शेखर समूहको असन्तुष्टिपछि देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारलाई लिएर पार्टीभित्र असन्तुष्टि देखापरिरहेका बेला बैठक आह्वान गरिएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए ।
प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसको भागमा ८ मन्त्रालय परेको छ । तर शुक्रबार कांग्रेसका तर्फबाट चार जना मन्त्रीले मात्र शपथ लिए । मन्त्रिपरिषद् विस्तारमा सभापति देउवाले संस्थापनइतर शेखर कोइराला समूहसँग सरसल्लाहबेगर नाम पठाएपछि पार्टीका तर्फबाट चार मन्त्रीले मात्र शपथ लिएका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा सम्मानजनक स्थान पाउनुपर्ने अडान राख्दै आएको कोइराला समूह चार मन्त्री आफूहरूले पाउनुपर्ने अडानमा छ ।
बैठक आइतबार बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
प्रतिक्रिया