NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बालेनको महानगरले मानेन सरकारी नियम

गुडाइँदै ३० वर्ष पुराना गाडी

काठमाडौं । २० वर्षभन्दा पुराना सवारीसाधन दुई वर्षभित्र हटाउने निर्णय सात वर्षअघि नै भए पनि सरकारी निकायहरूले नै कार्यान्वयन गरेका छैनन्

सरकारले २० वर्ष पुराना सवारीसाधनलाई निस्तेज गर्ने निर्णय सात वर्षअघि नै गरेको थियो । तर, सरकारी निकायहरूले नै यो निर्णय पालना गरिरहेका छैनन् । अझ देशकै राजधानीसमेत रहेको काठमाडौं महानगरले त ३० वर्षभन्दा पुराना गाडी गुडाइरहेको छ ।

राम्रोसँग ब्रेक नलाग्ने, धुवाँ बढी फ्याँक्ने र इन्धन बढी खपत गर्ने भए पनि महानगरले यस्ता सवारीसाधन निर्बाध रूपमा प्रयोग गर्दै आइरहेको छ । महानगरसँग यस्ता गाडी १६ वटा छन् । देख्दा खिया लागेका र गुडाउनसमेत जोखिम हुने भए पनि महानगरले प्रयोग गरिरहेको छ । महानगरले सञ्चालन गरिरहेकामा ३० वर्षभन्दा पुराना तीनवटा जिप छन । यस्तै, २० वर्ष पुराना १० वटा टाटा मोबाइल, चारवटा भ्यान, एउटा जिप, एउटा ल्यान्डक्रुजर गाडी सञ्चालनमा छन् । यी सवारीसाधन महानगरको वातावरण विभाग, नगर प्रहरी, बजार अनुगमन टोलीलगायतले प्रयोग गर्दै आइरहेका छन् ।

महानगरसँग गुड्ने अवस्थामा नरहेका पुराना गाडी पनि धेरै नै छन् । करिब ७० वटा यस्तो अवस्थाका गाडी रहेको महानगरको भनाइ छ । ती गाडी महानगरको कार्यालय बागदरबार र टेकुमा थन्किएका छन् । त्यसमध्ये ५० वटा गाडी लिलाम गर्न लिलाम समितिले प्रक्रिया अघि बढाएको छ । नयाँ गाडी नहुँदा पुराना थोत्रा गाडी गुडाउन बाध्य हुनुपरेको महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल प्रयोग भइरहेका अधिकांश गाडी पनि पुराना भइसकेका छन् ।

महानगरका सीमित कर्मचारी र जनप्रतिनिधिले चढ्नेबाहेकका अन्य गाडी थोत्रा भएका हुन् । ‘सबैतिर परिचालन गर्नका लागि हामीकहाँ गाडीको संख्या कम छ, त्यसकारण धुवाँ धेरै फाल्ने र ब्रेक नलाग्ने अवस्था भइसक्दा पनि सवारीसाधन गुडाउनुपरेको छ,’ उनले भने, ‘यसलाई बिस्तारै हटाउँदै जान आवश्यक छ ।’ उनले पुराना गाडी बजार अनुगमन र न्यायिक समितिको काममा समेत प्रयोग भएको जानकारी दिए ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।