प्रधानमन्त्री प्रचण्डलाई १० दलको समर्थन, कसको कति मत ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिना ९ दिनमा दोस्रो पटक सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् ।
१० पुसमा एमाले, माओवादीसहित ८ दलका १७९ जाना सांसदहरूको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका उनले २६ पुसमा विश्वासको मत लिएका थिए । तर राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेपछि एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो ।
सरकार बनेको तीन महिना पनि नपुग्दै प्रधानमन्त्रीले विश्वासको मत गुमाएकाले संविधानको धारा १०० बमोजिम प्रचण्डले पुनः कायम गर्न लागेका हुन् । यसअघि प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा एस र लोसपाले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए ।
कांग्रेसको त्यही विश्वासको मतमा एमालेको अविश्वास बढ्दै जाँदा प्रचण्ड सरकार धरापमा परेको हो । यद्यपि कांग्रेसको टेकोमा उभिएको प्रचण्ड सरकारलाई माओवादीसहित १० दलले समर्थन कायमै राखेकाले तत्काल ढल्नबाट जोगिएको छ ।
यी हुन् प्रचण्डलाई समर्थन गर्ने दलहरू
सरकार बनेको तीन महिना नपुग्दै सत्ता संकटको जोखिममा फसेका प्रचण्ड कांग्रेस, रास्वपासहितका १० दलको समर्थन कायमै रहेकाले तत्काल उनलाई राहत मिलेको छ । यसअघि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको संसदको सबैभन्दा ठूलो दल कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ ।
आइतबार बसेको कांग्रेस कार्यसम्पादन बैठकले प्रधानमन्त्रीलाई विश्वासमा मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो । निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरेका देउवा ओली–प्रचण्डबीचको बालकोट सहमतिपछि प्रतिपक्षमा पुगेका थिए । तर एमालेसँगको पूर्वसहमतिबाट भाग्दै राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा उनै प्रचण्ड कांग्रेससँग मिल्न आइपुगे ।
१२ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित ८ दलको बैठकले वर्तमान सरकारलाई निरन्तरता दिने सहमति गरे । सोही सहमतिलाई कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जपा, लोसपा, नाउपा र राजमोले निरन्तरता दिएका हुन् । बालुवाटार सहमितलाई रास्वपा र प्रभु साहको आम जनता पार्टीलेसमेत समर्थन गरेको छ । सत्ता समीकरणमा आकस्मिक फेरबदल नआएको खण्डमा प्रतिनिधिसभामा प्रचण्ड स्पष्ट बहुमतमा छन् ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुन दलको कति छन् मत ?
२६ पुसमा प्रतिपक्षी दलको समेत गरी झण्डै सतप्रतिशत विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले योपटक एमाले, राप्रपासहितको मत गुमाउने भएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ जना सांसद रहेका छन् ।
भ्रष्ट्राचार मुद्दामा पदमुक्त भएका मनाङका सांसद टेकबहादुर गुरुङ, नागरिकता प्रकरणमा पदमुक्त भएका चितवन–२ का सांसद रवि लामिछानेले विश्वासको मत दिन पाउने छैनन् ।
त्यस्तै तनहुँ–१ बाट निर्वाचित भएका रामचन्द्र पौडेल र बारा–२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः पदमुक्त भएकाले मत दिन पाउने छैनन् । यसैगरी हत्या आरोपमा फरार रहेका महोत्तरी–१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरी पनि विश्वासको मत दिन पाउने छैनन् ।
यी बाहेक प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदहरूमा कांग्रेसको ८७, माओवादी केन्द्रको ३२, रास्वपाको १९ र जसपाको १२ सांसद छन् । यसैगरी नेकपा एसको १०, जपाको ६, लोसपाको ४, नाउपाको ४, राजमो र आजपाको एक÷एक गरी सरकारको पक्षमा १७६ सिट रहेको छ । विपक्षमा एमालेको ७९, राप्रपाको १४ र नेमकिपाको एक गरी जम्मा ९४ सिट छ ।
ताजा अपडेट
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
-
प्रतिनिधिसभा बैठक : तिलगाउँका बासिन्दाको उद्धार गर्न माग
-
अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क
प्रतिक्रिया