कृषि विकास बैंकबाट के-के गर्न पाउँछन् किसानले ऋण ?

काठमाडौं । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संस्थागत कर्जा उपलब्ध गराउने मुख्य उद्देश्यसहित स्थापना भएको कृषि विकास बैंकले समयसापेक्ष ग्राहकसामू विभिन्न सेवाहरु पस्किँदै आइरहेको छ ।
स्थापनाकालदेखि ग्रामीण किसानको ऋण संस्थाको रूपमा काम गर्दै आएको यो बैंकले कृषिसहित विभिन्न कर्पोरेट क्षेत्रमा कर्जा प्रदान गरिरहेको छ ।
बैंकले विशेषगरी कृषि तथा पशुपन्छीपालनसम्बद्ध व्यवसायहरू सञ्चालनमा आवश्यक पर्ने पुँजी व्यवस्थापन निम्ति सहजीकरण गर्दै आएको छ, कर्जामार्फत । बैंकले कृषि तथा पशुपन्छीपालनमा सहायता पुर्याउन हाल निम्नानुसारका कर्जा उपलब्ध गराउँदै आएको छ ।
कृषि र एमएसएमई कर्जा
कृषि कर्जा
कृषि विकास बैंकले कृषि कर्जाअन्र्तगत खाद्यान्न बाली जस्तै, धान, गहुँ, मकैलगायतको खेतीका लागि कर्जा प्रदान गर्दै आएको छ ।
त्यस्तै, मौसमी/बेमौसमी, टनेललगायत तरकारी खेती गर्न पनि कृषि विकास बैंकबाट ऋण लिन सकिन्छ । नगदेबालीअन्र्तगत चिया, उखु, अलैंची, कफी, फलफुल खेतीअन्र्तगत केरा, आँप, लिची, सुन्तला, किबी, ड्रागन फल, स्याउसँगै र बीउ उत्पादन निम्ति कर्जा प्रवाह भइरहेको बैंकले जनाएको छ ।
पशुपन्छी कर्जा
कृषि विकास बैंकले पशुपालन र पंक्षीपालनका लागि सहयोग पुर्याउने हेतुले पनि कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकका अनुसार, गाई, भैंसी, बाख्रा, बंगुर, खरायोसँगै कुखुरा, हाँस, टर्की, अस्ट्रिज, कालिजलगायत पशुपन्छी पालन गर्न नेपाली नागरिकले ऋण लिन सक्छन् ।
माछा तथा माछाजन्य कर्जा
कृषि विकास बैंकले माछा तथा माछाजन्य कर्जाअन्र्तगत माछा (कार्प, ट्राउट, पंगास, टिलापिया) पालनका लागि पनि कर्जा प्रदान गर्दै आएको छ ।
नर्सरी/ह्याचरी (विभिन्न जातका माछाका भुराहरू) उत्पादन गर्नका लागि बैंकले ऋण प्रदान गर्दछ ।
बैंकले पछिल्लो अपडेटिट ब्याजदरअनुसार २ प्रतिशत प्रिमियम आधारदरमा माछा तथा माछाजन्य वस्तु पालनका लागि कर्जा प्रदान गर्दै आएको छ ।
कृषि यान्त्रिकीकरण
बैंकले कषि यान्त्रिकीकरणलाई पनि प्राथमिकतामा राखेर ऋण प्रवाह गरिरहेको छ । यसअन्तर्गत ट्याक्टर, पावर लिटर, मिनी टिलरलगायत खरिदका लागि बैंकबाट ऋण लिन सकिन्छ ।
रोपाइँ गर्नको लागि पनि ऋण उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ । यसबाहेक बाली काट्न, चुट्न आवश्यक रिपर, थ्रेसरका लागि पनि बैंकले कर्जा प्रदान गर्छ ।
भण्डारणका लागि
किसानले बालीनाली भण्डारमा अनेक भुक्तमान खेपिरहेका हुन्छन् । तर लगानी अभावमा भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माण गर्नबाट कृषक वञ्चित भइरहेका हुन्छन् ।
यसैलाई मध्यनजर गरेर बैंकले भण्डारणका लागि पनि कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकका अनुसार, शीत भण्डार, शीत घर, चिस्यान केन्द्र र गोदाम भण्डार गृह निर्माणका लागि ऋण लिन सकिन्छ ।
प्रशोधनको लागि
बैंकले प्रशोधनअन्तगर्त राइस/फ्लोर मिल, तेल मिल, दूध तथा दुग्धजन्य उद्योग दाना उद्योगलगायतका लागि पनि कर्जा प्रदान गरिरहेको छ ।
सहवित्तीयकरण कर्जा
परियोजनाको प्रकृति तथा क्षमताको आधारमा एक वा एकभन्दा बढी बैंकहरूको सहभागितामा प्रदान गरिने कर्जा नै सहवित्तीयकरण कर्जा हो । यसअन्तर्गत बैंकले ग्राहकलाई ऋण प्रवाह गर्दै आएको छ ।
यसबाहेक बैंकले बजार तथा बजार व्यवस्थापन कर्जासमेत उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया