NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

माधव नेपाललाई धक्का, तेस्रो वरीयताका नेताले छाडे साथ

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका न्यौपानेले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर एकीकृत समाजवादीबाट अलग भएको घोषणा गरेका हुन् ।

एकीकृत समाजवादीको भविष्य नदेखिएको र त्यहाँ रहनुभन्दा सम्मानित नागरिक भएर बस्नु उपयुक्त देखेर आफूले यस्तो निर्णय लिएको उनले बताए । एकीकृत समाजवादी कम्युनिस्ट आचरण त्यागेर दक्षिणपन्थी दलको सेवक बनेको आरोप पनि उनले लगाए ।

‘एकीकृत समाजवादी दक्षिणपन्थी दलको सेवक बनेको छ । अर्कातिर यसको भविष्य पनि छैन । त्यहाँ रहनुभन्दा सम्मानित नागरिक भएर बाँच्नु उपयुक्त लागेर यो निर्णय लिएको हुँ,’ उनले पार्टी परित्याग गर्नुको कारणबारे बोल्दै भने ।

न्यौपाने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र झलनाथ खनालपछिको वरीयताका नेता हुन् । केही समयदेखि एमालेसँग पार्टी एकताको पक्षमा खुलेका उनलाई समाजवादीले स्पष्टीकरणसमेत सोधेको थियो । त्यसको जवाफ नदिई शनिबार उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

यसले भर्खरै स्थापना भएको एकीकृत समाजवादीलाई गम्भीर धक्का पुग्ने ठानिएको छ । न्यौपाने स्वयंले पनि पत्रकार सम्मेलनमा नेकपा एसका दुई तिहाइ नेता तथा कार्यकर्ता एमाले फर्कंन लागेको दाबी गरे । सम्मानित स्थान पाए नेता झलनाथ खनाल स्वयं एमाले फर्र्कने उनको जिकिर छ ।

एकीकृत समाजवादी परित्याग गरेका न्यौपाने छिट्टै एमाले प्रवेश गर्ने तयारीमा छन् । स्वतन्त्र रहेर एकीकृत समाजवादीका नेता तथा कार्यकर्तालाई एमाले फर्काउन आफूले संयोजन गर्ने र  केही समयपछि पुरानो पार्टीमा फर्कंने उनले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष