NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

आफ्नै निर्वाचन क्षेत्र छोड्न तयार गगनले वाग्लेलाई भने ‘टुरिस्ट’ उम्मेदवार

काठमाडौं । गत मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सचाव निर्वाचनको पूर्वसन्ध्यामा आफ्नै निर्वाचन क्षेत्र अर्थविद् डा स्वर्णीम वाग्लेलाई दिन तयार थिए कांग्रेस महामन्त्री गगन थापा ।

तर वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै अवस्था र परिस्थिती फेरिएको छ । आउँदो वैशाख १० मा हुने उप निर्वाचनमा तनहुँ १ बाट उम्मेदवारी दिएका वाग्ले र थापा अहिले सोही क्षेत्रमा प्रचारमा व्यस्त छन् । तर वाग्लेलाई लिएर थापाको भाषणले भने यतिबेला उनले गरेको पार्टी परिवर्तको कदमसँगै ‘यू टर्न’ मारेको छ ।

कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको समर्थनमा चुनावी कमण्डर बनेर तनहुँ पुगेका थापाले वाग्लेलाई ‘टुरिस्ट’ उम्मेदवारको रूपमा व्यंग्य कसेका छन् ।

‘घुम्दै घुम्दै आएका टुरिस्ट उम्मेदवारलाई तपाईंहरूले भन्नुपर्छ योपटक तनहुँको निर्वाचन क्षेत्र अरु ठाउँजस्तो होइन,’ उनले भने, ‘यहाँको नेपाली कांग्रेस चोकमा राखेको मादलजस्तो होइन । जसले आयो त्यसले बजाउँदै हिँड्ने होइन ।’

पार्टीभित्रको संघर्षमा आफूहरू पनि लागिरहेको बताउँदै उनले वाग्लेलाई इंकित गर्दै व्यंग्य कसेका छन् । ‘हामीले पनि कतिपय कुरा पाएका छैनौं । कति पुराना र नयाँ नेता हुनुहुन्छ,’ उनले भने, ‘तर पार्टीभित्रको संघर्ष पार्टीभित्रको हो । नेपाली कांग्रेसलाई पनि बदल्छौं र बदलिएको कांग्रेसले नेपाललाई पनि बदल्छ भन्ने हाम्रो संकल्प हो ।’

देउवा समूहको अपमान सहन नसकेको भन्दै वाग्लेले पार्टी त्याग गरेका हुन् ।