यका बाहिरका सेवाग्राहीहरूलाई सरकारले उपत्यका भित्र केही स्थान तोकेकाे छ ।

सरकारले तोकेको दर्ता स्थानमध्ये जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषा जिल्लाका सेवाग्राहीहरूले विवरण दर्ता गर्न सक्नेछन्। त्यस्तै, जिल्ला प्रशासन कार्यालय, ललितपुरमा कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका सबै तथा मधेश प्रदेशका सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्नेछन्।

यसैगरी, नारायणहिटी दरबार परिसरमा स्थापित विवरण दर्ता स्थानमा प्रदेश नं. १, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला र मधेश प्रदेशको सिराहा, महोत्तरी, बारा र रौतहट जिल्लाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्नेछन्।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको दर्ता स्थानबाट भने नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्व कर्मचारी तथा विशिष्ट पदाधिकारीहरू सेवा लिन सक्नेछन् भने प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा स्थापित विवरण दर्ता स्टेसनबाट पनि राष्ट्रसेवक कर्मचारीका परिवारका सदस्यले परिचयपत्र दर्ता सेवा लिन सक्ने छन् ।

हेराैं सूचना :