NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

आफ्ना दुई प्लान्टमा ताला लगाएर लाखौंको अक्सिजन खरिद गर्दै सिभिल अस्पताल

काठमाडौं । तीन करोडका दुई अक्सिजन प्लान्टमा ताला लगाएर सिभिल अस्पतालले निजी कम्पनीसँग मासिक १६ लाखसम्मको अक्सिजन किनिरहेको छ । एउटा प्लान्ट दुई वर्षदेखि र अर्को एक वर्षदेखि बन्द गरिएका छन्, जुन खिया लागेर बिग्रँदै छन् ।

०७५ चैत र ०७८ वैशाखमा खरिद गरेका प्लान्ट बन्द गरेर सिभिलले आवश्यकताअनुसार मासिक १० लाख ८० हजारदेखि १६ लाख २० हजारसम्मको अक्सिजन किन्ने गरेको छ । अस्पतालमा दैनिक ६० देखि ९० सिलिन्डर अक्सिजन खपत हुँदै आएको छ । ६ करोडमा खरिद गरिएको इन्टेरोस्कोपी मेसिन सात महिनादेखि र एक करोड ८० लाखका भेन्टिलेटर पनि अस्पतालले तीन वर्षदेखि स्टोरमै थन्क्याएर बेवारिसे बनाएको छ ।

सिभिलले ०७५ चैतमा दैनिक ६० सिलिन्डर उत्पादन क्षमता भएको प्लान्ट एक करोडमा खरिद गरेको थियो । तर, दुई वर्षदेखि उक्त प्लान्ट बन्द छ । त्यस्तै, दैनिक तीन सय ५० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको अर्को प्लान्ट सूर्य नेपाल कम्पनीले ०७८ वैशाखमा अनुदानमा हस्तान्तरण गरेको थियो । उक्त मेसिन एक वर्षदेखि बन्द गरिएको छ । अस्पतालको आर्थिक शाखाका अनुसार यो मेसिनको बजार मूल्य दुई करोड पर्छ । प्रयोगविहीन प्लान्टमा खिया लाग्न थालेको छ ।

‘अस्पताल व्यवस्थापन र प्रशासनले नयाँ अक्सिजन प्लान्ट बन्द गरेका छन्, आफैँसँग भएको मेसिन बन्द गरेर बाहिरबाट किनेर प्रयोग गर्नु लाजमर्दो कुरा हो,’ अस्पतालका एक चिकित्सकले भने, ‘यसमा प्रशासनको मिलेमतो हुन सक्छ ।’ उनले आफूहरूले अक्सिजन प्लान्ट सञ्चालनका लागि दबाब दिँदा पनि अस्पताल प्रशासनले सुनुवाइ नगरेको बताए ।

हाल अस्पताललाई चाहिने अक्सिजन कान्तिपुर अक्सिजन प्रालि र सीता अक्सिजन प्रालिसँग खरिद गर्दै आएको छ । यी कम्पनीले एक सिलिन्डर अक्सिजनको ६ सय रुपैयाँ लिन्छन् । हाल अस्पतालमा सामान्य अवस्थामा ६० सिलिन्डर र बिरामीको चाप बढेर बेड भरिभराउ हुँदा दैनिक ९० सिलिन्डरसम्म अक्सिजन खपत हुन्छ । प्रतिसिलिन्डर ६ सयका दरले ६० सिलिन्डरको ३६ हजार र ९० सिलिन्डरको ५४ हजार खर्च हुन्छ ।

कोभिडको समयमा सिभिलमा दैनिक तीन सय सिलिन्डरसम्म अक्सिजन खपत भएको थियो । त्यतिवेला अस्पतालको गल्ली र बाहिरसमेत बिरामी राखेर अक्सिजन दिने व्यवस्था मिलाइएको थियो । अस्पतालले नै अक्सिजन उत्पादन गरेकाले आवश्यकता सजिलै पूर्ति भएको थियो । आफ्ना महँगा उपकरण थन्क्याएर निजी कम्पनीसँग किन्दा यस्ता महामारीमा अक्सिजनको आवश्यकता थेग्न अस्पताललाई समस्या पर्न सक्छ ।

अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेल भने बिजुलीको बिल बढी उठेकाले प्लान्ट बन्द गरिएको दाबी गर्छन् । ‘अस्पताललाई आवश्यक पर्नेभन्दा ठूलो प्लान्ट भएकाले धेरै अक्सिजन उत्पादन हुने भयो । प्लान्ट सञ्चालन गर्दा बिजुलीको बिल पनि बढी उठ्यो,’ उनले भने, ‘हामीले हिसाब गरेर हेर्दा बिलुलीको बिल नै मासिक १० लाखजति आयो । त्योभन्दा निजीसँग अक्सिजन खरिद गर्दा फाइदा हुने देखिएपछि प्लान्ट बन्द गरेका हौँ ।’

तर, अस्पतालकै इन्जिनियरिङ तथा मेन्टेनेन्स विभागका अनुसार एक वर्षअघि तीन सय ५० सिलिन्डर क्षमताको प्लान्ट चलाउँदा मासिक ६ लाख र ६० सिलिन्डर क्षमताको प्लान्टको मासिक एक लाख गरी सात लाखको बिल उठेको थियो । तर, अस्पतालले भने मासिक बिजुलीमा सात लाख खर्चिनुको सट्टा निजी कम्पनीसँग १६ लाखसम्मको अक्सिजन किनेको छ भने करोडौँका प्लान्ट सडाएको छ । मेन्टेनेन्स विभाग प्रमुख अभिषेक प्रधान विद्युत् प्राधिकरणले अस्पतालहरूलाई बिजुलीमा २० प्रतिशत छुटसमेत दिँदै आएको बताउँछन् ।

आफूलाई आवश्यकभन्दा बढी अक्सिजन सिभिलले अन्य अस्पतालमा सप्लाई गर्न सक्थ्यो । आफ्नै अक्सिजन प्लान्ट नहुँदा कोभिड महामारीमा विभिन्न अस्पतालले अक्सिजनको व्यापक अभाव झेल्नुपरेको थियो । तर, महामारीको त्यो संकट बिर्सिएर सिभिल अस्पतालले अक्सिजनमा परनिर्भर बन्ने बाटो रोजेको छ । प्लान्ट व्यवस्थापनको सट्टा बन्द नै गरेर कबाडी बनाउने नीति अख्तियार गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।